एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार विहारको राजगीरस्थित नालन्दा विश्वविद्यालयको परिसरमा नयाँ क्याम्पसको उद्घाटन गरेका छन् । उनको साथै विहारका मुख्यमन्त्री नीतीशकुमार र भारतका विदेशमन्त्री डा. एस. जयशंकर पनि उपस्थित थिए ।
त्यहाँ मोदीले भने, “मैले यसलाई भारतको विकास यात्रामा शुभ संकेतका रुपमा देखेको छु । नालन्दा केवल नाममात्रै होइन एक पहिचान पनि हो । नालन्दा सत्यको उद्घोष हो कि आगोको लपेटामा पुस्तक जले पनि आगोको लपेटाले ज्ञानलाई मेटाउन सक्दैन ।”
उनले भनेका थिए, “नालन्दाको ध्वाँसोले भारतलाई अन्धकारले भरेको थियो । अब यसको पुनःस्थापना भारतको स्वर्णिम युगको सुरुवात हुन गइरहेको छ ।”
सो अवसरमा बोल्दै विहारका मुख्यमन्त्री नीतीश कुमारले भनेका थिए, “नालन्दा विश्वविद्यालय इतिहासमा धेरै गौरवशाली छ । प्राचीनकालमा नालन्दा विश्वविद्यालयको पहिचान ज्ञानको केन्द्रको रुपमा थियो । त्यहाँ १० हजार विद्यार्थी पढ्थे । दुई हजार शिक्षक हुन्थे ।”
सन् २०१६ मा नालन्दा विश्वविद्यालयलाई संयुक्त राष्ट्र संघले ‘हेरिटेज साइट’ घोषणा गरेको थियो । क्याम्पस उद्घाटन कार्यक्रममा १७ देशका राजदूतका साथै प्रतिष्ठित मानिस सहभागी भएको जनाएको छ ।
विश्वविद्यालयका कुलपति अभयकुमार सिंहले त्यस कार्यक्रमलाई ‘ऐतिहासिक’ भनेका थिए । नयाँ क्याम्पसमा दुईवटा एकेडेमिक ब्लक, ४० कक्षा जसमा ९०० विद्यार्थी बस्न सक्ने जनाएको छ । नयाँ क्याम्पसमा ३०० सिटको सभादार तथा ५५० विद्यार्थीलाई छात्राबासको पनि व्यवस्था रहेको जनाएको छ ।
यो क्याम्पस सोलार प्लान्ट, वाटर ट्रिटमेन्ट प्लान्ट र रिसाइक्लिङ प्लान्ट जस्ता पर्यावरण अनुकूल सुविधाबाट सुसज्जित रहेको जनाएको छ । सो विश्वविद्यालयको इतिहास गहिरो छ । करिब १६०० वर्ष पहिला स्थापित मूल नालन्दा विश्वविद्यालयको दुनियाँको पहिलो आवासीय विश्वविद्यालयमा एक मानिन्छ ।
यस्तो थियो नालन्दाको इतिहास
भारतको कलेज र विश्वविद्यालय विश्वका टप शैक्षिक संस्थामा नगनिए पनि एक समय यस्तो पनि थियो कि भारत विश्वमै शिक्षाका हिसाबले प्रमुख केन्द्र मानिन्थ्यो । भारतमा नै पहिलो आवासीय विश्वविद्यालय खुलेको थियो ।
जसलाई नालन्दा विश्वविद्यालयको नामले चिनिन्थ्यो । यो विश्वविद्यालयको स्थापना ४५० इसापूर्वमा भएको मानिन्छ । नालन्दा विश्वविद्यालय प्राचीन भारतमा उच्च शिक्षाको सर्वाधिक महत्वपूर्ण र विख्यात केन्द्र थियो ।
प्राचीन नालन्दा विश्वविद्यालयको स्थापना गुप्तकालको क्रममा पाँचौँ शताब्दीमा कुमारगुप्त प्रथमले गरेका थिए । इतिहासका अनुसार, सन् ११९३ मा बख्तियार खिलजीको आक्रमणपछि यसको नाम निशाना हराएको थियो ।
भनिन्छ कि यो आक्रमणका क्रममा यहाँ आगो लगाइएको थियो । नालन्दामा यति धेरै पुस्तक थिए कि त्यहाँ केही महिनासम्म आगो निभाउन सकिएको थिएन ।
यो आक्रमणमा त्यहाँ काम गर्ने कैयौँ धर्माचार्य र बौद्ध भिक्षुलाई पनि मारिएको थियो । प्राचीन नालन्दा विश्वविद्यालयको पूरा परिसर एक विशाल दिवारले घेरिएको थियो । जसमा प्रवेशका लागि मुख्यद्वार रहेको थियो । उत्तरबाट दक्षिणतर्फ मठको कतार थियो । साथमा थुप्रै भव्य स्तुप र मन्दिर पनि थिए । मन्दिरमा बुद्ध भगवानको सुन्दर मूर्ति स्थापना गरिएको थियो ।
जो पछि नस्ट हुन पुग्यो । नालन्दा विश्वविद्यालयको दिवारको अवशेष आज पनि यति चौडा देखिन्छ कि त्यसमाथि ट्रक पनि चलाउन सकन्छि । पटनाबाट ९० किमी र विहार शरिफबाट करिब १२ किमी दूरी दक्षिणमा आज पनि यो विश्वविद्यालयको खण्डहर रहेको छ । यो विश्वविद्यालयका सन्दर्भमा रोचक केही पक्ष यस्ता पाइन्छन् :
–नालन्दा विश्वविद्यालय स्थापत्यकलाको एक अदभूत् नमूना थियो । सुन्दा अचम्म लाग्छ कि यो विश्वविद्यालयमा ३०० कोठा, ७ ठूला कक्ष र अध्ययनका लागि ९ वटा भवन थिए । एक पुस्तकालय थियो । जसमा एक समय ३ लाख भन्दा बढी पुस्तक रहने गरेका थिए ।
–नालन्दा तक्षशीलापछिको दुनियाँको दोस्रो सबैभन्दा प्राचीन विश्वविद्यालय मानिन्थ्यो । आवासीय परिसरको हिसाबले स्थापना भएको यो पहिलो विश्वविद्यालय हो । यो विश्वविद्यालय ८०० वर्ष सम्म अस्तित्वमा रह्यो ।
–यो विश्वविद्यालयमा विद्यार्थीको चयन मेरिटको आधारमा गरिन्थ्यो र यहाँ विद्यार्थीलाई निःशुल्क शिक्षा दिइन्थ्यो । यसका साथै उनीहरूको बस्ने र खाने व्यवस्थापनि निःशुल्क थियो ।
–यो विश्वविद्यालयमा एक समयमा १० हजार भन्दा बढी विद्यार्थी शिक्षा ग्रहण गर्दथे । अनि २७०० भन्दा बढी अध्यापक उनीहरूलाई शिक्षा दिन्थे ।
–नालन्दामा भारतका मात्रै होइन कोरिया, जापान, चीन, तिब्बत, इण्डोनेसिया, इरान, ग्रीस, मंगोलिया, टर्की समेतका देशबाट पढ्न आउने गरेका थिए ।
–नालन्दाको स्थापना पाँचौँ शताब्दीमा गुप्त वंशका शासक सम्राट कुमार गुप्तले गरेका थिए । त्यसलाई महान सम्राट हर्षबद्र्धन र पाल शासकको पनि संरक्षण मिलेको थियो । नालन्दामा खन्दा यस्ता केही मुद्रा पनि मिलेका थिए जसबाट यो कुराको पुष्टि भएको जनाइएको छ ।
–यो विश्वविद्यालयको स्थापनाको उद्देश्य ध्यान र अध्यात्मका लागि एक स्थान बनाउने थियो । यस्तो पनि भनिन्छ कि गौतम बुद्धले कैयौंपटक त्यो क्षेत्रमा यात्रा गरेका थिए र त्यहाँ बसेर ध्यान पनि गरेका थिए ।
–इतिहासका अनुसार नालन्दा विश्वविद्यालयमा एक ‘धर्मगुन्ज’ नामको एक पुस्तकालय पनि थियो । पुस्तकालयका ९ भवनमा तीन भाग थिए । ती तिनको नाम रत्नरंजक, रत्नोदधि र रत्नसागर थिए ।
–नालन्दामा छात्रलाई लिटरेचर, एस्ट्रोलोजी, साइकोलोजी, ल, एस्ट्रोनोमी, साइन्स, वारफेयर, इतिहास, म्याथ, आर्टिटेक्चर, ल्यांग्वेज साइन्स, इकोनोमिक, मेडिसिन लगायतका विषयको पढाइ हुन्थ्यो ।
–यो विश्वविद्यालयमा कैयौं महान विद्वानले पढाएका थिए । जसमा मुख्य रुपमा हर्षवद्र्धन, धर्मपाल, बसुबन्धु, धर्मकीर्ति, आर्यवेद र नागार्जुनको नाम समेत सामेल छ ।
–नालन्दा युनिभर्सिटीको इतिहास चीनको हेनसांग र इत्सिंगले खोजेका थिए । यी दुवै ७औं शताब्दीमा भारतमा आएका थिए । यी दुवैले चीन फर्किएपछि नालन्दाको बारेमा विस्तारमा लेखेका थिए । उनीहरूले यसलाई विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालय बताएका थिए ।
–यो विश्वविद्यालयको एक खास कुरो यो थियो कि यहाँ लोकतान्त्रिक प्रणालीबाट सबै काम हुने गरेको थियो । कुनैपनि फैसला सहमतिको आधारमा लिने गरिएको थियो । मतलब सन्यासीका साथै शिक्षक र विद्यार्थीले पनि आफ्नो राय दिने गरेका थिए ।
–खन्दाखेरी १ दशमलब ५ लाख वर्ग फिटमा नालन्दा विश्वविद्यालयको अवशेष मिलेको थियो । यस्तो मानिएको छ कि यो विश्वविद्यालयको १० प्रतिशत हिस्सा मात्रै हो ।
–नालन्दा शब्द संस्कृतका तीन शब्द ना, आलम र दा को सन्धि विच्छेदबाट बनेको हो । यसको अर्थ ‘ज्ञान रुपी उपहारमाथि कुनै पनि प्रतिबन्ध नलगाउनु’ हो ।
–पहिलाको नालन्दाको रुपमा नालन्दा विश्वविद्यालय विहार राजगिरमा बनाइएको छ । यसलाई २५ नोभेम्बर २०१०मा स्थापना गरिएको थियो ।
को हो आगो लगाउने बख्तियार खिलजी ?
नालन्दा विश्वविद्यालयमा यति धेरै पुस्तक थिए कि जब बख्तियार खिलजीले आगो लगाएका थिए ती जल्न करिब तीन महिना लागेको थियो । उनी त्यही खिलजी हुन् उनलाई नालन्दाका प्राचार्यले मृत्युको मुखबाट निकालेका थिए । यद्यपि त्यसपछि पनि उनले भारतको यो प्राचीन धरोहरलाई नस्ट गरेरै छोडे । यहाँसम्मकि त्यहाँका धार्मिक विद्वान र छात्रसम्मको हत्या गरेको इतिहास पाइन्छ ।
किन गरे होलान् यस्तो ?
उक्त समयमा नालन्दामा करिब १० हजार विद्यार्थी थिए र २ हजार प्राध्यापक थिए । यसको पुस्तकालयमा ठूलो संख्यामा पुस्तकको संग्रह थियो । मेडिसिन, तर्कशास्त्र, गणित तथा वौद्ध सिद्धान्तबारेका पुस्तक त्यहाँका छात्र अध्ययन गर्दथे ।
नालन्दामा पहिला पनि दुई हमला भएका थिए । तर, ११९३ मा तेस्रो पटक भएको तेस्रो हमला विनाशकारी थियो ।
त्यसमा तुर्क सेनापति इख्तियारुद्धिन मुहम्मद बिन बख्तियार खिलजीले हमला गरेका थिए । यस्तो पनि भनिन्छ कि सो समय खिलजीले उत्तर भारतमा बौद्धद्वारा शासित केही क्षेत्रमा कब्जा गरेका थिए । यस क्रममा उनी यति धेरै बिरामी परेका थिए कि उनको केही दिनमा नै मृत्यु हुनेसम्मको अवस्था रहेको थियो ।
यसै क्रममा उनलाई नालन्दा विश्वविद्यालयका आयुर्वेद विभागका प्रमुख आचार्य राहुल श्रीभद्रसँग इलाज गराउन सल्लाह दिइयो । उनलाई आफ्नै मान्छेसँग धेरै भरोसा भएकाले त्यहाँ जान चाहेका थिएनन् ।
उनका आफ्ना मान्छे भारतीयभन्दा ज्यादा क्षमता भएका छन् भन्ने उनलाई लागेको थियो । तर, अन्तिममा आचार्यलाई नै बोलाइयो । त्यतिबेला खिलजीले अनौठो शर्त राखे । उनले आचार्यले दिएको कुनैपनि औषधि नखाने बताए । उनको शर्त थियो आचार्यले उनलाई बिना कुनै औषधि ठिक गरुन् ।
आचार्यले शर्त माने र केही दिनपछि उनी एक कुरान लिएर त्यहाँ गए । उनले कुरानको केही पन्ना पढ्न भने । आचार्यले केही पन्ना पढेपछि उनी ठिक हुन्छन् भनेका थिए । भयो पनि त्यही । खिलजी कुरानका ती पन्ना पढेपछि ठिक भए ।
तर आचार्यले जुन पन्ना पढ्न भनेका थिए त्यहाँ औषधि लेपन गरिएको थियो । खिलजी जब थुक लगाएर ती पन्ना पल्टाउँथे त्यो बेला औषधि उनको मुखमा गयो र उनी ठिक भए । यो देखेर खिलजी आश्चर्यचकित भएको विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख छ ।
उनलाई लाग्यो भारतीयहरू उनका मान्छेभन्दा ज्यादा काबील छन् । यसले उनलाई भित्रभित्रै पिर पर्यो र भारतीय धर्म, ज्ञान र आयुर्वेदलाई जरैदेखि उखेल्ने निर्णय उनले गरे । त्यसपछि नालन्दाको पुस्तकालयमा उनले आगो लगाइदिए । त्यस क्रममा पुस्तकका अतिरिक्त करिब ९ मिलियन पाण्डुलिपी पनि जलेर नस्ट भए ।
इतिहासकारहरूका अनुसार नालन्दा विश्वविद्यालयको पुस्तकालयमा लगाइएको आगो तीन महिनासम्म निभेको थिएन । (विभिन्न एजेन्सीको सहयोगमा)