site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सडकमा फेरि पलेटी कसेर बस्न सक्छौँ, ‘दुष्प्रयास’ सफल हुन दिँदैनौँ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् । संविधान संशोधन गरेर कांग्रेस–एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताएका हुन् ।

शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरूले संविधान संशोधन गर्न चाहेको स्पष्ट पारे । तर, जनताको अधिकार कटौती गर्ने आशयका साथ कांग्रेस–एमाले आए फेरि सडकमा पलेटी कसेर जनदबाब सिर्जना गर्न बाध्य हुने उनले चेतावनी दिए ।

Dabur Nepal
NIC Asia

दुई ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको जनताले प्राप्त गरेका अधिकारलाई खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको उनले जिकिर गरे । उनले त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने बताए ।

अध्यक्ष प्रचण्डले ठूला दुई दलले ‘थ्रेसहोल्ड’ बढाएर साना पार्टीलाई निस्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाए । सबै कम्युनिस्टलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाइने उनको भनाइ थियो ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
अहिले पनि के स्पष्ट छ भने संसद्को पहिलो र दोस्रो पार्टी मिल्ने कुरा सामान्य त त्यो स्वाभाविक मानिँदैन । कथित संसदीय लोकतन्त्रमा त झन् मानिँदैन । तर, अहिले त्यो अभ्यास गर्न खोजिँदै छ । दुईदलीय सिस्टममा लैजाने उद्देश्यका साथ सो काम हुँदै छ, संविधान संशोधनको उद्देश्यका साथ । यहाँ केही साथीहरूले भन्नुभयो– यहाँ तीनवटा धारको कुरा । त्यस्तो छैन । संविधान संशोधन गर्नै हुँदैन भनेर कसैले पनि भनेको छैन । अझ हामी त संविधान संशोधन गर्नुपर्छ भन्नेमा छौँ । किनकि, संविधानसभामा महिलाको अधिकार अथवा अरू उत्पीडित समुदाय, वर्गको अधिकार अझै पुगेको छैन । यहाँ त्यो अधिकारलाई अझ बढोत्तरी गर्नुपर्छ भनेर रिजर्भेसन राख्ने, भिन्न मत राख्ने, नेट अफ डिसेन्ट राख्ने पार्टी हुनुको नाताले हामी संविधान संशोधनको पक्षमा छौँ । तर, हाम्रो विरोध संविधान संशोधनको नाममा प्रतिगमनतिर नेपाली जनतालाई निकै ठूलो त्याग र बलिदान गरेर प्राप्त गरेको अधिकार खोस्ने जो दुस्साहस हुँदै छ, हाम्रो त्यहाँ विरोध हो । हामी कुनै पनि हालतमा त्यसो गर्न दिने छैनौँ । हामी फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तिनीहरूको त्यो दुष्प्रयास सफल हुन दिने छैनौँ भनेको हो हामीले । त्यसकारण संविधान संशोधनको सैद्धान्तिक विरोध होइन । संविधानसभाबाट बनेको यो संविधानको मूलभूत विशेषता के हो भने यो देशले परिवर्तनलाई आत्मसात् गरेको छ । समय–समयमा जनभावनाअनुसार, जनताको आवश्यकता, राष्ट्रको आवश्यकताअनुसार संविधानका सबै पक्षहरू, प्रावधानहरू संशोधन हुन सक्छन् भनेर ढोका खुला राखेको छ । खालि देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, जनताको सार्वभौमसत्ताजस्ता आधारभूत कुरा ती मात्रै अपरिवर्तनीय छन । अरू सबै राजनीतिक प्रणाली, सिद्धान्त, मान्यता ती सबै जनताको चाहना, आवश्यकता र समयको आवश्यकताअनुसार परिवर्तन गर्न सकिन्छ भनेर भनिएको छ । संविधानसभाबाट बनेको यो संविधानको राम्रो पक्ष पनि यही हो भन्ने मलाई लाग्छ । त्यसमा थुप्रै राम्रा कुराहरू पनि छन् । थुप्रै सीमाहरू पनि छन् । तर, अहिले दुईवटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने । देशमा भएका विभिन्न विचार, राजनीतिक प्रवृत्ति, तिनीहरूको बीचमा बहस, छलफल हुन नदिने, अहिले एउटा कुरा आइराखेको छ– थ्रेसहोल्डको कुरा । तपाईंहरूले पनि सुन्नुभएको होला । थ्रेसहोल्ड बढाएर साना पार्टीहरू सबैलाई निस्तेज पार्ने, तिनीहरूको अस्तित्वविहीन बनाउने र अनि तथाकथित दुई पार्टी सिस्टम – जो पश्चिमा देशहरूमा चल्ने गरेको छ, त्यसैमा नेपाललाई पनि जबरजस्ती लैजाने खोज्ने र त्यहीमार्फत अधिनायकवादतिर देश लैजाने कोसिस भएको हुनाले नै हाम्रो विरोध हो । र, हामी संसद्‌मा मैले विश्वासको मत लिँदै गर्दा बडो विचित्रको परिघटनाहरू भए । म त्यतापिट्ट धेरै जान त चाहन्नँ, तर त्यहाँ हामी सबैले अपिल गरेको– नेपाली जनता, सबै समुदाय, जातजाति, भाषा, धर्म सबैलाई गरेको अपिल के हो भने खबरदार, नेपाली जनताले लामो समयको संघर्ष र बलिदान र अब त ७५ वर्षको कम्युनिस्ट आन्दोलन, यसबीचमा भएका सामन्तवादविरोधी, साम्राज्यवादविरोधी संघर्षमा भएको बलिदानहरू र उपलब्धिहरूमाथि फेरि पनि औँला ठड्याउन खोजिएको छ । त्यसलाई रोक्नुपर्दछ । जनताको तागतले त्यसलाई रोक्नैपर्दछ । रोक्न सकिन्छ । हामीले त यही अपिल गरेका छौँ । आज कमरेड पुष्पलालको जन्मशताब्दीको अवसरमा पनि हामीले एउटा संकल्प लिनैपर्दछ– सबै देशभक्त कम्युनिस्ट शक्तिलाई एउटै झन्डामुनि ल्याउने प्रयास छोडिन हुँदैन । र, प्रतिक्रान्तिकारीहरू, प्रतिगमनकारीहरूले संविधानमाथि घात गर्ने दुस्साहस सफल हुनै छैन । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro