site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गण्डकीमा बाढीपहिरो : पाँचको मृत्यु, तीन बेपत्ता, पाँचजना घाइते
पर्वतको कुश्मा नगरपालिका–५, मोदीबेनीमा उर्लिएको कालीगण्डकी र मोदीखोलाको बहाव । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस ।

पोखरा । अविरल वर्षासँगै गण्डकी प्रदेशमा बाढीपहिरोमा परी शनिबार पाँचजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता छन् । पाँचजना घाइते छन् ।

स्याङ्जा, पर्वत र तनहुँमा बाढीपहिरोमा परी मानिसको मृत्यु, बेपत्ता र घाइते भएका प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा तीनजनाको मृत्यु भएको छ । शनिबार बिहान ५ बजेतिर ६५ वर्षीया गुइश्वरी शर्मा मरासिनीको घरमाथि पहिरो खसेको थियो । त्यो पहिरोबाट मरासिनी जोगिइन्, तर उनको घर जोगिएन ।

ज्यान बचाउन उनी छिमेकी माधव शर्माको घर गइन् । शरण लिन गएको घरमा पनि बिहान करिब ८ः२० बजे पहिरो खस्यो । घरमाथिबाट खसेको पहिरोबाट उनीहरू जोगिन सकेनन् । पहिरोमा परी मरासिनी, शर्मा र उनकी श्रीमती हरिमाया शर्माको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्वतमा शनिबारै दिउँसो ३ बजेतिर खसेको पहिरोमा परी बेपत्ता भएका दुईजनाको शव फरक–फरक ठाउँमा भेटिएको छ । फलेवास नगरपालिका–१, कार्किनेटास्थित कुलप्रसाद पाध्याको घर पुरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, त्यहाँ पहिरो खस्दा घरभित्र सोही ठाउँका झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३, पाखरीगोर ढुंगाका तुलसीप्रसाद शर्मा थिए । पहिरोमा परी बेपत्ता भएका उनीहरूलाई प्रहरी टोलीले मृतावस्थामा फेला पारेको हो ।

तुलसीप्रसादको शव घटनास्थलभन्दा ३०० मिटर तल फेला परेको थियो । झलकप्रसादको शव स्याङ्जाको आँधीखोला–४, सेपतमा फेला परेको प्रहरीले जनाएको छ ।

शनिबारै दिउँसो बाढीपहिरोमा परी तनहुँमा तीनजना बेपत्ता छन् । शुक्लागण्डकी नगरपालिका–७, काउरेका हिरा नेपाली, अनिशा बास्तोला र श्याम भण्डारी पहिरोमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी–७ कै विष्णुबहादुर नेपाली, विशाल तिमल्सिना, रवि घिमिरे, रूपकुमार नेपाली र विमल नेपाली घाइते छन् । खैरेनीटारस्थित अस्पतालमा उनीहरूको उपचार जारी छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro