
नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित जीटीबी अस्पताल (गुरु तेगबहादुर अस्पताल)मा पेटको संक्रमणको उपचार गर्न गएका एक बिरामीलाई गोली हानी हत्या गरिएको छ ।
आइतबार ३२ वर्षका एक बिरामीको गोली हानी हत्या गरिएको हो । घटनाको अनुसन्धानमा रहेको प्रहरीले अझै पनि आक्रमणकारीको पहिचान हुन नसकेको जनाएको छ ।
ती बिरामीको नाम मोहम्मद रियाजुद्धिन रहेको र उनी खजुरीमा डेन्टल क्लिनिक चलाउँदै आएका थिए । जीटीबीको २४ नम्बर बेडमा भर्ना भएका उनलाई बहिनी र एक मेडिकल अटेंडेन्ट साथमै रहेको बेलामा गोली हानी हत्या गरिएको बताइएको छ ।
आक्रमणकारीले एक्कासि गोली प्रहार गरेको र अरु दुई मानिस पनि उसको साथमा रहेको प्रहरीले जनाएको छ । गोली हान्नासाथै तीनैजना त्यहाँबाट भागेका थिए । सो हत्याकाण्डपछि आम आदमी पार्टीले दिल्लीको सुरक्षा व्यवस्थालाई लिएर भारतीय जनताबाटमाथि आपत्ति जनाएको छ । बीबीसी