site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदी भन्छन्– सहमतिमा अघि बढ्छु

नयाँ दिल्ली । भारतको १८औँ लोकसभाको पहिलो सत्र सुरु हुनुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार चलाउन बहुमतले पुग्ने तर देश हाँक्न सहमति जरुरी रहेको बताएका छन् । उनले भने, “मेरो प्रयास हुनेछ कि सबैको सहमति लिएर भारत माताको सेवा गर्न सकूँ ।”

उनले थपे, “आजको दिन वैभवको दिन हो । स्वतन्त्रतापछि पहिलोपटक हाम्रो नयाँ संसद्‌मा शपथग्रहण हुन लागिरहेको छ । अहिलेसम्म यो प्रक्रिया पुरानो संसद्‌मा हुने गरेको थियो ।”

Argakhachi Cement Island Ad

नयाँ सांसदको स्वागत गर्दै मोदीले भने, “जब देशका जनताले तेस्रो कार्यकालका निम्ति एक सरकारलाई मोहर लगाए, त्यसका लागि म जनताप्रति आभार व्यक्त गर्दछु ।”

सन् १९७५ जुन २५ मा संकटकाल घोषणा गरिएको समेत उनले स्मरण गरे । देशका जनताले आफूलाई तेस्रोपटक मौका दिएको भन्दै उनले दायित्व पनि तीन गुणा बढेको बताए ।

उनले भने, “दुईपटक सरकार चलाएको अनुभव मेरो साथ छ । तेस्रो कार्यकालमा पहिलेभन्दा तीन गुणा ज्यादा मिहिनेत गर्नेछु । यो नयाँ संकल्पका साथ म अघि बढिरहेको छु ।”

मोदीले सांसदसँग देशको धेरै आशा भएको बताउँदै भने, “म सांसदसँग अपिल गर्छु कि हामी यो मौकालाई उपयोग गरौँ र जनहितमा कदम उठाऔँ ।”

उनले अगाडि भने, “सदनमा सामान्य मानवीय अपेक्षा छ कि बहस होस् । निगरानी राखियोस्, मानिसको यो अपेक्षा हुँदैन कि नखरा पार्ने काम भइरहोस् । मानिस नारा चाहँदैनन् । देशलाई एक जिम्मेवार विपक्षी आवश्यक छ ।” बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्