site stats
बाह्रखरी :: Baahrakhari
देश
बासी खानेकुरा बिक्री गरेपछि...

मलेखु । होटेलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटेललाई दुई लाख जरिबाना गराइएको छ । 

खाजा तथा खाना खान होटेल पुगेका ग्राहकले खाना बासी, गनाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटेल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ  ।  

बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गनाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिबाना गरिएको  जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।  

Argakhachi Cement Island Ad

“उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिबाना गरिएको छ । जरिबाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सकिनेछ”, उनले भने । 

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एक उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटेलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए  । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटेलमा पुगेको थियो । 

“फ्रिजमा राखेको खानेकुरा समेत गनाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटेल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ”, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकार समेत गरेकाले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिबाना तोकिएको हो ।”

पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी सञ्चालन भइरहेको होटेलमा धादिङ, काठमाडौं चल्ने यात्रुवाहक सवारीले यात्रुलाई खाजाखाना खुवाउँदै आएको छ ।

समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटेलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई गिरफ्तार गरेको थियो । 

एक साताभित्र तोकिएको जरिबाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्यसचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतम बताए । तोकिएको समयमा जरिबाना दाखिला नगरे कारोबार रोक्का गर्नसक्ने पनि उनले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्