site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्ट्राथफिल्डमा जे देखियो !
Siddhartha BankSiddhartha Bank

मेरा लागि विदेश यात्रा पानी पँधेरो हो भनिदिँदा फरक नपर्ला ! जलेश्वर, जनकपुर, सिरहा, वीरगन्ज क्षेत्रमा बाल्यकाल बिताएका मेरा लागि अथवा भनौँ हामीजस्तै अरूहरूका लागि विदेश यात्रा नौलो विषय होइन ।

हामी जलेश्वरवासीका लागि सीमापारिको भिट्ठामोड नै विदेश थियो । बेलाबेलामा सिनेमा हेर्न जाने सुरसण्ड, सीतामढी, जयनगर, मधुवनी, स्वास्थ्य उपचारका लागि राम्रो मानिएको गन्तव्य दरभंगा नै विदेश थियो ।

आज पनि वीरगन्जका कतिपय मानिस सामल खरिद गर्न रक्सौल पुग्छन् त कतिपय विराटनगरवासी जोगवनी । कतिपय भैरहवावासी सुनौली त कतिपय नेपालगन्जवासी रुपैडिया जाने गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

म आफैँ पनि विराटनगर जाँदा एकचोटि जोगवनी र नेपालगन्ज जाँदा रुपैडिया छिरेकै हुन्छु । दुई पैसा सस्तो पाइन्छ भन्ने जो लोभ छ मनमा । त्यसैले बेलाबेलामा त्यस क्षेत्रको भ्रमण गराइरहन्छ ।

त्यो क्षेत्र नेपाल होइन । भारत हो । र, भारत नेपालका लागि विदेश नै हो । यसअर्थमा हामीले विदेश यात्राको थालनी तोतेबोली नफुट्दै गरेका थियौँ भनिरहँदा अप्ठेरो मान्नु किन परिरह्यो र !

Global Ime bank

तराईतिर बस्नेहरूको दिनचर्या नै त्यस्तो हुन्छ । हिजोआज त धेरै पसलहरूले धेरै सामान भित्र्याएको पाइन्छ । तर, पाँच दशकअघि केही सरसामान किन्नुपर्‍यो कि विदेश नगई हुन्थेन ।

पटना, मुजफ्फरपुर, सीतामढी, लखनऊ, बनारस, पलिया, बहराइचजस्ता ठूला बजारमा गएर सामान किन्ने गरेको यिनै आँखाले देखेका हुन् ।

अझ हाम्रोतिर त उपचारका लागि लहरियासराय र दरभंगाका अस्पताल एक नम्बरमा गनिन्थ्यो । दिल्ली र बम्बई (अहिलेको मुम्बई) भ्याउन नसक्नेका लागि यिनै ठाउँ सर्वसुलभ थियो । त्यहीँका अस्पताल भेलोरभन्दा कम थिएन । दरभंगामा त मेडिकल कलेज पनि थियो, जहाँबाट धेरै नेपालीले मेडिकलको पढाइ गरे ।

साँच्चै भन्ने हो भने हामी त अभ्यास कापी किन्न पनि सुरसण्ड भ्याइदिन्थ्यौँ, दुईचार पैसा सस्तोको लोभमा । अनि, उब्रेको पैसा हाम्रा लागि सिनेमाको साथी र खाजाको खुराकी बन्थ्यो ।

यसरी हजारौँचोटि विदेश यात्रामा जाँदा पनि नेपाली भाषामा लेखिएको पसलको साइनबोर्ड मैले कतै देखिनँ । सीमावर्ती बजारका दोकानदारहरूले नेपालीमा बोले पनि, नेपाली नोट लिए पनि तिनका पसलको साइनबोर्ड नेपाली भाषामा लेखिएको थिएन । लेख्ने कुरा पनि भएन !

यसपटक भने समुद्रपारिको विदेशमा नेपाली भाषामा नै लेखिएको साइनबोर्ड हेर्ने मौका पर्‍यो । त्यो पनि अस्ट्रेलिया, सिड्नीको सबहब स्ट्राथफिल्डमा । देवनागरीमा लेखिएको यो बोर्डमा नजर पर्नासाथ मन पुलकित भयो ।

त्यो साइनबोर्ड जेठी छोरीले देखाएकी थिई, ‘ऊ त्यहाँ हेर्नुस् त पापा...’ भनेर ।

०००

जुन ५ तारिखको ब्रिसबेन । त्यस बिहान साढे १० बजेतिर जेटस्टार विमानको उडानमार्फत हामी ब्रिसबेनबाट सिड्नी ओर्लिएका थियौँ । सपरिवार । पारिवारिक भेटघाटसहितको घुमाइका लागि हाम्रो यात्रा केही दिनलाई त्यसतर्फ थियो ।

सिड्नी ओर्लिएउप्रान्त त्यहीँ रहेका आफन्तजनसँगको भेटघाटपछि कान्छी छोरीको होमबुशमा रहेको डेरामा पुग्यौँ । पुग्दा झमक्क साँझ परिसकेको थियो ।

केही बेरको बसाइ र तातो चियाको चुस्कीपछि छोरीहरूले स्ट्राथफिल्ड जाने कुरा गरे । थकाइ लागेको थियो, तथापि जाने निर्णय गरेँ । जब घुम्नै आइएको छ भने किन न घुम्ने !

होमबुशनजिकै रहेको स्ट्राथफिल्ड पुग्न धेरै समय लागेन । त्यहीँ अवस्थित एउटा मलको तीन तलामाथि गाडी पार्क गरेर हामी भित्र छिर्‍यौँ । त्यहाँका केही पसलहरू चहार्‍यौँ ।

छोरीहरू आफूलाई आवश्यक सामान किनिरहेका थिए । म भने मलभित्रको रमाइलो हेरिरहेको थिएँ । आफैँ सामान लेऊ, काउन्टरमा गएर त्यहाँ राखिएको कम्प्युटर स्क्यानरमा सामानको बारकोड आफैँ स्क्यान गर, लिएका सबै सामान स्क्यान गरिसकेर कुल रकम मोनिटरमा देखिएपछि डेविट कार्ड वा मोबाइलबाट रकम भुक्तानी गर !

त्यसमा नगद भुक्तानी गर्न सकिने व्यवस्था पनि रहेछ । तर, सजिलो कार्ड र मोबाइलबाटै रहेछ । कस्ताकस्ता बुढाबुढीले पनि मोबाइल ट्याप गरेर भुक्तानी गर्ने ! हरेक मानिस प्रविधिमैत्री हुने, कस्तो आनन्द !

त्यसपछि कम्प्युटरले आफैँ बिल प्रिन्ट गरेर बाहिर निकाल्छ । र, बिल लिएर खरिदकर्ता बाहिर निस्किन्छन् । बाहिर बसेको चेकरलाई बिल र सामान देखाउनुपर्छ । कति सजिलो !

यो रमाइलो आँखा नझिम्क्याइ हेरिरहन मन लाग्यो । हेरिरहेँ । मोबाइल वा कार्डले धोका दिएको मैले देखिनँ । यतिखेर भने मलाई सम्झना भयो, जलेश्वरमा केही महिनाअघि भोगेको एउटा घटना । जलेश्वरमा रहेका पाँचवटा विभिन्न बैंकको एटीएम मेसिनमा मैले डेविट कार्ड घोट्दा पनि त्यसले पैसा दिएन । केके केके भनिरह्यो ।

हामीकहाँ मलमै पनि कहिलेकाहीँ कार्डले पेमेन्ट मान्दैन । र, झारझुर गरेर नगद बुझाउनुपर्छ ।

खैर, हामी मलबाट बाहिर निस्कियौँ । अँध्यारो भइसकेको थियो । स्ट्राथफिल्ड पूरा झिलिमिली देखियो । त्यसो त दीपावलीको महिना थिएन, तर बत्तीहरूको उज्यालो र सडकबत्तीले पूरा झिलिमिली पारेको थियो त्यस इलाकालाई ।

त्यही मलबाट बाहिर निस्किएपछि जेठी छोरीले मलाई देखाएकी थिई एउटा पसलको साइनबोर्ड – जहाँ लेखिएको थियो, ‘भेजी सेडको मासु पसल’ । यो बोर्ड देखेपछि म दंग परेँ । अस्ट्रेलियामा पनि नेपालीमा साइनबोर्ड !

भेजी सेड नाम गरेको एउटा ग्रोसरी पनि छेवैमा रहेछ । तरकारीतिउनदेखि धेरै सामान पाइने त्यो दोकानमा नेपालीको पनि गतिलै जमघट थियो । कतिपय युवा त्यहाँ रहेको एउटा मेसिनबाट आफैँ चिया लिएर बाहिर निस्किँदै थिए । चिसोचिसो भएकोले चियाको चुस्कीको खोजी स्वाभाविक थियो ।

चिया पिउने रहर त मलाई पनि थियो, तर मेसिनको चिया, के कस्तो होला ? आफूलाई त मनग्य उमालेको कडा चिया चाहिने भएकोले मैले त्यतातिर खासै चासो दिइनँ ।

छोरीहरू भने हिङ खोज्न पसलपसल गइरहेका थिए । दुवै नेपालीको पसलमा पाइन्छ भन्ने सोचेर भेजी सेड ग्रोसरी छिरेका थिए । त्यहाँ पनि तिनले हिङ पाएनन् ।

हिङ कतै पाइएन । नेपालीको पसलमा न त इन्डियनकै । ‘अब हिङ कतै पाइँदैन,’ दुवै सुनाउँदै थिए ।

मलाई भने हिङ, त्यसको स्वाद र बास्नाले भन्दा नेपाली अक्षरमा लेखिएको साइनबोर्डले तानेको थियो । म घरीघरी त्यतै हेरिरहेको थिएँ, ‘भेजी सेडको मासु पसल’ ।

सायद छोरीहरूले बुझे मेरो मानसिकता । ‘हिँड्नुस् अगाडि, म केही देखाउँछु,’ छोरीले भनिन् ।

स्ट्राथफिल्डबीच बनेको ठूलठूला सडकहरूमा गाडीका ताँती बिनाहर्न एकनास गतिमा दौडिरहेका छन् । लाग्छ, कसैलाई हतारो छैन । न हर्नको कर्कश ध्वनि न त तुफानी गति । जबकि, कतैकतै तुफानी गतिका लागि तोकिएको छ – न्यूनतम गति एक सय किमि प्रतिघण्टा ।

पैदलयात्रुलाई जेब्राक्रसिङमा पनि कति सजिलो । वारपार गर्न आफैँले एउटा स्वीच थिच्नुपर्ने । अनि, समय मिलाएर ‘पार गर’ भन्ने संकेतचित्र देखिने । क्रसिङ पार गर्न बसेका हामीजस्ताले त्यही समयमा बाटो वारपार गर्ने ।

कतिपय ठाउँमा त जेब्राक्रसिङ मात्रै थियो । स्वीच थिएन । त्यस्तो ठाउँमा जब हामी जेब्राछेउ उभिन्थ्यौँ, चालकहरूले गाडी रोक्थे र ‘पारि जाऊ’ भन्ने संकेत गर्थे । धेरै ठाउँमा यस्तो पनि भोगेँ ।

हामीले पनि त्यसैगरी स्वीच थिचेर बाटो पार गर्‍यौँ । लगत्तै छोरीले एकातिर संकेत गरेर देखाई, ‘हेर्नुस् त !’

अलिक पर भित्तामा लेखिएको देखेँ, ‘शुभकामना’ । यो पनि नेपालीले चलाएको एउटा रेस्टुरेन्ट रेहछ, नेपाली खानाका परिकारहरू पाइने रहेछ । तिनले त्यस रेस्टुरेन्टका बारेमा केही बताए र लगत्तै देखाए एउटा अर्को बोर्ड – जहाँ अंग्रेजी भाषामा लेखिएको थियो, ‘मोमोचा’ ।

मोमो वा मोमोज लेखिएको भए मतलब हुन्थेन होला, तर मोमोचा लेखिएकोले त्यो नेपालीकै मःम पसल होला भन्ने लाग्यो । हो पनि रहेछ ।

मःम दोकान भएकोले मलाई त्यहाँ गएर एक प्लेट मोमोचा दाब्न मन लाग्यो । तर, केटाकेटीको रहर अर्कै थियो ।

साँझको त्यो समयमा हामी स्ट्राथफिल्डका सडकसडक चहार्दै हिँड्यौँ । अन्ततः नमस्ते रेस्टुरेन्टमा छिर्‍यौँ । यहाँ भने नमस्ते अंग्रेजीमै लेखिएको रहेछ । नेपालीमा बोर्ड लेखिएको थिएन ।

नमस्तेमा हामी छिर्दा त्यहाँका अधिकांश टेबल भरिएका थिए । कुनातिर एउटा टेबल खाली थियो । हामी त्यहीँ बस्यौँ ।

केटाकेटीले कुखुराको पांग्रा फ्राई खाने मन बनाएका रहेछन् । त्यसैले तिनले आफूलाई पांग्रा एक प्लेट र लाफिङ मगाए । केही समय लाग्यो पांग्रा आउन । लाफिङ भन्ने खान्की त केही बेरमै आइपुग्यो ।

लाफिङको नामै मन पर्दैन मलाई । त्यसैले मैले त्यो कहिल्यै चाखिनँ । बरु, दुईचार पिस पांंग्राका टुक्रा मुखमा हालेँ । र, एक ग्लास पानी खाएँ । 

छोरीहरू खानमा ध्यान दिन थाले । म खाली थिएँ । मेरो नजर यताउता जान थाल्यो । भरिएका टेबलहरूमा अधिकतर नेपाली नै थिए । त्यहाँ कोही मःम खाँदै थिए त कोही चाउमिन । केही युवा खुद्राखाद्री स्न्याक्ससँग बियर र वाइनको चुस्की लिइरहेका देखिए । त्यहाँ नेपाली बियर पनि पाइने रहेछ ।

करिब एक घण्टाजति हामी स्ट्राथफिल्डको रमझममा रमायौँ । भेटघाट, कुराकानी नभए पनि प्रशस्त नेपाली देख्यौँ । बाटोमा हिँड्दै तिनले गरेका कुरा सुन्यौँ ।

छोरीहरू भन्दै थिए, ‘यहाँ धेरै नेपालीको बसोबास छ । सुरुसुरुमा आउँदा नेपाली यहीँ ठोक्किन आइपुग्छन् । यहीँ पनि खोज्ने हो भने हामीले चिनेका धेरै नेपाली फेला पर्न सक्छन् ।’

यस्तैयस्तै कुरा गर्दै वरपरका केही ठाम घुमियो । र, सिमसिमे पानीमा सडकमा हल्लिँदै ज्यानमा गर्मी ल्याउने प्रयास गरियो ।

करिब डेढदुई घण्टापछि हामी होमबुशतिर लाग्यौँ ।

०००

भोलिपल्ट बिहान सवा दश बजेको सेन्ट्रल जाने एक्सप्रेस ट्रेन समाउन फेरि स्ट्राथफिल्ड रेल्वे स्टेसन पुग्यौँ । किनभने, हामीले ११ बजेको क्यानबेरा जाने बस भेट्नु थियो ।

ब्यागहरूसहित हामी रेल चढ्यौँ । सिट थिएन । तर, उभिने ठाउँ प्रशस्त थियो । त्यहीँ उभिएका थिए तीनचारजना नेपाली केटाहरू – जसको कुरा सुनेर कतिखेर सेन्ट्रल आयो, पत्तै भएन !

(क्यानबेरा, २०८० जेठ ३०)

                         
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement