काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आफूहरूले पर्याप्त माया दिएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा उनले प्रचण्डले अरूलाई नै अँगाल्न पुगेको बताए ।
भट्टराईले प्रधानमन्त्रीलाई गीतमार्फत नै जवाफ दिए । एमालेका मन्त्रीहरूले राजीनामा दिँदा प्रचण्डले 'कसैलाई माया गर्ने एउटा भुल गरेँ मैले' भन्ने गीत सुनाएका थिए ।
जवाफमा योगेशले अर्को गीत सुनाए, “कसलाई देला तिमीलाई, माया मैले दिए जति । झिक तुलो जोखौँ आज कसको माया कति ?”
उनले अब प्रचण्डको उथलपुथलले काम नगर्ने दाबी गरे । उनले विगतमा सरकारमै रहँदा बालुवाटरको रमझमले समीक्षा गर्न समय नपाएको टिप्पणी गरे । अब नेपाली कांग्रेस र एमालेले समीक्षा गर्ने समय दिएको भन्दै त्यसको उपयोग गर्न सुझाए ।
“गम्भीर समीक्षा गर्नुस् । कहाँ जानु थियो, कहाँ आइयो ? के का निम्ति हिँडिएको थियो, कहाँ पुगियो ? कोसँग हिँड्नुपर्ने थियो, कोसँग हिँडियो, कुन बाटो हिँडियो ? एकपटक सिंहावलोकन गर्नुस् । तपाईंबाट संयताको अपेक्षा गर्छौं,” भट्टराईले भने ।