काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती मनाउने तयारी गरेको छ । सो अवसरमा अवसरमा फोटो प्रदर्शनी गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार यही असार १८ गते कोइरालाको शताब्दी जन्मजयन्तीको अवसर पारेर फोटो प्रदर्शनी गर्ने तयारी भएको हो । उनले ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएको फोटो प्रदर्शनी गरिने जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत दिए ।
प्रदर्शनीमा १५० वटाभन्दा बढी फोटोहरु राख्ने तयारी कांग्रेसले गरेको छ । प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालिन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्बित गर्ने फोटोहरू राख्ने निर्णय कांग्रेसले गरेको छ ।
“क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव विषयमा विमर्श गर्नेछौँ । जुन फोटोहरू २००७ सालभन्दा अगाडिका र गिरिजाबाबुसहित अन्य नेताहरूको पनि फोटो रहनेछ,” उनले भने, “१५० फोटोहरूले तीन किसिमको चरणहरूको प्रतिविम्बित गर्नेछ । एउटा क्रान्तिको बेलामा, शान्ति अथवा विकासको बारेमा र पछि शान्ति प्रक्रियासँग जोडिएका फोटोहरू हुनेछन् ।”
सोही दिन क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव विषयमा विमर्श पनि गर्ने पनि उनले जानकारी दिए । जसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्ने उनले बताए ।