बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक लक्जरी होटेलको सुटमा बसेका ६ जना मृत अवस्थामा भेटिएका छन् । उनीहरूको मृत्यु कसरी भयो भन्ने कुरा रहस्यमय भएको छ ।
सो घटना बैंककस्थित पाँचतारे होटेल ग्रान्ड हायात इरावनमा भएको हो । स्थानीय मिडियाले त्यहाँ गोली चलेको सुरुमा समाचार दिए पनि प्रहरीले ती समाचार खण्डन गर्दै गोली चलेको कुनै प्रमाण नभएको जनाएको छ ।
अधिकारीहरूले उनीहरूको खानामा विष परेको हुन सक्ने बारेमा अनुसन्धान भइरहेको जनाएका छन् । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । उनीहरू सबै भियतनामका नागरिक भएको जनाइएको छ । तीमध्ये केहीसँग अमेरिकाको पनि नागरिकता भएको थाइल्यान्डका प्रधानमन्त्रीले बताएका छन् ।
घटनास्थलमा पुगेका अनुसन्धानमा संलग्न स्रेथा थाभिसिनले उनीहरूको पोस्टमार्टम परीक्षण हुने जनाएका छन् । उनले यो घटनाको उदेश्य के थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाउँदै घटना आत्महत्या नभएर हत्या नै भएको जनाएका छन् । सो होटेलमा बस्नका लागि सातजनाले बुकिङ गरेकोमा पाँचजनाको मात्रै चेक इन भएको र एकजनाको त्यहाँ नाम उल्लेख नगरिएको मेट्रोपोलिटन प्रहरी प्रमुख थिटी साइन्गसवाङले जनाएका छन् । कोठामा मृत भेटिएका एक व्यक्ति होटेलको रेकर्डमा नभएको जनाइएको छ ।
उनीहरू सोमबार चेक आउट हुँदै थिए । हाउसकिपरले उनीहरूको शव सुरुमा फेला पारेका थिए । डकैती र कुनै झगडाको पनि प्रमाण नभेटिएको प्रहरीले जनाएको छ । एकजनाको शरीरमा एउटा चोट देखिए पनि त्यो लडेर लागेको जनाइएको छ । बीबीसी