site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युरो–२०२४ फाइनल : जसले जिते पनि बन्नेछ कीर्तिमान

काठमाडौं । युरो–२०२४ को फाइनलमा आज दुई युरोपेली ‘जायन्ट’ इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा स्पेन र इंग्ल्यान्ड दुईमध्ये जुन टिमले उपाधि जिते पनि प्रतियोगितामा कीर्तिमान बन्नेछ । स्पेन प्रतियोगिताको कीर्तिमानी चौथो उपाधिको लक्ष्यमा रहँदा इंग्ल्यान्ड पहिलोपटक च्याम्पियन बन्ने दाउमा छ ।

फाइनलसम्मको यात्रा तय गर्दा स्पेनले लगातार ६ खेलमा जित निकाल्दै एक कीर्तिमान बनाइसकेको छ । यसको विपरीत असन्तुलित प्रदर्शन र प्रतियोगिताबाटै बाहिरिने उच्च सम्भावनाका बीच इंग्ल्यान्डले फाइनलसम्मको यात्रा तय गरेको छ ।

सन् १९६४, २००८ र २०१२ को युरोसँगै २०१० को विश्वकप विजेता स्पेनमा फाइनलमा असफल हुने डर छैन । उनीहरूमा प्रतियोगिताको सानदार लयलाई कायम राख्दै चौथोपटक युरोपियन च्याम्पियन बन्ने तीव्र आकांक्ष छ ।

Dabur Nepal
NIC Asia

स्पेनले समूह चरण पार गर्दा कुनै पनि गोल व्यहोरेको थिएन । प्रतियोगिताको क्वार्टरफाइनलमा घरेलु टिम जर्मनी र सेमिफाइनलमा मुख्य दाबेदार फ्रान्सबाट दबाब पाए पनि स्पेनले हालसम्म तीन गोल मात्र व्यहोरेको छ । यी दुवै खेलमा स्पेन २–१ ले विजयी भएको थियो ।

फ्रान्सविरुद्ध १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकाल्दा स्पेनका एक खेलाडी विश्वभर चर्चित बने । ती हुन्, लामिन यमल । १७ वर्षीय यी किशोर फ्रान्सविरुद्धको उक्त गोलसँगै युरो सेमिफाइनलमा गोल गर्ने प्रतियोगिताको इतिहासमै सबैभन्दा कान्छा खेलाडी बने । उनले यही शनिबार मात्र १७औँ जन्मदिन मनाएका हुन् ।

समूह चरणमा इंग्ल्यान्डको प्रदर्शन सम्झनलायक बन्न सकेन । तीनमध्ये दुई खेलमा बराबरी र एकमा जितसहित इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको थियो । इंग्ल्यान्ड अन्तिम–१६ को खेलमा स्लोभेनियाविरुद्ध हारबाट केही सेकेन्ड मात्र पर थियो । इन्ज्युरी समयमा जुड बेलिंघमले प्रतियोगिताकै उत्कृष्ट ‘एक्रोबेटिक’ गोल गरेपछि इंग्ल्यान्डले खेललाई अतिरिक्त समयमा धकेलेको थियो । जसमा कप्तान ह्यारी केनले गोल गर्दै खेल पेनाल्टीमा पुग्नुअगावै इंग्ल्यान्डको पक्षमा राखेका थिए ।

क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध जितका निम्ति इंग्ल्यान्डले पेनाल्टी सुटआउटसम्म कुर्नुपर्‍यो । जसमा नायक बने बुकायो साका । युरो–२०२० को फाइनलमा इटालीविरुद्ध पेनाल्टी चुकाएर चर्को आलोचना खेपेका साकाले स्वीट्जरल्यान्डविरुद्धको खेलबाट आलोचकको मुख बन्द गरिदिए । तीन वर्षअघि नै हो, इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको सबैभन्दा नजिक पुगेको । विश्वकै सबैभन्दा चर्चित क्लब प्रतियोगिता प्रिमियर लिगबाट ख्याति कमाए पनि इंग्ल्यान्डको राष्ट्रिय टिमले हालसम्म युरोपियन च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

यसपटक सेमिफाइनलमा डच टिमको चुनौती २–१ ले पन्छाएको इंल्यान्ड पुनः एकपटक उपाधिको नजिक छ । विजेताको छिनोफानो भने आइतबार राति जर्मनीको बर्लिनमा नेपाली समयानुसार १२ः४५ बजेदेखि सुरु हुने खेलको अन्तिम ह्वीसिलले गर्नेछ ।

फाइनलमा स्पेनका ड्यानी कार्भाहाल र रोविन ले नोमार्ड एक खेलको निलम्बनबाट पुनः टिममा फर्कनेछन् । दुवै खेलाडी जर्मनीविरुद्ध पहिलो रोजाइमा मैदान उत्रिएका थिए । तर, दोहोरो पहेँलो कार्डका कारण यी दुवै सेमिफाइनलमा निलम्बित थिए । मिडफिल्डर पेड्री चोटका कारण प्रतियोगिताबाटै बाहिरिइसके । यसबाहेक स्पेनी टिममा इन्ज्युरीको समस्या छैन ।

इंग्ल्यान्डबाट पनि सेमिफाइनलमा थकानका कारण दोस्रो हाफमा मैदान छोडेका कप्तान ह्यारी केन पहिलो रोजाइमा रहने निश्चित छ । चोटबाट पुनरागमन गरिरहेका लुक सले प्रतियोगिताको पहिलो दुई खेल बेन्चबाट सुरु गरेका थिए । फाइनलमा स्पेनविरुद्ध प्रशिक्षक ग्यारेथ साउथगेटले सलाई पहिलो रोजाइमा मैदानमा उतार्न सक्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro