site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चिनियाँ राजदूतको टिप्पणी सह्य छैन : सभापति यादव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता यात्रु र बसका बारेमा चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् । हराएका बस र यात्रु खोज्न भारतबाट आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदूतले गरेको टिप्पणी दुर्भाग्यपूर्ण रहेको उनले बताएका हुन् ।

नेपाल र चीनबीच कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने मात्र अधिकार राजदूतलाई हुने उनले उल्लेख गरे । नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने विषय सह्य नहुने उनले चेतावनी दिए ।

उनले यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने बताए । राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको उनको भनाइ छ ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति त्यस विषयमा गम्भीर भएको उल्लेख गरे । समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने उनले बताए । मन्त्रालयसँग जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि उनले बताए ।

राजदूत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । त्यसबारेमा संसद् बैठकमा पनि सांसदहरूले आवाज उठाइरहेका छन् । राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरूको छ ।

राजकिशोर यादवको भनाइ पढ्नोस्–
नेपालमा दुर्भाग्यपूर्ण दुर्घटना भयो । त्यो दुर्घटनामा जो बेपत्ता मान्छेहरू र सँगैसँगै दुईवटा बस हराइरहेको छ, त्यसलाई अहिले पनि नेपाल सरकारले खोज्ने कार्यमा व्यस्त रहेको छ । सँगै नेपालले आफ्ना मित्रराष्ट्र अरूसँग पनि सहयोग मागेको स्थिति छ । त्यसमा भारतबाट खोज्ने टोली आएको र त्योसँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदूतले त्यसरी टिप्पणी गरेको छ । त्यो दुर्भाग्यपूर्ण हो । यसलाई उहाँले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ वा चिनियाँ स्वार्थ छ, त्यसलाई नेपालमा कसरी लागु गराउन सकिन्छ भन्ने प्रमुख कार्य हो । तर, उहाँले नेपालको आन्तरिक मामिलामा र त्यसमा पनि अहिले सामाजिक सञ्जालमा टिप्पणी गरेको छ, त्यसमा सम्मानित सदनमा यो कुरा उठेको छ । यो त दुई देशको सम्बन्धका लागि पनि राम्रो होइन । एउटा राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको देखिन्छ । यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ । परराष्ट्र मन्त्रालयले यसबारेमा के गर्दै छ, आगामी बैठकमा हामीले त्योसम्बन्धी परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने नै छौँ । तथापि, अहिले एउटा जनप्रतिनिधिको नाताले र समितिको नेतृत्वकर्ताको नाताले पनि नेपालको आन्तरिक मामिलामा हाम्रा मित्रराष्ट्रका राजदूतहरूले यसरी टीकाटिप्पणी गर्नु राम्रो होइन, गर्नु हुँदैन । यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा बुझेका छौँ । यसले दुई देशको सम्बन्धलाई राम्रो गर्दैन भनेर हेक्का राख्दा नै राम्रो हुन्छ । हामीले कुनै पनि देशको राजदूतलाई हाम्रो आन्तरिक मामिलामा टीकाटिप्पणी गर्ने, निर्देशन दिने कुरा सह्य हुँदैन । यो भयो भने अरू देशका राजदूतले यसो गर्, उसो गर् भनिरहन्छ । त्यसैले हामीले परराष्ट्र मन्त्रालयलाई के कारणले यस्ता टीकाटिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न मन्त्रालयले के पहल गरेको छ, त्यो जानकारी लिइसकेपछि मन्त्रालयलाई दिने निर्देशन र प्रभावकारी कदमका लागि काम हुनेछ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro