site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जब ठूला नेताहरू सदनमा उपस्थित हुँदैनन्, कसरी हुन्छ त संसद् प्रभावकारी ?

लोकतान्त्रिक यात्राका क्रममा संसदीय इतिहासमा हामीले धेरै आरोहअवरोह तथा उतारचढाव अनि संकटहरू छिचोलेका छौँ । संसदीय व्यवस्था त्यत्तिकै आएको होइन, यसनिम्ति लडाइँ लड्नुपरेको इतिहास छ । संसद् भनेको लोकतन्त्रको आत्मा हो । लोकतन्त्रलाई जीवन्त पार्न संसद् चाहिएको हो ।

त्यसो त संसदीय लोकतान्त्रिक अभ्यासलाई कुठराघात गराउने काम वि.सं. २०१७ साल पुस १ मै भयो, राजा महेन्द्रबाट । उनले पहिलो निर्वाचित संसदीय व्यवस्थामा हठात् ‘कू’ गरी निरंकुशतन्त्रको यात्रा अघि बढाए ।

यहाँ मैले जोड्न खोजेको, नेपालमा लोकतन्त्रको अभावमा लामो समयसम्म निरंकुशताको अभ्यासपश्चात् हाम्रा अग्रजहरूले नेपालको विविधतालाई स्थापित गर्न यो निष्कर्षमा पुगे कि नेपालका लागि संसदीय प्रणाली नै उपयुक्त होे । उनीहरू २०१६ मा संसदीय व्यवस्था बलियो बनाउन खोज्दै थिए । त्यो दृश्य राजा महेन्द्रलाई मन परेन ।

Dabur Nepal
NIC Asia

तिनै राजा–महाराजालाई राणाहरूले खोपीमा बन्धकको जीवन जिउन बाध्य पारेका थिए । राजा कैदीजस्तो शक्तिहीन जीवन जिउँदै थिए । राजनीतिक दलले नै क्रान्ति गरी राणा पिँजडाका राजालाई उद्धार गरेका हुन् । अर्थात्, बन्धक राजतन्त्रलाई मुक्त बनाउन पनि नेपालमा राजनीतिक दलको आवश्यकता परेको थियो । राजनीतिक दल ००७ सालको क्रान्तिपछिकै उपज हो, संसदीय व्यवस्था । तत्कालीन राजा र जनताबीचको सहमति के थियो भने संसदीय व्यवस्था नेपालको लागि उपयुक्त व्यवस्था हो ।

तर, २०१७ साल पुस १ मा पहिलो निर्वाचित संसद् विघटन गरेपछि त्यहाँ लोकतान्त्रिक यात्रालाई थला पारियो । मुलुक तीन दशकसम्म निरंकुश शासनको चपेटामा पर्‍यो । फेरि क्रान्ति गरी संसदीय व्यवस्था पुनर्स्थापना भएको हो । जहानियाँ राणाशासन र पञ्चायती कालरात्रिका इतिहास भोग्नेहरूले मात्र संसदीय व्यवस्थाको मर्म बुझ्नेछन् ।

संसद्‌माथि दरबारको मात्र प्रहार भएको छैन, संसदीय दलका नेताहरूले पनि पटकपटक प्रहार गरेका छन् । पटकपटक संसद् विघटन गराउनु आफैँमा प्रहारको एउटा विषय हो । अर्को कुरा, नेपालमा संसदीय व्यवस्था र प्रणालीलाई खिल्ली उडाउने र उपहास गर्ने काम पनि निरन्तर छ । केही दलकै इतिहास हेर्न हो भने पनि सुरुमा संसद्लाई रणनीतिको रूपमा मात्र ‘उपयोग गर्ने’ पछि हार खाएपछि ‘स्वीकार गर्ने’ परिपाटी निकै देखियो । यो सबैले गर्दा संसद्को प्रभावकारिता र प्रभावहीनता निर्धारण गर्छ ।

प्रजातन्त्र पुनर्स्थापछिको संसदीयकालमा तीनवटा निर्वाचनसम्म कायम रह्यो । संसद् विघटनको सिकार भयो, पटकपटक ।

मैले जोड्न खोजेको लोकतन्त्रको आत्मामाथि जति प्रहार गरिन्छ, त्यो संसद्को प्रभावकारितामाथिको प्रहार हो ।

मेरो अनुभव के हो भने सबैभन्दा बढी प्रभावकारी संसद् २०४८ देखि ०५१ सम्म हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसको आन्तरिक विग्रह व्यवस्थापन गर्न नसक्दा विघटन गर्नुभयो । त्यहीँबाट संसदीय प्रणालीले कष्टकर यात्रा सुरु गर्न बाध्य भयो । २०५१ को निर्वाचनपछि त्रिशंकु संसद् बन्यो । अनेकखाले गठबन्धन बने, जसले व्यवस्था नै बदनाम हुन पुग्यो ।

दरबारले फेरि निरंकुशतन्त्र चलायो । हामीले त्यसको प्रतिफल भोग्यौँ । 

संसद्को प्रभावकारिताको सबैभन्दा महत्त्वपूर्ण पक्ष सभामुखको भूमिका हो । दोस्रो संसद्लाई सरकार उत्पादन गर्ने थलोका रूपमा लिइयो प्रभावकारी हुन दिँदैन । कुनै पनि सरकारले संसद्लाई धेरै प्रभावकारी हुन दिन चाहँदैन । किनभने, जनताको तर्फबाट निगरानी गर्ने र सरकारको जवाफदेहिताको माग गर्ने थलो संसद् हो । संसद्को पूर्ण सदनले काम गर्न विभिन्न समितिहरू निर्माण गरिएको हुनछ । समितिको प्रभावकारीताबाटै अन्तत्वगोत्व संसद्को प्रभावकारिता बढ्न पुग्छ ।

संसद्को प्रभावकारिता क्रमशः ओरालो लाग्दै आइरहेको छ । तथापि, जानेर वा अन्जानमा सांसदहरूको मानमर्दन काम पनि एक किसिमले चलिराखेकै छ । आफैँ निर्वाचनमा जान्छन्, अनि निर्वाचित भएकै दिनबाट सराप्न थाल्छन् । प्रश्न के हो, तबसम्म संस्था बलियो हुन सक्दैन, जबसम्म त्यसका पात्रहरू बलियो हुँदैनन् अथवा प्रभावकारी हुँदैनन् । सांसद र संसद्को हुर्मत लिने अनि संसदीय व्यवस्था बलियो बनाउँदै छु भनेर हुन्छ र ? यो अन्तरविरोधी विषय भएन र ? आजभोलि अलि बढी यस्ता दृश्य बढेका छन् ।

संविधानसभाको पहिलो निर्वाचनबाटै समावेशीको नाममा विभिन्न उद्योगपति–व्यापारीहरूले प्रवेश पाउन र अझ गराउने होडबाजी नै चल्यो । त्यसले पनि समाजमा संसदीय गरिमालाई अप्ठ्यारोमा पारेकै छ । संसद्‌मा पुगेकाहरू कोही कायम रहेनन्, कोही आ–आफ्ना पेसामा फर्किए । प्रणालीका लागि उनीहरूले खासै केही गरेनन् ।

यता, नयाँ दल र सांसदहरू प्रवेश छन्, तिनीहरूको संसद् र संविधानप्रतिको प्रतिबद्धता के छ ? त्यो विचार विश्लेषण गर्ने हो भने त्योचाहिँ संसद्लाई प्रभावहीन बनाउन भूमिका बढी देखिएको छ ।

जबसम्म ठूला नेताहरू संसद्‌मा उपस्थित हुँदैनन्, तब संसद् प्रभावकारी ढंगले काम गर्न सक्दैन । संसद्‌मा नआउनु नै नेताहरूले महान ठान्नु रहेछ । यो अहम् भावनाले संसद् प्रभावकारी हुन सक्दैन । अन्ततोगत्वा व्यवस्था नै कमजोर हुने अवस्था रहन्छ । नेतृत्व तहले संसद्को गरिमा बढाउन आफैँ उपस्थित हुँदै सरकारले काम दिने र प्राइभेट बिलहरू पनि दर्ता गराएर संसद् प्रभावकारी बन्दै जान्छ । अहिलेचाहिँ संसद् प्रभावकारी देखिँदैन । 

