site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीका मन्त्री दीपक मनाङेलाई कारबाही गर्न पत्रकारहरूको माग

पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न पोखराका पत्रकारहरूले माग गरेका छन् । सोमबार संसदीय पत्रकार मञ्च गण्डकीको अगुवाइमा पत्रकारहरूले कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण गराउँदै मनाङेमाथि कारबाहीको माग गरेका हुन् ।

मन्त्री मनाङेले बेलाबेलामा पत्रकारहरूमाथि अराजक अभिव्यक्ति दिँदै आएका छन् । प्रदेशसभाको बैठकमै मन्त्रीको हैसियतमा जवाफ दिने क्रममा उनले पत्रकारहरूलाई 'घरज्वाइँ'को उपमा दिएका थिए ।

“पत्रकारले सरकार बनाउन सक्छ ? त्यो उहाँहरूले बुझ्नुपर्छ । पत्रकारलाई सम्बोधन गरेन भन्छ । यो भन्दा के गर्ने हो ? हाम्रैबारेमा जे पायो त्यही लेखिरहेको हुन्छ । फेरि हामीले उनीहरूलाई ख्वाइरहेको हुन्छौँ । यत्तिको इज्जत त ज्वाइँलाई पनि गरेको थिएनौँ । घरज्वाइँ भन्दा पनि राम्रो गरेको छौँ । यो भन्दा के गर्ने हो ?,” बजेटमाथिको छलफलमा मनाङेले दिएको अभिव्यक्ति हो, यो ।

सदनमा नै उठेको यो विषयलाई कसैले ध्यान भने दिएनन् । हालैमा उनले पत्रकारको नामै तोकेर कुटिनुपर्ने अभिव्यक्ति दिएका छन् । मनाङेले सम्हालेको मन्त्रालयअन्तर्गत यातायात क्षेत्र पनि पर्दछ । आइतबार गण्डकीका यातायात व्यवसायीहरूले राइड सेयरिङ एपसम्बन्धी कार्यविधि ल्याउन नहुने भन्दै सार्वजनिक सवारी ठप्प पारे । त्यसक्रममा रिपोर्टिङमा गएका दुईजना पत्रकारमाथि कुटपिट पनि भयो । उक्त प्रकरणमा कास्की प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने थप केहीलाई खोज्दै छ ।

Deepak-Manange-1722256115.jpg
 

तर, मनाङेले ट्याक्सी चालकबाट अमृत सुवेदी कुटिनुपर्ने भन्ने अभिव्यक्ति दिएका थिए । यसको कारण चाहिँ सेतो गन्जीमा भाइरल मनाङेको तस्बिरसँग सम्बन्धित छ । पत्रकार सुवेदीले उक्त तस्बिर सामाजिक सञ्जालमा सेयर गरेसँगै भाइरल भएको थियो । सोही प्रकरणलाई लिएर मनाङेले पत्रकार कुटिनुपर्ने अभिव्यक्ति दिएका हुन् ।

उनी कहिले स्वकीय सचिवलाई कार्यवाहकको जिम्मा दिने त कहिले कर्मचारी कुटपिट गर्नेसहितका कारण विवादित बन्दै आएका छन् । अघिल्लो कार्यकालमा तत्कालीन कास्कीका एन्फा अध्यक्षमाथिको हातपात प्रकरणमा उनी कास्की प्रहरीको हिरासतमा पुगेका थिए । पटकपटक मन्त्री बने पनि उनको कार्यशैली झनै अराजक बन्दै गएको छ ।

पछिल्लो समय त कार्यकक्षमै मदिरा सेवनसमेत गर्ने गरेको मन्त्रालय स्रोत जनाउँछ । तर, डरका कारण उनीविरुद्ध कोही बोल्न नसक्ने अवस्था छ ।

मनाङेको यही गुन्डागर्दी शैली र पत्रकारमाथि गरेको टिप्पणीलाई लिएर सोमबार गण्डकी सरकारको धारणा माग गर्दै उनलाई कारबाहीको माग गरिएको हो ।

गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिताले पनि ‘आफ्नो मन्त्रालयमा जाँदा वा औपचारिक कार्यक्रममा उपस्थित हुँदा भड्किलोरूपले प्रस्तुत हुने वा मद्यपान गर्नु हुँदैन’ भनेको छ ।

कार्यवाहक मुख्यमन्त्री थापालाई पत्र बुझाउँदै संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले मनाङेले दिएको अभिव्यक्ति स्वतन्त्र प्रेसमाथिको नाङ्गो हस्तक्षेप रहेको बताए ।

“संघीय शासन व्यवस्थाको सुदृढीकरणका लागि पत्रकारिता क्षेत्रबाट हुँदै आएको अभ्यासलाई गण्डकी प्रदेश सरकारले पटक्कै बिर्सन हुँदैन । अतः माननीय मन्त्रीले पत्रकारको नामै किटेर दिएको अभिव्यक्तिप्रति गण्डकी प्रदेश सरकारको धारणा सार्वजनिक गर्न संसदीय पत्रकार मञ्च ध्यानाकर्षण गराउँछ । साथै नैतिक आचारणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री राजीव गुरुङलाई कारबाही गर्न गण्डकी प्रदेश सरकारसमक्ष माग गर्दछौँ,” ध्यानाकर्षण पत्रमा भनिएको छ । 

FG-1722256115.png
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro