site stats
बाह्रखरी :: Baahrakhari
देश
हैजाबाट बच्न काठमाडौं महानगरले दियो तालिम 

काठमाडौँ । पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।  बर्खा याममा खानेपानीसँग दुषित पानी मिसिन सक्ने सम्भावना छ । 

पानीकै कारण खानेकुरा दुषित हुने उत्तिकै सम्भावना रहेको जनाउँदै काठमाडौं महानगरपालिकाले हैजासहित पानीजन्य रोग फैलिने जोखिम भएकोले पिउने पानी र खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरेको छ ।
हैजा र यसले ल्याउन सक्ने जनस्वास्थ्य तथा वातावरणीय जोखिम घटाउन वडास्तरीय छलफल र तालिम सुरु भएको महानगरले जानकारी गराएको छ ।

Argakhachi Cement Island Ad

यस क्रममा वडा नं. ११ ले सामाजिक अगुवा, विद्यालयका शिक्षक शिक्षिका, टोल सुधार समिति तथा उपभोक्ता समिति, क्लवसहितका संस्थाबाट प्रतिनिधि बोलाएर हैजा नियन्त्रणका लागि तालिम सञ्चालन गरेको छ । 

जनस्वास्थ्य तथा वातावरण संस्था (इन्फो) सँगको सहकार्यमा सञ्चालन गरिएको तालिममा पानीका स्रोत दुषित हुने कारण, दुषित वस्तुसँग मानिसहरुका सम्बन्ध र स्वच्छताका विषयमा प्रस्तुतिकरण र छलफल गरिएको थियो । तालिममा वडाका कार्यवाहक अध्यक्ष दिपेश राउतले, गएको वर्षहरुमा व्यहोरेको समस्या यो वर्ष व्यहोर्नु नपरोस् भनेर तालिम आयोजा गरिएको बताए ।

यस्तै वडा सदस्य सरोज मुल्मीले, आवश्यकताका आधारमा हैजाजन्य विपद व्यवस्थापनको तयारी गरिएको जानकारी दिए । वरिष्ठ जनस्वास्थ्य अधिकृत नःली बज्राचार्यका अनुसार अहिलेसम्म हैजाका बिरामी भेटिएको छैन । गएको वर्ष भने विभिन्न ठाउँमा विरामी भेटिएका थिए ।

हैजाका विषयमा बारम्बार आउने प्रश्नका बारेमा जानकारी दिँदै बज्राचार्यको भनाइ छ, “पानी कसरी शुद्ध गर्ने?, ब्लिचिङ् पाउडरले पानी शुद्ध हुन्छ?, पानी शुद्ध गर्ने औषधिले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन? पानी जाँच कहाँ गर्ने? हैजाका लक्षण के हुन्? प्राथमिक उपचार के गर्ने?, घरमै केही औषधि छ कि? भनेर प्रश्न आउँछन् ।”

यी सबै प्रश्नको एउटै सरल उत्तर भनेको, पानी तताएर शुद्धीकरण गर्नु हो । लक्षण तथा उपचारका विषयमा जानकारी लिनु परे महानगरले सञ्चालन गरेको ११८० नम्बरमा फोन गरेर परामर्श लिन सकिने व्यवस्था मिलाएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्