आज नेपालको शैक्षिक उपलब्धि निकै आलोचित छ | कक्षा १० होस् वा १२ दुवैमा सबैभन्दा विद्यार्थी असफल हुने विषय अंग्रेजी भएको छ | शिक्षाका विषयमा केही लेख्नु वा भन्नुभन्दा पहिला तीनबटा प्रसंग उल्लेख गर्छ चाहन्छु |
१. मेरी भतिजीले यसपटक एसईई उत्तीर्ण गरिन् | उनी मेरो जन्मस्थल पर्वतको बिहादीबाट विज्ञान पढ्न काठमाडौं आएकी छन् | मैले स्थानीय सरकारी बालोद्धार उच्चमाध्यमिक विद्यालयमा भर्ना गरिदिएँ | विज्ञानका शिक्षकले भन्नुभयो - "विद्यालयमा विज्ञानको अंग्रेजी माध्यमबाट पढाइ हुन्छ" । त्यही दिनदेखि अंग्रेजीको डरले भतिजीको उत्साह घटेको छ | उनी विज्ञान पढ्न चाहन्छिन् तर अंग्रेजीको डरले तर्सेकी छिन् | नेपालीमा विज्ञानका पुस्तकसमेत छैनन् |
२. आफ्नै क्याम्पसमा विज्ञानका प्राध्यापक राजेन्द्र गौतम र खुला विश्वविद्यालयका एक जना पूर्वउपकुलपतिसँग प्रसंगवश यही कुरा चल्यो | स्वाभाविकरूपमा विज्ञानका प्राध्यापक द्वयलाई मैले सोधें - "के अंग्रेजी नजान्ने तर विज्ञान पढ्न इच्छुक भाईबहिनीका लागि अंग्रेजी माध्यमबाट विज्ञान पढ्नुको विकल्प छैन ? के नेपाली जान्नेमात्र वा अंग्रेजीमा रुचि नभएकाले नेपाली भाषामा विज्ञान पढ्दै हुँदैन | दुवैको लगभग एउटै जबाफ थियो - "सायद शिक्षानीति तर्जुमा गर्नेहरू नेपाली भाषामा पनि विज्ञान पढ्न/पढाउन सकिन्छ भन्ने चिन्तन नभएका र विदेशी आर्थिक सहयोगले अंग्रेजी जान्ने र बुझ्ने भएकाले होला शिक्षा नीति निर्माणको तहमा नेपालीको प्रवेशलाई कुण्ठित गरिन्छ |"
३. सन् २०१८ मा म र हाम्रो मनोविज्ञान विभागका डा. नारायणप्रसाद पौडेल १५ दिने नेदरल्यान्डको यात्रामा गएका थियोँ । त्यस क्रममा त्यहाँका ५ वटा सरकारी विद्यालयहरूको भ्रमण गर्ने, शिक्षाको माध्यम र तौरतरिका बुझ्ने तथा शिक्षामन्त्रीसहित शिक्षाविद्हरूसँग विचारविमर्श गर्ने मौका मिलेको थियो | नेदरल्यान्डको कुनै पनि सरकारी वा निजी विद्यालयहरूले कक्षा चारबाट मात्र विदेशी भाषा पढ्ने व्यवस्था रहेछ | विद्यार्थीका लागि कक्षाचारदेखि नै एउटा विदेशी भाषा र अर्को छिमेकीको भाषा पढ्नु अनिवार्य रहेछ | सामान्यतः विदेशी र छिमेकी भाषाको समापन कक्षा १२ को परीक्षा दिएपछि हुँदो रहेछ | हामीले "नेपाल सरकारले विद्यालयहरूमा नर्सरीदेखि नै अंग्रेजी भाषा सिकाउने नीतिमा कामगरिरहेको छ" भन्ने जानकरी दिँदा उनीहरूको अत्यन्त संक्षिप्त तिप्पणी थियो -"यो दुर्भाग्यपूर्ण हो |"
छिमेकको जर्मनीमा झन् कुनै पनि विद्यालयमा अंग्रेजी पढ्नु अनिवार्य रहेनछ | स्वेच्छिक विषयका रूपमा अंग्रेजी पढाउने गरिँदो रहेछ | विज्ञानसहित संपूर्ण विद्यालयका पाठ्य पुस्तक त्यहाँका मानक भाषा (डच) उपलब्ध रहेछन् | तर, अचम्मको कुरा के भने कक्षा ४ देखि कक्षा १२ सम्म एक पेपरमात्र अंग्रेजी पढ्ने विद्यार्थीहरूको अंग्रेजी "राम्रो" मानिदो रहेछ |
यी तीनप्रसंगको आआफ्नो पृष्टभूमि छ | नेपालमा २०२८ सालदेखि विद्यालयहरूमा भारतको नक्कल गर्दै अंग्रेजी लादिएको हो | मैले लादिएको शब्द पूर्णसमझमा प्रयोग गरेको छु | सरकारी विद्यालयका अधिकांश विद्यार्थी असफल हुनुमा यही "अंग्रेजी" प्रमुख कारक रहेको छ | नेपाली भाषा र मानसिकतासँग गोरू बेचेको नाता नभएको अंग्रेजीले नेपालका धेरै बालबालिकाको जिन्दगी बर्बाद गरेको छ | तर, यस विषयको उठान न नेपाल सरकारले गर्छ न शिक्षाविद्हरूले नै गर्छन्, न सार्वजनिक बहसमा यी कुराहरू आउँछन् | नेपालीहरूको लागि अंग्रेजी र अंग्रेजी मानसिकता बोकेकाहरू "दुर्भाग्यका चोइटा" भएका छन् | छिमेकी भारत, पाकिस्तान र युरोपका नेदरल्यान्ड, जर्मनीमा विज्ञानको भाषा राष्ट्रभाषा नै छ भने नेपालमा नेपाली भाषामा विज्ञानपाठन किन हुन सक्दैन ? मेरा भतिजीहरू अमेरिका, बेलायतका अंग्रेजी भाषी नागरिकका छोराछोरी होइनन् | राज्यले विज्ञानमा अंग्रेजी लादेर मेरा भतिजा/भतिजीहरूको आत्मसम्मान, पढ्ने चाहना र नेपाली भाषाको प्राकृतिक ज्ञानलाई नष्ट पार्ने अपराध गरेको छ | राज्य अपराधी हो | राज्यले विदेशी प्रतिमान बोकेका शिक्षाविद् र विदेशी संघसंस्थासँग मिलेर गरेको यो अपराधको दण्ड भने मेरा भतिजा/भतिजीहरूले भोग्नु परिरहेको छ |
मैले अंग्रेजी भाषाविरुद्ध लेखेका यी हरफहरू अंग्रेजी भाषाको विरोध होइन | अंग्रेजी भाषामा अभिरुचि भएकाले मज्जाले सिकुन् | आफ्ना बालबालिकालाई सिकाउन् | अंग्रेजी वैश्विकभाषा हो र यो जान्नु सबैका लागि हितकारी नै छ | प्रश्न के हो भने विश्वका विकसित राष्ट्रहरू जर्मनी, नेदरल्यान्ड, चीन, जापान आदिले आफ्नै मातृभाषामा विज्ञान,मेडिकल, इन्जिनियरिङसहित अन्य विषय पढाएर वैज्ञानिक उत्पादन गरिरहेको छ भने नेपालले अंग्रेजीमा विज्ञान लादेर वा अंग्रेजी लादेर कति विश्वस्तरीय वैज्ञानिक, लेखक वा विश्वलाई प्रभावित पार्न सक्ने राजनीतिक नेतृत्व उत्पादन गरेको छ ? विज्ञान, व्यवस्थापन, शिक्षाआदिको मूलभाषा अंग्रेजी हुनुपर्छ भन्ने मान्यता बोक्नेहरूले जवाफ दिनुपर्छ । यी पोषित शिक्षाविद् र सरकार भने जनतालाई जवाफ दिनुभन्दा शिक्षालाई हतियार बनाएर शिक्षाक्षेत्रमा घुसपैठ गरेका अमेरिकी, बेलायती निकायहरूलाई जवाफ दिनु बढी आवश्यक ठान्छन् | मनोविज्ञानका अनुसन्धानहरूले मातृभाषामा प्राप्त हुने ज्ञान र सिकाइ सबैभन्दा अब्बल हुने प्रमाणित गरेको १०० वर्ष भइसकेको छ |
