
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले रात्रिकालीन बस सेवा सञ्चालनमा रोक लगाउन माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसहरूले वर्षाको समयमा रात्रिकालीन बस सेवा सञ्चालन हुँदा सवारी साधन दुर्घटना हुने भन्दै उनीहरूले यस्तो माग गरेका हुन् ।
शुक्रबार राति पहिरोका कारण चितवनमा बस दुर्घटनाको उदाहरण दिँदै उनीहरूले यस्तो माग गरेका हुन् । “भदौ १५ सम्म वर्षा बढी हुन्छ । त्यो बेलासम्म नाइट बस सञ्चालन रोकौं भन्ने प्रस्ताव राख्न चाहन्छु,” नेकपा एसका सांसद राजेन्द्र पाण्डेले भने ।
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि विपद् र वर्षाको समयमा रात्रिकालीन बस सेवा सञ्चालन रोक्नुपर्ने बताए । “नाइट बस नचलाउने सरकारले निर्देशन जारी गरेको भए दुर्घटना हुने थिएन । कम्तिमा वर्षातको दुई/तीन महिना जोखिम भएको बाटोमा नाइट बस नचलाउँ,” उनले भने ।