बैंकक । भियतनाम युद्धको समयमा अमेरिकाले उत्तरी भियतनाममाथि बम प्रहारका लागि थाई हवाई अड्डालाई प्रयोग गरेको थियो । हजारौँ अमेरिकी सैनिक थाइल्यान्डमा तैनाथ थिए । तीमध्ये कैयौँ स्थानीय महिलाबाट बच्चा जन्मिएका थिए । यद्यपि, अधिकांश सैनिक युद्ध सकिएपछि फिर्ता भए । युद्धको ५० वर्षपछि डीएनए टेस्टले आफ्नो जैविक बाबु पत्ता लगाउनका लागि यी बच्चालाई मदत गरिरहेको छ ।
जेनी स्टूबरको जन्म १९७० मा एक थाइ महिलाको कोखबाट भएको थियो । स्थान थियो– बैंककको दक्षिण पूर्वमा १४० किमी टाढाको यु–तापाओ एयर बेसको आसपास । जेनी भन्छिन्, “मेरी आमाले मलाई आफ्नो साथमा राख्न सकिनन् । उनले आफ्नो निकटको साथीलाई सुम्पिदिइन् । ती साथीले पनि मलाई सँगै राख्न सकिनन् ।”
जेनीलाई अन्तिममा पर्ल एस. बक फाउन्डेसनमा दिइयो । जुन युद्धका समयमा पैदा भएका बच्चालाई मदत गर्ने अन्तर्राष्ट्रिय संस्था हो । उनको पिताको बारेमा कसैलाई पनि थाहा थिएन । केवल यति थाहा थियो कि उनी यु–तापाओमा तैनाथ एक अमेरिकी सैनिक थिए ।
भियतनाम युद्धको समयमा अमेरिकाले आठ वटा वायु सैनिक अड्डा र बी–५२ बम वर्षकका लागि एयरफिल्ड बनाएको थियो । १९५६ बाट १९७३ को बीचमा उत्तर कोरियाको कम्युनिस्ट शासनविरुद्ध लड्नका लागि हजारौँ अमेरिकी सैनिकलाई हरेक वर्ष थाइल्यान्ड पठाइने गरेको थियो । यूएस डिपार्टमेन्ट अफ भेट्रान अफेयर्सका अनुसार पूरै युद्धका समयमा दक्षिण एसियामा कुल ३४ लाख अमेरिकी तैनाथ गरिएका थिए । शीत युद्धको समयमा साम्यवादलाई फैलाउने चिन्ता अर्थात् यो कुराको डर कि यदि एसियाली देश बामपन्थी विचारधारातर्फ गए भने बाँकी पनि त्यसतर्फ नै जाने कुराले अमेरिका चिन्तित थियो । युद्धको चरम अवस्थामा थाइल्यान्डमा करिब ५० हजार अमेरिकी सेना तैनाथ थिए ।
यसबाहेक भियतनाम युद्धमा लडेका हजारौँ सैनिक गभर्नमेन्ट इश्युड, रेस्ट एन्ड रिक्रिएसनका लागि नियमित रूपमा थाइल्यान्ड जाने गरेका थिए । अमेरिकी हवाई सैन्य अड्डाको चारैतिर रेड लाइट क्षेत्रमा बार, नाइटक्लब र मनोरञ्जनको स्थान बनाइएको थियो । अधिकांश सेनाले स्थानीय महिलाका साथ अनौपचारिक सम्बन्ध राख्दथे । यसै खालको सम्बन्धबाट जेनीको जन्म भएको थियो । तीन हप्ताकी जेनीलाई एक स्वीस दम्पत्तिले आफ्नो काखमा लिए । उनीहरू थाइल्यान्डमा नै काम गरिरहेका थिए । आफ्ना स्वीस भाइबहिनीसँगै बढेकी जेनी उनीहरूभन्दा अलग जस्तो देखिन्नथिन् । तर, बैंककमा एक स्टोरकी महिलाले उठाएको सवालले उनी अप्ठेरोमा परिन् ।
उनी भन्छिन्, “महिलाले मेरी आमाको बारेमा सोधिन् । मैले मेरी आमातर्फ इशारा गरेँ । जो एक युरोपेली थिइन् । ती महिला हैरान भइन् ।” पछि उनले भनिन्, “उनलाई कसैले काखमा लिएको हो । जब उनी १४ वर्षकी भइन् परिवार स्वीजरल्यान्डतर्फ लाग्यो । उनले त्यतिबेला सोचेकी थिइन् कि उनी कुनै दिन आफ्ना आमाबाबु खोज्न फर्कनेछन् ।”
सन् २०२२ मा डीएनए टेस्ट सहज भइसकेको थियो । उनी अमेरिकामा रहेका आफ्ना पिताको खोजी गर्न सफल भइन् । यद्यपि, उनको खोजी कहिल्यै पूरा हुने खालको थिएन । उनी ५३ वर्षकी भइसकिन र, पनि उनी आफ्नी थाई आमाको खोजी गरिरहेकी छन् । उनलाई लाग्छ उनको खोजी कहिल्यै पूरा नहुन पनि सक्छ ।
युद्ध र यौन पर्यटन
पछि लामो युद्धको खर्च र हताहतीका कारण अमेरिका १९७३ मा फिर्ता हुनु पर्यो । यसको दुई वर्षपछि नै गैरकम्युनिस्ट दक्षिणी भियतनामलाई कम्युनिस्ट उत्तरी भियतनामले कब्जामा लियोे । यद्यपि, अमेरिकीहरूको उपस्थितिले थाइल्यान्डप्रतिको हेर्ने आँखामा फरक ल्यायो र त्यहाँ पर्यटन निकै राम्रो भयो ।
१९६० मा अन्तर्राष्ट्रिय र घरेलु पर्यटकको संख्या दुई लाख थियो । १९७० मा आठ लाख हुन गयो र एक दशकपछि ५० लाखसम्म पुग्यो । भियतनाम युद्धको ५० वर्षपछि पनि थाइल्यान्ड वैश्विक रूपमा एक प्रमुख पर्यटन गन्तव्य र यौन पर्यटनको हब बनेको छ । जुन युद्धको जमानाको विरासत हो ।
टेलिभिजनमा अपिल
जेनीकै जस्तो मोरिस के प्ली रोबर्टसलाई पनि पर्ल एस बक फाउन्डेसनको जिम्मा लगाइयो । फाउन्डेसनको अनुमानअनुसार १९६८ सम्म दुई हजारभन्दा बढी आधा थाइ र आधा अमेरिकन बच्चा थिए । जसको बायोलोजिकल पिता थाइल्यान्डमा तैनाथ अमेरिकी सैनिक थिए । यहाँ सम्मकी उनीहरूबारे अमेरेशियन शब्द प्रयोग गरियो । त्यो शब्द उनका लागि अक्सर प्रयोग गरिन्थ्यो, जो पूर्वी र दक्षिणपूर्वी एसियाको त्यो इलाकाबाट आउने आमा र अमेरिकी सैनिक पिताबाट पैदा भएका थिए ।
फाउन्डेसनले बीबीसीलाई बताएअनुसार युद्धपछि अमेरिका फर्केका पितामा केवल पाँच प्रतिशतले आफ्ना थाइल्यान्डका बच्चालाई मदत गरे । तथापि, सुरुमा यसो गर्नेमा पनि अधिकांशले एक सालपछि त्यस्तो मदत नै बन्द गरेका थिए । मोरिसको रेखदेख एक धनी थाइ परिवारमा भयो । उनी पछि कहलिएका नायक तथा टीभी प्रस्तोता भए ।
यद्यपि, उनी आफ्नो बितेको बाल्यकालबारेमा कुरा गर्दछन् । उनका अनुसार एक नोकरको हिसाबले उनको रेखदेख भयो । काम गरेबापत उनलाई केबल खाना मिल्दथ्यो । उनी भन्छन्, “घरमा मलाई अप्ठेरो पर्दथ्यो, अपमानित हुनु पर्दथ्यो । विद्यालयमा अन्य विद्यार्थीसँग मेरो झगडा पर्दथ्यो । गाढा रंगको मेरो छालाको मतलब थियो कि म फोहोरी थिएँ । म दोस्रो दर्जाको नागरिक जस्तो थिएँ ।”
उनले कैयौँ पटक भाग्ने प्रयास गरे । १७ वर्षको उमेरमा उनले आफू बस्ने घर छोडिदिए । अनि पतायामा एक फाउन्डेसनको सम्पर्कमा गए । त्यही फाउन्डेसनको मदतले उनले आफ्नो पढाइ पूरा गरे । यसपछि उनी टीभी शो गर्न थाले । शोको नाम थियो ‘मोरिस के’ । यसै शोमार्फत उनले आफ्नो आमाको बारेमा जानकारी दिन अपिल पनि गरे । उनी त्यतिबेला ३४ वर्षको थिए । जब १९५५ मा उनकी आमा अपार्टमेन्टमा पुगिन् । उनी भन्छन्, “म उनलाई गला लगाउन चाहन्थे तथापि, हामीले एक अर्कामा गला लगाएनौँ । आमाको मायाको बदला रिसमा परिणत भयो । म जान्न चाहन्थे कि किन उनले मलाई त्यागिन् ।”
मोरिसलाई उनले बताइन् कि बिनापिताको एक बच्चा लिनु भनेको थाइ महिलाका लागि एक स्क्यान्डलभन्दा कम हुँदैनथ्यो । “मबिना उनी फेरि विवाह गर्न सक्थिन् । परिवार बसाउन सक्थिन् । उनलाई थाहा भयो कि बैंककको पूर्वचाकोएंग्साओ प्रान्तमा एक अमेरिकी सैनिक खटिएका थिए । जब उनी उनकी आमासँग मिले । केही समय डेटिंगपछि केही नबताइकन उनी थाइल्यान्डबाट हिँंडे,” मोरिस भन्छन्, “उनलाई नाम समेत थाहा थिएन । उनले सबै तस्बिर जलाइदिइन् । मेरी आमा सबै कुरा भुल्न चाहन्थिन् । मानिसहरू सोच्दथे कि उनी एक यौनकर्मी हुन् ।”
‘यी बच्चाका साथै थाइल्यान्डमा ठूलो मात्रामा वेश्यावृत्ति पनि त्यतिबेलैको प्रतिबिम्ब हो’ ब्रिस्टल युनिभर्सिटीमा प्राध्यापक यानोस जिल्बरबर्गका अनुसार भियतनाम युद्धको समयमा देशमा सैनिकको उपस्थितिका कारण अमेरिकी एयरबेसको छेउमा रेडलाइट बन्यो । उनका अनुसार यौन उद्योग कसरी विकसित हुन्छ थाइल्यान्ड यसको जिउँदो उदाहरण हो ।
अमेरिकी सैनिक भियतनाममा युद्ध लड्न जान्थे र फेरि बिदा मनाउन थाइल्यान्ड जान्थे । जब युद्ध समाप्त भयो सैनिकको स्थान पर्यटकले लिएका थिए । आजसम्म पनि रेड लाइट इलाका ती नै अमेरिकी सैनिक अड्डाका आसपासमा रहेका छन् । जबकी दशकौँ पहिला ती सैनिक अड्डा बन्द भइसकेका छन् । यद्यपि, युद्धपछि पनि हजारौँ अमेरिकी सैनिक पतायामा थाइल्यान्डको बार र नाइटक्लबमा आइरहेका थिए ।
भाडामा पत्नी
‘लब मनी एन्ड अब्लिगेसन : ट्रान्सनेस्नल म्यारिज इन ए नर्थ इस्टर्न थाइ भिलेज’ पुस्तक लेख्ने पैटचारिन लापानानको भनाइमा थाइ महिला र अमेरिकी सैनिकका बीचको सम्बन्ध जटिल थियो । केही मामिलामा जोडीको जस्तै केही महिना सँगै बस्दथे । यो क्रम सैनिक फिर्ता हुन्जेल मात्र हुन्थ्यो । थाइ समाजमा केही मानिस ती महिलालाई रेन्टेड वाइफका रूपमा मात्रै हेर्ने गर्दथे ।
भेटघाट भएको एक दशकपछि मोरिसकी आमाको निधन भयो । उनले सोचे कि यो कहानीको अन्त्य यहीं भयो । तर, उनले डीएनए टेस्टको सहारा लिने विचार गरे । एक कम्पनीले पूर्वज पत्ता लगाउने दाबी गर्दै आएको थियो । जब नतिजा आयो एक महिलाको बारेमा थाहा भयो । मोरिसले ती महिलालाई सोधे कि सन् १९६४ देखि १९६६ सम्म उनको परिवारको साथ कोही थाइल्यान्ड गएको थियो ।
यसबाट थाहा भयो कि पूर्वसैनिक इसाइया रोबर्टस त्यहाँ थिए । ती महिलाले २०१९ मा दुवैबीच फोनमा कुरा गराइन् । रोबर्टसका अरु तीन बच्चा पनि थिए । मोरिस– २०२२ मा आफ्ना ८५ वर्षीय पितासँग मिल्न अमेरिकाको अलाबामा गए ।
डीएनए टेस्टबाट थाहा भयो कि उनीहरूबीच ९९ दशमलब ६ प्रतिशत जेनेटिक म्याच भएको थियो । भ्वाइस अफ अमेरिकाका दिएको एक अन्तर्वार्तामा रोबोर्टसले भनेका थिए, “मलाई थाहा छ कि उ मेरो नै छोरो होला । म उसलाई अस्वीकार गर्दिन । म उसलाई स्वीकार गर्दछु । र, जिम्मेवारी लिन्छु । यसै वर्ष मोरिसले टीभीको आफ्नो करियर छोडिदिए । आफ्नो बाबुको साथ रहन अमेरिका गए । उनी आफनो नयाँ जीवनको भिडियो अनलाइनमा पोस्ट गरिरहन्छन् ।”
नाम पनि याद छैन
भिडियोमा मोरिसले आफ्नो पिताको गला लागेको देख्दा जेनीको आँखामा आँसु थियो । डीएनए टेस्टमा २०२२ मा उनलाई पनि आफ्नो बाबु्को बारेमा थाहा भएको थियो । यद्यपि, उनीहरू अझै एक अर्कासँग मिल्न पाएका छैनन् । उनी ७८ वर्षका छन् र अमेरिकी जेलमा सजाय काटिरहेका छन् । दुईबीच चिठी र फोटोमा बातचित भइरहेको छ । उनलाई थाइ महिला गर्भवती भएको थाहै थिएन । नाम पनि थाहा थिएन । जेनीलाई आफ्ना पिता भेट्ने रहर छ तर, के हुन्छ अझै थाहा छैन ।