site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारले कसरी स्वागत गर्ला अर्थमन्त्रीलाई ? यस्तो छ विगत 

काठमाडौं । विष्णु पौडेल अर्थमन्त्री भएसँगै यसपालि पनि सेयर बजार बढ्ला त ? सेयर बजारमा आशायुक्त जिज्ञासा देखिन्छ ।  सोमबार बिहानैदेखि उतार चढाव बेहोरेको बजार समाचार तयार पार्दासम्म करिब २४ अंकले घटेको छ ।

उनी मन्त्री बनेपछि प्रत्येक पटक ‘प्यानिक’ स्थितिका सेयर लगानीकर्ताको मनोवल उच्च हुने गरेको विगतका तथ्यांकले देखाउँछ । यसपालि के होला ? विगतमा जसरी उनी अर्थमन्त्री भएपछि उच्च बिन्दुमा पुग्ला त ? सेयर बजारमा टिकाटिप्पणी र आशायुक्त विश्लेषण हुँदैछ ।

२०७२ सालयता बनेका अर्थमन्त्रीहरुसँग तुलना गर्दा उनी हुँदा बजारले गति लिएको देखिन्छ । उनको अर्थ मन्त्रालयको चौथो पुनरागमनमा सेयर बजारले नयाँ रेकर्ड कायम भएको थियो ।

अब उनी पाँचौंपटक अर्थमन्त्रीको रूपमा प्रवेश गरेका छन् । उनी अर्थमन्त्री बन्ने हल्ला चलेसँगै बजार दुई हजारको बिन्दुबाट बढेर साढे २२ विन्दुमा पुगेको छ ।

अर्थमन्त्री पौडेल हुँदा सेयरका नयाँ रेकर्ड  

वि.सं. २०७२ असोज २४ गते गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारमा पौडेल अर्थमन्त्री बने । उक्त समयमा सेयर बजार ११ सयको विन्दुमा थियो । उनी अर्थमन्त्री भएकै समयमा बजार करिब १९ सय विन्दु नजिक पुग्यो । यो त्यो समयको नयाँ रेकर्ड थियो । उनीपछि अर्थमन्त्रीका कार्यकालमा बजार पुनः घटेर ११ सय बिन्दुभन्दा तल झर्‍यो । 

२०७४ सालमा बनेको सरकारमा डा. युवराज खतिवडा अर्थमन्त्री बने । उनी अर्थमन्त्री साढे दुई वर्ष भए । उनको अर्थमन्त्री अवधिमा बजार ११ सयभन्दा तल झर्‍यो ।

तर, खतिवडा बाहिरिएपछि ओली सरकारमा पौडेल पुनः अर्थमन्त्री भए । उनी अर्थमन्त्री भएपछि बजार पुनः बढ्यो । उनी अर्थमन्त्री भएको बेला २०७७ फागुनमा बजार साढे १६ सय विन्दुबाट बढेर साढे २८ सय विन्दुमाथि पुग्यो । त्यही वर्ष नै बजारले ३२ सय बिन्दुको नयाँ रेकर्ड ‘ब्रेक’ गरेको थियो ।

२०७८ भदौ २ गते बजारले नयाँ रेकर्ड बनायो । असार २८ गते सरकारबाट ओली सरकार बाहिरिँदा कोभिडको प्रकोप जताततै फैलिएको थियो । असार २९ गते नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए भने माओवादी केन्द्रका जनार्दन शर्मा अर्थमन्त्री बने । 

त्यो समयमा शर्मा अर्थमन्त्री भएपछि पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गरेका थिए । त्यसरी प्रतिस्थापन विधेयकबाट शर्माले भदौ २५ गते नयाँ बजेट ल्याए । भदौ २ गते सेयर बजारले ३२ सयको विन्दु पार गर्नुमा पनि पौडेलकै नीतिले काम गरेको बुझाइ लगानीकर्ताको छ । हालसम्मकै उच्च बिन्दु ३२ सय मानिन्छ । 

त्यो बिन्दुभन्दा माथि कुनै अर्थमन्त्री हुँदा पनि हुन सकेको छैन । उक्त समयमा अनलाइन कारोबारले लगानीकर्तालाई सहयोग गरेको पनि कतिपयको भनाइ छ । तर, अर्थमन्त्री विष्णु पौडेल हुँदा लागनीकर्ता सधैँ सकारात्मक हुने गरेको साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जीसी बताउँछन् । 

उनले लगानीकर्ताका मागलाई नीतिमार्फत सम्भव भएसम्म लचक बनाउने हुँदा पनि लगानीकर्ता उनीप्रति सकारात्मक हुने बताए । “बजार बढ्नुका प्रमुख कारण एमाले–कांग्रेसको स्थायी सरकार बन्नु हो,” उनले भने, “तर, अर्थमन्त्री विष्णु पौडेल हुँदा उनले लिने नीतिका कारण पनि बजार सकारात्मक हुने गरेको छ ।”

२०७८ सालमा बनेको सरकारका अर्थमन्त्री शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘ट्युनिङ’ मिलेन । तिनले बजार कस्ने खालका नीति ल्याउँदा  सेयर बजारमा प्रभावित भएको थियो ।

लगातार बजार बढेपछि राष्ट्र बैंकले सेयर ऋणमा ४–१२ करोडको क्याप लगाएको थियो । त्यसपछि बजार लगातार ओरालो लागेको थियो ।

bsp-1721026755.JPG
 

२०७९ को आमनिर्वाचनपछि बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा २०७९ पुस ११ गते पदभार ग्रहण गरे ।

उनी अर्थ मन्त्रालयमा फर्किना साथ सेयर बजारले उकालो गति लिएको थियो । त्यो पटक उनी अर्थमन्त्री नियुक्त हुँदा साढे १८ सय बिन्दुमा नेप्से थियो ।  तर, पौडल अर्थमन्त्री भएकै अवधिमा बजार बढेर साढे २२ सय विन्दुभन्दा माथि पुगेको थियो ।

उनी अर्थमन्त्रीबाट बाहिरिएपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र माओवादी केन्द्रका वर्षमान पुन अर्थमन्त्री भए ।  उनीहरू अर्थमन्त्री हुँदा पनि विष्णु पौडेल अर्थमन्त्री हुँदाको विन्दु नेप्सेले कायम गर्न सकेन ।
 
एमाले र कांग्रेसको गठबन्धन भएको समाचार बाहिरिएसँगै सेयर बजारमा दुईपटक सकारात्मक सर्किट लागेको थियो ।  अझ ओली प्रधानमन्त्री हुने निश्चित भएपछि र अर्थमन्त्रीमा पौडेल आउने हल्ला चलेपछि आइतबार सेयर बजार ५३ अंकले बढेर बन्द भयो ।

अर्थमन्त्री पौडेल हुँदा सबैलाई मिलाएर लान सक्ने र सबैको भावना बुझ्न सक्ने भएकाले सेयर लगानीकर्ता पनि सकारात्मक हुने गरेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् । 

बजारले व्यक्ति हेरर गति लिने गरेकाले यसलाई अपरिपक्व बजार मान्नुपर्ने सापकोटा बताउँछन् । 

“विष्णु पौडेल अर्थमन्त्री हुँदै गर्दा अरू समयमा पनि नेप्से अलटाइम हाइ भएको अवस्था छ,” उनले भने, “यसपालि पनि उहाँलाई बजारले सपोर्ट गर्छ भन्ने दखिन्छ, किनभने अर्थमन्त्रका सूचकहरू पनि सकारात्मक छन् । राष्ट्र बैंकले नीतिगत सुधार गर्‍यो भने बजारको गति सकारात्मक देखिन्छ ।”

पौडेलमा सबैको कुरा सुन्ने र निष्कर्ष निकाल्ने क्षमता भएकाले पनि उनलाई बजारले सकारात्मक रुपमा लिने गरेको सापकोटा बताउँछन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro