ए क्षत्रिय आऊ
अब अबेर नगर
चलाऊ प्रथम तीर
निशाना बनाऊ सम्पूर्ण बाधकहरूलाई
जसले परदेशको जुठो खाएर
यो देशको भान्छा चलाउँछन् !
रक्षाको निशाना लगाऊ
यो देशको मौलिकताका धरोहरहरू–
आफ्नै उचाइमा कान्ति फैलाएको सगरमाथा,
शान्तिभूमिमा अशान्तिको साक्षी बसेको लुम्बिनी,
न्याय हराएरको सहरमा
अन्यायलाई टुलटुल हेरेका स्वयम्भूका आँखालाई
नदीनाला, पहाड अनि जंगललाई ।
नष्ट हून् सबै दैत्यहरू
तर, बचून् गुम्बा र चैत्यहरू
महल र झुपडीको दूरी होस् कम
कसैले मान्ने छैनन् गम ।
सोत्तर हून् टाउकेहरू–
कालो कोट लगाएर तराजुको पल्ला ढल्काउनेहरू,
सेतो कमिज लगाएर कसाई–कर्म गर्नेहरू,
कलम लिएर लाठीको भाषा बुझाउनेहरू,
भोट लिएर नोटको कारोबार गर्नेहरू,
युद्ध लडेर बुद्ध बन्न खोज्नेहरू
अनि,
नछुटून् बलि लिएर शान्तिको पाठ लगाउनेहरू ।
ए घटोत्कचपुत्र,
कति समय लाग्ला हँ ?
नरोकून् कृष्णले योपटक
निर्धोको पक्षमा लड्ने तिम्रो अठोट
फेरि मुखरित होस्
यसपटक कृष्णले बाँसुरी बजाऊन् डाँडामा बसेर
तिमीले तीर चलाउँदा
अग्नि र शिवका विशेष तीरहरूले
कोरून् नयाँ नेपालको भविष्य
जहाँ नेपाल होस् र हून् नेपाली मुटुहरू ।
(अस्ट्रेलिया)