site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ३४ करोड, लाभांश क्षमता कति ?

काठमाडौं। अधिकांश वित्तीय सूचकमा सकारात्मक सुधार गर्दै सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले उक्त अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले समीक्षा अवधिमा ६१ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएर सोबाट शेयरधनीलाई ४.३४  प्रतिशत लाभांश वितरणको क्षमता बनाएको छ। यो आर्थिक वर्षको वितरणयोग्य नाफा ६१ करोड छ। यद्यपि श्रावण अन्त्यसम्म अझै असुली समय बाँकी छ। असल ऋणमा १.२% बाट १.१% सम्मको व्यवस्थापन खर्च समावेश गरिएको छैन। ऋण गुणस्तर सुधारका लागि ६ महिनाको समयावधि पनि समावेश गरिएको छैन। अघिल्लो आवमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा र ८४ करोड ७० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो।

बैंकले गत आर्थिक वर्षमा निक्षेप र कर्जा दुवैमा उल्लेख्य वृद्धि गर्न सफल भएको छ। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त अवधिमा बैंकले १ खर्ब ९१ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप संकलन ११.४७ प्रतिशत र कर्जा प्रवाह ९.७६ प्रतिशतले वृद्धि भएको हो।

गत आवमा बैंकले ५ अर्ब ६८ करोड खुद ब्याज आम्दानी गरेको छ भने निष्कृय कर्जा ४.०७ प्रतिशत कायम गरेको छ। साथै समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा र प्रति शेयर नेटवर्थ १ सय ९१ रुपैयाँ ८१ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकले आधार दर (बेसरेट) समेत एकल अंकमा ल्याउन सफल भएको छ। बैंकले अघिल्लो वर्षको तुलनामा बेसरेट २.२५ प्रतिशत बिन्दुले घटाएर ८.२६ प्रतिशत कायम गरेको हो।

कर्जा निक्षेप अनुपात (सिडि रेसियो) र तरलता अनुपात (एलडि रेसियो) ले बैंकको स्वस्थ वित्तीय अवस्था चित्रण गरेको छ। गत आवको असार मसान्तसम्म बैंकको सिडि रेसियो ८१.८६ प्रतिशत र एलडी रेसियो २८.०६ प्रतिशत कायम छ। राष्ट्र बैंकले सिडि रेसियो ९० प्रतिशत र एलडी रेसियो २० प्रतिशत कायम गरेर मात्रै कर्जा प्रवाह गर्न पाउने प्रावधान गरेको छ।

उक्त अवधिमा बैंकको पूँजी पर्याप्तता अनुपातमा समेत सुधार भई १३.०६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात १२.१२ प्रतिशत थियो।

गत वर्ष समग्र आर्थिक क्रियाकलापमा सुस्तताका बावजुद पनि बैंकले गत आर्थिक वर्षमा बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २, कर्णाली प्रदेशमा १, र सुदूरपश्चिम प्रदेशमा २ गरी ९ वटा थप शाखाहरू सञ्चालनमा ल्याएको छ। 
आफ्नो सबै प्रदेशको प्रदेश कार्यालयस्थित आफ्नै भवनमा लर्निग सेन्टरहरू एकसाथ सञ्चालनमा ल्याएको छ। कर्मचारीहरूलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरू सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरू सञ्चालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको हो। यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७१, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८, र सुदूरपश्चिममा ३४ गरी एकै पटक २६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्