site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहमतिमा नेतृत्व छान्न नेकपा एसमा दबाब, ‘सुगन्ध आउने’ सुनको खोजी !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका लागि दौडधूप बढेको छ । एकीकृत समाजवादीले असार ५ गते महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । असार १६–२० सम्म पार्टीको महाधिवेशन गर्ने तय भएको छ । विशेषगरी अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालले सक्रियता बढाएका छन् ।

महासचिव घनश्याम भुसालले रुपमा अनौपचारिक ढंगले अध्यक्षको आकांक्षा देखाएका छन् । सोमबार अखिल नेपाल महिला संघ (समाजवादी) को वैचारिक मुखपत्र महिला संकल्प–२ को विमोचन कार्यक्रम राखिएको थियो ।

कार्यक्रममार्फत अनेमसंघले आगामी महाधिवेशनबाट नेतृत्व सहमतिमा टुंग्याउन दबाब दिएको छ । 

Dabur Nepal
NIC Asia

कार्यक्रमको सुरुवातमा अनेमसंघकी उपाध्यक्ष मुनु सिग्देलले महाधिवेशन सहमतिमा नै गर्न जोड दिइन् । एमालेबाट विद्रोह गरेको धेरै समय नभएकाले निर्वाचन गरेर पार्टी नबन्ने दाबी गरिन् ।

“यो महाधिवेशनमा पदाधिकारीलगायतमा निर्वाचन गर्ने र पार्टीभित्र हिजोको जस्तो कचिङ्गलको अवस्था सिर्जना गर्न दिनुहुने छैन भन्ने विश्वास राख्न चाहन्छु,” उनले भनिन्, “सिंगो कार्यकर्ताको विश्वास पनि हो यो ।’’

उनले निर्वाचन गरी हारजित गरेर पुरानै जस्तो पार्टी बनाउन नचाहेको बताइन् । उनले भनिन्, ‘‘हामी एकमत एकताका साथ अघि बढ्न नेतृत्वलाई अनुरोध गर्दछु ।” त्यसपछि पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेकी अनेमसंघको अध्यक्ष जयन्ती राईले पनि सर्वसहमतिमा नेतृत्व चयन गर्न आग्रह गरिन् । उनले पनि एक भएर अघि बढ्ने अवस्था आएको बताइन् ।  

“नयाँ नेतृत्व चयन गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउने गरी जानेछौं । बजारमा अनेक हल्ला छ । यो महाधिवेशको बेलमा यस्ता हल्ला अस्वाभाविक मान्नु हुँदैन,” उनले भनिन्, “त्यसरी नै मञ्चमा बस्ने नेतृत्वहरुलाई आउने महाधिवेशनमा सर्वसंवत नेतृत्व चयन होस् ।”

झलनाथको आशंका, माधवले भने– विचारमा एकमत छौँ

समाजवादीका ‘सम्मानित नेता’ खनालले दस्तावेजमा अघि सारिएको जनवादी क्रान्तिको कार्यक्रमबारे पार्टीमा एकमत रहेकोमा आशंका व्यक्त गरे । तथापि महाधिवेशनबाट त्यो सर्वसम्मत् रुपमा पारित हुने विश्वास भने व्यक्त गरे ।

‘‘अब हामी समाजवादी कार्यक्रमबारेमा पार्टीमा आमरुपमा एउटा सहमति बनेको छ भन्ने स्थितिमा पुगेका छौं,’’ उनले भने, ‘‘यद्यपि त्यो भुंग्रोभित्र के छ ? फूल खरानी देखिएको छ । फूल खरानीभित्र के छ थाहा छैन । तर, सरसर्ती हेर्दा हामी एकता देखिरहेका छौं । त्यसकारण एकताबद्ध भएर नै समाजवादी क्रान्तिको कार्यक्रम पास गर्नेछौं ।”

पार्टीको कार्यदिशाबारे अध्यक्ष नेपाल र खनालबीच विगतमा असहमति रहँदै आएको थियो । कार्यक्रममा नेपालले विचारमा मतभेद नरहेको जवाफ दिए ।  

“हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर धारणा सारेका छौँ,” उनले  भने । 

पार्टीमा विभिन्न पक्षहरुबाट त्यसको व्याख्या र विश्लेषण गर्दै हामी अगाडि बढेको उनको भनाइ छ । 

नेतृत्वबारे खनाल : सुगन्ध आउने सुन बनाऔँ

खनालले आगामी महाधिवेशनबाट सहमतिमा नेतृत्व निर्माण गर्ने विषयमा प्रश्न सोधे । उनले सहमति भनेको अंकमाल हो भनी कार्यकर्तालाई सोधेका हुन् । 

उनले प्रश्न गरे, “कमरेडहरुले भनेजस्तै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर, सहमति भनेको के हो त ? के मा आधारित हुन्छ ? यसो टाउको जोडेर हुन्छ कि ? अंकमाल गरौं कमरेड भनेर हुन्छ कि ? के ले हाम्रो एकता गर्छ ?”
 
खनालले वैचारिक राजनीतिक कार्यदिशा नीति, सिद्धान्तका आधारमा नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सुगन्ध आउने सुनजस्तो नेतृत्व हुनुपर्ने बताए ।

“वैचारिक राजनीतिक कार्यदिशा नीतिका आधारमा, सिद्धान्त, लक्ष्यका आधारमा हामी एक ठाउँमा जुटेका छौं । पार्टी भनेको त्यस्तै हो । सहमति वैचारिक राजनीतिक कार्यक्रम, नीति, सिद्धान्तमा आधारित हुनुपर्यो । त्यस्तो आधारित नेतृत्व निर्माण गर्यौं भने त्यो सुनमा सुगन्ध हुन्छ,” उनले भने, “त्यसकारण सुन मात्रै नबनाऔं । सुगन्ध आउने सुन बनाऔं । त्यसका लागि हामी सबैले प्रत्यत्न गर्नुपर्ने हुन्छ ।” 

अध्यक्ष नेपालले सर्वसम्मत् नेतृत्व बनाउने कुरामा विचार गर्न आग्रह गरे । “महाधिवेशन एकताबद्ध भएर गरियोस् भन्ने बहुत राम्रो कुरा हो । बहुत सुन्दर कुरा हो । त्यही दिशामा सबैले विचार गर्नु राम्रै हुन्छ,” नेपालले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro