site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशमा एकैवर्षमा १३ सय नेपालीले गुमाए ज्यान, विमानस्थलमै छन् शव ओसार्न १६ गाडी तैनाथ !
SkywellSkywell

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव ढुवानी गर्न १६ वटा गाडी राखिएको छ । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको संख्या बढ्न थालेपछि वैदेशिक रोजगार बोर्डले शव ढुवानी निम्ति विमानस्थलमा उक्त संख्यामा गाडीको व्यवस्था गरेको हो । वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालका अनुसार, बोलपत्र आव्हान गरी चार वटा कम्पनीका गाडीको व्यवस्था गरिएको हो ।

वैदेशिक रोजगारीका क्रममा विदेश मृत्यु भएकाहरूको शव काठको बाकसमा ल्याइन्छ । ती गाडीको काम विमानस्थलबाट सम्बन्धित जिल्ला तथा गाउँसम्म पुर्‍याउनु हो ।

Dabur Nepal
NIC Asia

गत आर्थिक वर्ष वोर्डले ३०८ जनाको शव विदेशबाट आफ्नै खर्चमा झिकाएको थियो । विदेशबाट शव ल्याउँदा धेरै खर्च लाग्छ । केहीको शव रोजगारदाता कम्पनीले पठाइदिन्छ । तर केहीको भने परिवार आफैँले ल्याउनुपर्ने हुन्छ । जुन परिवारले शव झिकाउन सक्दैनन् त्यस्ता शव वोर्डले आफ्नै खर्चमा नेपाल झिकाउने गरेको छ ।

“वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको शव विमानस्थलमा ल्याएपछि केही परिवार आफैँले लैजान्छन् । बाँकीको शव वोर्डले यिनै गाडीमा राखी सम्बन्धित जिल्ला तथा गाउँमा परिवारलाई बुझाउने गरिन्छ,” प्रवक्ता ढकालले बाह्रखरीसँग भने । शव ढुवानी सेवा वोर्डले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

ढकालका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा मात्र वैदेशिक रोजगारीका गएकामध्ये १ हजार ३५५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये ७५५ जनाको शव त्रिभुवन विमानस्थलबाट सम्बन्धितको गाउँसम्म वोर्डले पुर्‍याएको थियो । 

गत आर्थिक वर्ष १ हजार ३१३ जना पुरुष र ४२ जना महिलाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए । सो आर्थिक वर्ष अर्थात् २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका गएकामध्ये दैनिक औसत करिब ४ जनाको मृत्यु भएको छ ।   

“गत आर्थिक वर्ष हामीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ सय ५५ जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएका छौं,” वोर्डका प्रवक्ता ढकालले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा मृत्यु भएका १ हजार ३५५ जनाको नजिकका परिवारलाई वोर्डले आर्थिक सहायतास्वरुप ४२ करोड ७१ लाख २५ हजार रुपैयाँ उपलब्ध गरेको छ । 

प्रवक्ता ढकालका अनुसार, श्रम अवधिभित्र वा सकिएको एक वर्षभित्र वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु भएमा नजिकको परिवारलाई सात लाख रुपैयाँ उपलब्ध गराउँदै आएका छौं । श्रम अवधि सकिएको एक वर्षपछि मृत्यु भएकाको परिवारलाई आर्थिक सहायतावापत २५ हजार रुपैयाँ उपलब्ध गराउँछौं ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा विरामी भएको ५५६ जनालाई आर्थिक सहायता स्वरुप १६ करोड ९१ लाख ७१ हजार रुपैयाँ प्रदान गरिएको उनले जनाए । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा १ हजार २०८ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका थिए । मृत्यु हुनेमा १ हजार १६३ पुरुष र ४५ महिला थिए ।

१६ वर्षमा करिब साढे १३ हजारको मृत्यु 

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार, पछिल्लो १६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका १३ हजार ४९७ जनाको मृत्यु भएको छ ।

Death-in-Forein-Country-1721706155.jpg
 

आर्थिक वर्ष २०६५/६६ देखि २०८०/८१ सम्मको अवधिमा उनीहरूको मृत्यु विदेशी भूमिमा भएको हो । यस अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये प्रत्येक वर्ष औसतमा ८४३ जनाभन्दा बढीको मृत्यु भएको देखिन्छ । 

बोर्डका अनुसार, आर्थिक वर्ष २०६५/६६ मा ७८ जना, २०६६/६७ मा ४२१ जना, २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना, २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना, २०७२/७३ मा ८२६ जना र २०७३/७४ मा ७५८ जनाको मृत्यु भएको थियो ।  

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना, २०७८/७९ मा १ हजार ४७९ जना, २०७९/८० मा १ हजार २०८ जना र २०८०/८१ मा १ हजार ३५५ जना नेपालीको मृत्यु भएको थियो । 

वैदेशिक रोजगारीमा जानेमध्ये एकै वर्ष सबैभन्दा बढी नेपालीको मृत्यु आर्थिक वर्ष २०७८/७९ मा भएको देखिन्छ ।

कति गए वैदेशिक रोजगारीमा ? 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार, बितेको १६ वर्षमा ६५ लाख १३ हजार ४६२ जना नेपाली श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् । 

यो संख्या वैधानिक तरिकाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानेको मात्र हो । आर्थिक वर्ष २०६५/६६ देखि २०८०/८१ सम्मको अवधिमा उक्त संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

पछिल्लो १६ वर्षमा वैदेशिक रोजगारीमा जानेमध्ये ६० लाख ७४ हजार ९०९ जना पुरुष र ४ लाख ३८ हजार ५४८ जना महिला छन् ।/कुल वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको संख्या ६.७३ प्रतिशत छ । बाँकी ९३.२७ प्रतिशत पुरुष छन् ।
 
बोर्डको तथ्याङ्क अनुसार, सबैभन्दा बढी वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार  ३२७ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ । बितेको १६ वर्षमा औसतमा प्रत्येक वर्ष ४ लाख ७ हजार ९१ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

आर्थिक वर्ष २०६६/६७ मा २ लाख ९४ हजार ९४ जना, २०६७/६८ मा ३ लाख ५४ हजार ७१६ जना, २०६८/६९ मा ३ लाख ८४ हजार ६६५ जना र २०६९/७० मा ४ लाख ५० हजार ८८९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । 

यस्तै, आव २०७०/७१ मा ५ लाख २७ हजार ८१४ जना, २०७१/७२ मा ४ लाख ९९ हजार १०२ जना, आव २०७२/७३ मा ४ लाख ३ हजार १७४ जना, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३ जना र २०७४/७५ मा ३ लाख ५४ हजार ८२ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

विभागको तथ्याङ्कअनुसार, २०७५/७६ मा २ लाख ३६ हजार २०८ जना, २०७६/७७ मा १ लाख ९० हजार ४५३ जना, २०७७/७८ मा ७२ हजार ८१ जना, २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना, २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना र २०८०/८१ मा ७ लाख ४१ हजार २९७ जना नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

विभागले आर्थिक वर्ष २०५०/५१ बाट कति जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजागारीमा गए भन्ने तथ्याङ्क राख्न थालेको हो । पछिल्लो ३१ वर्ष अर्थात् आर्थिक वर्ष २०५०/५१ देखि २०८०/८१ सम्मको अवधिमा ७६ लाख ९५ हजार १५६ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

कति भित्रन्छ रेमिट्यान्स ? 

नेपाल राष्ट्र बैंकका अनुसार, पछिल्लो १५ वर्ष ११ महिनामा वैदेशिक रोजगारीमा गएकाहरूले नेपालमा कुल ११०.१३ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । यो वैधानिक तरिकाले नेपाल भित्रिएको रकम मात्र हो । 

उक्त रेमिट्यान्स २०६५ साउन १ गतेदेखि २०८१ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो । बितेको करिब १६ वर्षमा औसतमा प्रत्येक वर्ष ६ खर्ब ८८ अर्ब ३५ करोड ४३ लाख ७५ हजार रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।

Remittance-1721706155.png
 

राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब ६० करोड रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँ र २०६९/७० मा ४ खर्ब ३४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीबाट नेपालमा आएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब ३० करोड रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब १० करोड रुपैयाँ, २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ, २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ र २०८०/८१ (साउन देखि जेठसम्म)मा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीमा गएकाहरूले पठाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu