site stats
बाह्रखरी :: Baahrakhari
देश
मेलम्ची खानेपानी आजदेखि बन्द 

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाव बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो ।

समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मेलम्चीमा बाढीसँगै पानी धमिलिन थालेको बताए । आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको उनले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेका थियौँ,” उनले भने, “नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेका छौँ । अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ ।”

गएको जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिएको थियो । तर, ठूलो वर्षा नहुँदा पानी बन्द गरिएको थिएन ।

समितिले गएको शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो । त्यति बेला नदीमा पानीको बहाव नबढेकाले आयोजना सञ्चालन गरिएको लामिछानेले बताए ।

उनका अनुसार, परामर्शदाता तथा एसियाली विकास बैंक (एडीबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् । “हामीले पटक–पटक मेलम्ची बन्द गर्ने तयारी गरे पनि हालसम्म बन्द गरिएको थिएन । पानी धमिलिन थालेपछि आजदेखि बन्द गर्दै छौँ,” लामिछानेले भने ।

उनका अनुसार, मनसुन अवधिमा विपत्तिको जोखिम कम भए मात्र मेलम्चीको पानी पठाउन पुनः सुरु गर्ने समितिले तयारी गरेको छ ।

मनसुन सकिएपछि मात्र उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् । मनसुनजन्य विपत्तिबाट आयोजनाको हेडवर्क्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका निम्ति सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने गर्छ । वर्षा सकिएपछि खोल्ने गर्दै आएको छ । रासस

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्