विद्यालय शिक्षालाई गरिब र धनीको बनाएर विभाजन गर्ने नीति र कानुन बनाउने सरकार अपराधी हो | आजको मितिमा बोर्डिङ स्कुलहरूले अंग्रेजी माध्यमलाई महत्त्व दिएर पढाइरहेका छन् भने तिनलाई दोष दिन मिल्दैन | अंग्रेजी स्कुलहरूले कानुनले दिएको अधिकार प्रयोग गरेर शिक्षाको व्यापार गरिरहेका छन् | साच्चिकै भन्ने हो भने यी बोर्डिङहरूले नेपालको 'अंग्रेजी' नाक जोगाइदिएका छन् | सायद, सरकार प्रमुखहरूले शिक्षाका क्षेत्रमा अंग्रेजीलाई बलियो बनाउन अनुदान दिने विदेशी संस्थाहरूलाई बोर्डिङक उत्पादनहरू देखाउने गरेका छन् | सरकारलाई मेरा भतिजीहरूको नेपालीमा विज्ञान, मेडिकल, इन्जीनियरिङ पढ्ने चाहना र अंग्रेजी नजान्ने यथार्थ तथा अंग्रेजी पढ्ने अनिच्छाको कुनै पर्वाह छैन |
मेरा भतिजीहरू अंग्रेजीमा फेल हुन्छन् वा बल्लतल्ल पास भए पनि विज्ञान पढ्न पाउन्नन् | नेपाली (नेपालका सबै मातृभाषासहित) भाषीहरूसँग गोरू बेचेको नाता नभएको अंग्रेजी लाद्न गरेको लगानीको १० प्रतिशतमात्र नेपाली भाषामा विज्ञानसहित अन्य पाठ्यपुस्तक तयार पार्न गरेको भए नेपालले विश्वस्तरीय वैज्ञानिक, चिन्तक प्राप्त गर्ने थियो | चीन, नेदरल्यान्ड, जर्मनीका आआफ्नै मातृभाषामा उच्चशिक्षा प्राप्त गरेर वैश्विक स्थान प्राप्त गरेका नागरिकहरू पर्याप्त छन् | सरकारको अंग्रेजी मोहले नित्याएको सङ्कट कहिले रोकिन्छ थाहा छैन ?
आजको सत्य के हो भने अंग्रेजी पढ्नेहरू विदेश जान्छन्, नेपालका लागि काम लाग्दैनन् | नेपालमै बसेर नेपाल बनाउछु भन्ने सोच भएका भतिजा/भतिजीहरूलाई सरकारले नै विज्ञानजस्ता विषयहरू आफ्नै मातृभाषामा पढ्न पाउने अधिकारबाट बन्चित राखेको छ ।
मेरा भतिजीहरूले नेपाली भाषामा विज्ञानजस्ता विषय पढ्ने अधिकार पाउनुपर्छ । कसैले अंग्रेजी पढ्न चाहन्न भन्छ भने उसले आधुनिक विषयहरूबाहेक मातृभाषामा पढ्न पाउने व्यवस्था के बिग्रन्छ ? प्रसिद्ध अमेरिकी शिक्षाविद् जन डुवेलाई उद्धृत गरौँ - तपाईँ जति धेरै मातृभाषामा पोख्त हुनुहुन्छ, त्यति नै तपाईँको विनिर्माणशक्ति उच्चस्तरीय हुन्छ | धेरै भाषा जान्नु राम्रो हो तर लादिएको भाषामा कुनै पनि विनिर्माण असम्भव छ |