२०७४ पछिको संसद् 
नयाँ संविधानपछिको पहिलो कार्यकालमा दुईपटक विघटित प्रतिनिधिसभा अदालतबाट पुनर्स्थापित गर्नुपर्‍यो । तर, हिम्मतका साथ मैले भन्नैपर्छ– दोस्रोपटकको अदालती परमादेशले संसदीय अधिकारलाई अदालतले हरण गर्‍यो । अमूक व्यक्तिलाई यति समयभित्र प्रधानमन्त्री बनाउने आदेश आयो, त्यो राम्रो भएन । सरकार बनाउने त संसद्को अधिकार हो नि । त्यसकारण अदालतले पनि संसद्को कार्यक्षेत्रमाथि अतिक्रमण गरेकै देखियो ।

पछिल्लो समय के देखियो भने समीकरण हेरफेर गर्ने र त्यसलाई ठप्पा लगाउने काममा मात्रै संसद् सीमित भएको छ । अरू काममा प्रभावकारिता देखिँदैन । कानुन निर्माणका पाटाहरू हेर्ने हो भने विधेयकहरू थन्किएर बसेका छन् । महत्त्वपूर्ण विधेयक निजामती सेवा, शिक्षा सेवालगायत आर्थिक गतिविधिसँग जोडिएका कतिपय विधेयकहरू जो कि संविधान कार्यान्वयन विधेयकहरू हुन्, ती थन्केर बसेका छन् ।

जस्तो, पुरानो निजामती सेवाले प्रदेश सचिव, स्थानीय तहका प्रशासकीय अधिकृतलाई चिन्दै चिन्दैन । संविधान कार्यान्वयन गराउने कतिपय विधेयकहरू अझै पनि पारित हुन सकेका छैनन् । त्यसप्रति खासै जोड राजनीतिक दलहरूले दिएको मैले पाएको छैन । दलहरू कहाँ लिप्त भए भने गठबन्धन हेरफेर गर्ने, तीनथान सरकार बनाइदिने अनि अर्को थानका लागि तयारी गर्नेमै सीमित भए । १७ महिनामा तीनपटक सरकार परिवर्तन भइसक्यो । बाँकी अवधिमा कतिपटक हुने हो ? कसैकसैको मनमा होला, यो संसद् विघटन गर्न पाएँ क्या स्वाद हुन्थ्यो ! त्यस्ता व्यक्ति, व्यक्तिव र दलहरूले संसदीय प्रणालीलाई बलियो बनाउन सक्दैनन् ।

हेर्दा संसद् गोलचक्करमा फसेको छ । घुमीघुमी गठबन्धनको सरकार बनाउने, अनुमोदन गर्ने र त्यतिकैमा रुमलिएर बसेको मैले पाइरहेको छु ।

समितिको भूमिका 
संसदीय समिति प्रभावहीन भएर बसेका छन् । त्यसमा धेरै टिप्पणी गर्नैपरेको छैन । हामीकहाँ विकृति के छ भने सरकारले राज्य चलाइरहेका छैन । सरकारमा रहेका मानिसहरू दल चलाइरहेका हुन्छन् । त्यो चक्रव्यूहमा आजसम्म सबै फसेका छन् ।

अब संसदीय समितिको भूमिकाको विषयमा जबसम्म राजनीतिक दलहरू भागबन्डाका आधारमा चल्छन्, त्यसबाट न त संसद् प्रभावकारी हुन्छ न त समितिहरू प्रभावकारी हुन्छन् । भागबन्डाका आधारमा एकथान सभापति दलले लिने र सुविधा भोग गर्ने मात्र काम हुनछ । त्यसले समितिहरूलाई प्रभावकारी बनाउन भूमिका खेल्दैन ।

संसदीय समितिको भूमिका त्यसको सचिवालय र सभापतिमा निर्भर गर्छ । सभापति निष्पक्ष, तटस्थ र प्रतिबद्ध छ भने समितिलाई सक्रिय पार्न सक्छ । संसद् प्रभावकारी गराउन संसदीय समितिको भूमिका नै प्रभावकारी हुनुपर्छ । समग्रमा सबै विषयलाई एकैपटक संसद्ले हेर्न सकिँदैन । त्यो समितिमार्फत नै हेर्ने गर्नुपर्छ ।

कार्यपालिकाको छायामा पर्ने व्यवस्थापिका संसारभर कहीँ पनि प्रभावकारी भएको छैन । दुर्भाग्यवश हामीकहाँ एकदुई कार्यकालबाहेक कार्यपालिकाकै छायामा व्यवस्थापिका परेको छ । संसदीय समितिहरू अर्थ, लेखा, राज्यव्यवस्था, अन्तर्राष्ट्रियलगायत महत्त्वपूर्ण समिति प्रभावकारी बन्न सकेनन् । बैठक निरन्तर छैनन्, एजेन्डा अघि बढेको देखिँदैन ।

सभामुखको भूमिका 
संसदीय इतिहासमा कृष्णप्रसाद भट्टराईको भूमिका पहिलो संसद्‌मा हामीले देखेनौँ । तर, २०४८ पछिका सभामुखहरूको भूमिकाचाहिँ मज्जाले देख्नहेर्न पाइयो ।

सबैभन्दा उत्कृष्ट भूमिका दमननाथ ढुंगानाकै रह्यो । त्यसपछि राम्रो भूमिका सुवास नेम्वाङकै हो । अरू जति सभामुख भए, उनीहरू फगत एकथान सभामुख मात्र भए ।

नयाँ दलहरूको भूमिका 
उनीहरू संसद् र संसदीय अभ्यास सिक्दै छन् । उनीहरू प्रतिक्रियामा आएका दलहरू हुन् । पुराना दलहरूले केही गर्न सकेनन्, हामी केके न गर्छौँ भनी आएका दलहरू हुन् । तर, संसदीय अभ्यासको अभाव छ । विभिन्न पेसा, व्यवसायबाट आउनुभएको छ ।

संसदीय व्यवस्थाप्रति कति प्रतिबद्धता छ भन्ने कुरा संविधानप्रतिको प्रतिबद्धताको कसीलाई हेर्नुपर्छ । कतिपय दलहरू हामी प्रदेश मान्दैनौँ, चुनाव लड्दैनौँ भन्छन् । तिनले संविधानको एक अंश नमानेको ठहरियो । तिनबाट हामीले संसदीय व्यवस्थालाई प्रभावकारी नयाँ दलले बनाउलान् भन्ने के आशा राख्ने ?

संसद् प्रभावकारी नभए सडक तात्छ 
अन्तिम निचोड संसारभर संसदीय व्यवस्था भएको राज्यमा के हो भने संसद् प्रभावकारी नभएको ठाउँमा सडक प्रभावकारी भएको हुन्छ । सडकले निर्णय गर्दैन, त्यहाँ एउटा भीड हुन्छ । भीडले निर्णय गर्दैन । यतिखेर पनि त्यही संकेत देखापरेको छ, जो व्यवस्था र प्रणालीका लागि सुखद हैन ।

यसले केही रूप लिन सक्छ भन्ने निचोडमा पुग्ने आकलन गर्न तत्कालै सकिँदैन । तर, एक किसिमको भाष्य आमजनतामा दलहरू निकम्मा र नेताहरू भ्रष्ट भए भन्ने निर्माण भएको छ । यो भाष्यले सामाजिक चेतनाको रूप लियो भने दुरावस्था सिर्जना हुनसक्छ ।

संसद् दिवसले संसद्को गरिमा र मर्यादा बढाउन संसदीय दल र नेताहरूमा सद्बुद्धि जगाओस्, मेरो कामना छ । संसद्प्रेमी सबैमा शुभकामना ।

(संसद्भित्र लामो समय बिताएका नेता हृदयेश त्रिपाठीसँग बाह्रखरीका रोमन आचार्यले गरेको कुराकानीमा आधारित)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro