site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१९ हजार विद्यार्थीको एसईईको नतिजा पुनर्योग गरिँदै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १९ हजार ६०० विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाको अंक पुर्नयोग गर्दै छ । यो संख्या गएको वर्षको भन्दा झन्डै पाँच गुणा बढी हो । पुनर्योग (रि टोटलिङ)का निम्ति गएको वर्ष चार हजार ५०० आवेदन परेको परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक छ ।

आवेदन परेकामध्ये कार्यालयले साउन १ गतेसम्म चार हजार २९७ जनाको नतिजा सार्वजनिक गरेको छ । जसमा २८२ विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

नतिजा परिवर्तन भएकामध्ये ५९ जनाले ४ जीपीए ल्याएका छन् । तीमध्ये पनि दुईजना नन ग्रेडेड भएका विद्यार्थीको नतिजा परिवर्तन भएर ४ जीपीए आएको छ । यीबाहेक अन्य नन ग्रेडेड भएका विद्यार्थीको नतिजा परिवर्तन हुँदा १.६ देखि ३.६ जीपीएसम्म आएको छ ।

यो वर्ष अनलाइनमार्फत् नै आवेदन दिन मिल्ने व्यवस्था गरिँदा पुनर्योग गर्न धेरै आवेदन परेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा बताउँछन् । आवेदन दिएका सबै विद्यार्थीको पुनर्योगको नतिजा साउन २३ भन्दा अगाडि निकालिसक्ने शर्माले जानकारी दिए ।

यता प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भने एसईईको नतिजामा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड हुनु राज्यको लज्जाको विषय भएको भन्दै उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन प्रक्रियामाथि प्रश्न उठाएको छ । पुनर्योगमा धेरै विद्यार्थीको नतिजा परिवर्तन भएको पनि समितिको बुझाइ छ ।

बिहीबारको समिति बैठकबाट एसईईको उत्तरपुस्तिका जाँच र समग्र प्रक्रियाबारे राष्ट्रिय परीक्षा बोर्डलाई स्पष्टीकरण माग्ने निर्णय भएको छ । साथै, पुनर्योगको नतिजामा आएको परिवर्तनबारे पनि के कसो भएको हो भनि बोर्डलाई आवश्यक तथ्यांक बुझाउन निर्देशनदिने निर्णय भएको समिति सभापति अम्मरबहादुर थापाले बताए ।

“५० प्रतिशतभन्दा बढी विद्यार्थी फेल हुनु त राज्य नै फेल भएकोजस्तो भयो, कति विद्यार्थीले नतिजाकै कारण आत्महत्या गरेका छन्, नतिजामा नै फरक परेको भए त्यसको जिम्मा त सरकारले लिनुपर्यो नि,” थापाले बाह्रखरीसित भने ।त्यसैका निम्ति बोर्डलाई नतिजा प्रक्रियाबारे सोधपुछ गर्ने निर्णय भएको उनले बताए ।

यता बोर्डले भने पुनर्योगका निम्ति आवेदन दिएकामध्ये दुईचार प्रतिशत विद्यार्थीको नतिजा फरक पर्नु स्वभाविक भएको दाबी गरेको छ ।

परीक्षा नियन्त्रक शर्मा यो वर्ष पुनर्योगका निम्ति आवेदन नै धेरै परेकाले नतिजा परिवर्तन हुने संख्या केही बढेको देखिएको बताउँछन् ।

“परीक्षकले अंक जोड्न बिर्सिने उल्टो अंक राख्ने जस्ता केही मानवीय त्रुटि भएका छन्, केही विद्यार्थीलाई अन्याय भएको हो, तर समग्र परीक्षा र नतिजा प्रणालीमै समस्या छ भन्ने होइन, हामीले विभिन्न चरणका क्रस चेकपछि मात्रै नतिजा सार्वजनिक गर्छौँ हेलचेक्रयाइँ भएको छैन”, शर्माले बाह्रखरीसित भने ।

एकदेखि सबै विषयमा नन ग्रेडेड भएका विद्यार्थीका निम्ति साउन २३ देखि ३१ गतेसम्म पूरक परीक्षा गरिँदैछ ।

केही विद्यार्थीलाई मानवीय त्रुटिका कारण वर्ष २०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना नन ग्रेडेड भएका थिए । तीमध्ये एक विषयमामात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा र एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro