site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरामा सार्वजनिक यातायात बन्द
फाइल तस्बिर ।

कास्की । मुलुकको पर्यटकीय राजधानी पोखरामा आइतबार बिहानदेखि सार्वजनिक यातायात ठप्प पारिएको छ । बस, ट्याक्सी, जीपसहित यात्रुवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले सार्वजनिक यातायात ठप्प गराएका हुन् । सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारीसाधन भने निर्बाध सञ्चालन भइरहेका छन् । 

उक्त महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सातबुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिए ।

“हामीले ४८ घण्टाको समय दिएर हाम्रा मागहरू सरकारसमक्ष राखेका थियौँ, सरकारले कुनै पनि चासो नदिएपछि आजदेखि प्रदेशभर सार्वजनिक यातायात घर तथा ग्यारेजमा थन्क्याएर बसेका छौँ,” उनले भने ।

प्रदेश सरकारले निजी सवारीसाधन (रातो प्लेट)मा यात्रु बोक्न दिने गरी राइड सेयरिङलाई वैधानिकता दिन लागेको व्यवसायीको आरोप छ । यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले रातो नम्बरप्लेटका दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई यात्रु बोक्न दिने गरी कार्यविधि बनाएको छ ।

यातायात व्यवसायीसँग परामर्श नगरी एकलौटी रूपमा निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न वैधानिकता दिन लागिएकामा महासंघको आपत्ति रहेको अध्यक्ष पौडेलले बताए ।

यातायात व्यवसायीले यातायात प्राविधिकीकरण गठन गरी सञ्चालनको कार्यविधि, यातायात, मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकूल समायोजन, सडक सुरक्षा योजना लागु गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् । रासस

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro