site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिका, बेलायत र फ्रान्सले लेबनानमा रहेका आफ्ना नागरिकलाई फर्किन भने, के गर्दैछ नेपाल ? 

काठमाडौं । शक्ति राष्ट्र अमेरिका, बेलायत र फ्रान्सले आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छाड्न ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् । 

इरानमा हमासका नेता इस्माइल हनियाको हत्या भएपछि इजरायल र प्लालेस्टिन चरमपन्थी समूह हमासबीचको युद्ध क्षेत्रीय रुपमा विस्तार हुने आशंकासँगै ती देशले आफ्ना नागरिकलाई लेबनान छाड्न भनेका हुन् । 

लेबनानमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकलाई उपलब्ध कुनै पनि टिकट बुक गरेर लेबनानबाट बाहिरिनू भनेको छ । बेलायतले पनि आफ्ना नागरिकलाई तुरुन्त लेबनान छाड्नू भनेको छ । फ्रान्सको विदेश मन्त्रालयले पनि आफ् नागरिकलाई जतिसक्दो छिटो लेबनान छाड्न भनिसकेको छ । 

Argakhachi Cement Island Ad

गतसाता हमासका नेता हनियाको हत्या इरानमा भएको थियो । उनको हत्या कम दूरीमा हान्न सक्ने मिसाइलबाट भएको इरानले जनाएको छ । इरानले हनियाको हत्या इजरायलले अमेरिकाको समर्थनमा गरेको आरोप लगाएको छ । इरानले हनियाको हत्याको बदलामा इजरायललाई कठोर सजाय दिने चेतावनी दिएको छ ।

बदला लिने इरानको घोषणासँगै इजरायल र हमासबीचको युद्ध अब मध्यपूर्वभरी फैलिने आँकलन गरिएको छ । इजरायलसँग बदला लिन इरानले लेबनानको राजनीतिक तथा हतियाधारी लडाकु समूह हिजबुल्लालाई प्रयोग गर्ने अनुमान धेरैको छ । हिजबुल्लाहलाई इरानको साथ र समर्थन रहँदै आएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार शनिबार राति मात्र हिजबुल्लाहले ३० वटा सानो दूरीमा हान्ने मिसाइल इजरायलमा प्रहार गरेको थियो, जसमध्ये अधिकांशलाई इजरायलले आफ्नो भूमिमा खस्न नपाउँदै निस्क्रिय बनाएको थियो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार इजरायल र हिजबुल्लाहबीच जुनसुकै समयमा ठूलो युद्ध सुरु हुने सम्भावना छ । यसैकारण शक्ति राष्ट्रले आफ्ना नागरिकलाई लेबनान् छाड्नू भनेका हुन् ।

लेबनानलाई इजिप्टस्थित नेपाली दूतावासले हेर्ने गर्छ । इजिप्टका लागि नेपाली राजदूत सुशिलकुमार लम्सालका अनुसार, लेबनानमा ११ सय नेपाली रहेका छन् । लेबनानको होटल तथा रेष्टुरेन्ट, उद्योगमा नेपालीहरू कार्यरत छन् ।

“लेबनानमा रहेका दुई–तीन जना नेपालीले के गर्ने भनी हामीलाई फोन गर्नुभएको थियो । हामीले सावधानी अपनाउनू भनेका छौं,” राजदूत लम्सालले बाह्रखरीसँग भने, “त्यहाँ रहनुभएका नेपालीहरू आत्तिनु भएको छैन ।”

युद्ध भइहाले पनि लेबनानमा कार्यरत नेपालीहरू प्रभावित हुने क्षेत्रमा नरहेको उनले बताए । हिजबुल्लाहको प्रभाव लेबनानको दक्षिण भू–भागमा छ, जुन इजरायलसँग सीमा जोडिएको क्षेत्र हो । इजरायल र लेबनान सीमा क्षेत्रमा नेपाली कार्यरत नरहेको जानकारी उनले दिए ।
 
इजिप्टस्थित नेपाली दूतावासले यसअघि नै सतर्कता अपनाउन लेबनानमा रहेका नेपालीलाई आग्रह गरिसकेको छ । यही साउन १५ गते इजिप्टस्थित नेपाली दूतावास र लेबनानको बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासले सूचना जारी गर्दै नेपालीलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको थियो ।

“लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध छ,” कायरोस्थित नेपाली दूतावासबाट जारी सूचनामा उल्लेख छ ।

लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंकमार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

लेबनानको बिभिन्न क्षेत्रमा काम गर्ने ११ सय नेपालीबाहेक संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा खटिएका ८७५ जना नेपाली शान्ति सैनिक (नेपाली सेना) लेबनानमा छन् । उनीहरू इजरायल र लेबनानको सीमामा राष्ट्रसंघीय मिसनअन्तर्गत खटिएका छन् । शान्ति सैनिक समेत जोड्दा लेबनानमा करिब दुई हजार नेपाली छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्