तराईमा त्यसै पनि तापक्रम बढी हुने गर्छ । तर, पछिल्ला दिनहरूमा काठमाडौंमा पनि ३४.४ डिग्री सेल्सियस तापक्रम सामान्य लाग्न थालेको छ । किन यसरी तापक्रम बढिरहेको छ ? आमरूपमा दिइने 'रेडिमेड' जवाफ हुन्छ– ‘ग्लोबल वार्मिङ’ । यो जवाफ सबैको मुखमा छ । तर, यो हो चाहिँ ? यसबारे भने ज्यादै कमलाई मात्रै थाहा छ ।
यस विषयमा नेपालमा हालै सम्पन्न एक सम्मेलनमा भाग लिन बेइजिङबाट काठमाडौं आएका बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गत इन्स्टिच्युट अफ टिबेटन प्लेटो रिसर्चमा अनुसन्धानसम्बन्धी वैज्ञानिक डम्बरु बल्लभ (डीबी) कट्टेलसँग बाह्रखरीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय नेपालमा गर्मी बढ्दै जान थालेको हो ?
हो । विभिन्न कारणले गर्दा गर्मी बढ्दै गएको छ । विश्वव्यापीरूपमा नै यस्तो असर देखिइरहेको छ । त्यसैको असर नेपालमा पनि देखिन थालेको हो ।
भनेपछि यो विश्वव्यापीरूपमा नै देखापरेको असर हो ?
हो । विश्वव्यापीरूपमा नै देखिएको हो ।
यसलाई कम गर्न मिल्दैन ?
यसका लागि दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । त्यसैले तुरुन्तै घटाउन सकिँदैन ।
काठमाडौंमा चाहिँ किन धेरै गर्मी महसुस हुँदै छ ?
काठमाडौंमा पनि ग्लोबल वार्मिङको असर नपर्ने कुरा भएन । यहाँ कंक्रिटका जंगल बढे । रुखहरू कम भए । जमिनमा माटो छैन । दिनभरिको घामलाई सोस्ने कुरा केही छैन । माटो, सडक, सडकमा रहेका गाडीहरू सबैले घामलाई सोस्दैनन्, तिनले लिन्छन् र विस्तारै फर्काउँछन् । त्यसले गर्दा दिउँसोजस्तै राति पनि गर्मी हुने गरेको छ । जंगल र सोस्ने कुराहरू भइदिएको भए राति चिसो हुन्थ्यो । त्यो अवस्था पनि छैन । त्यसैले राति पनि अचेल जाडो हुँदैन, गर्मी नै हुन्छ । दिउँसोको गर्मी सडक, गाडीदेखि सबैले राति फर्काउने गरेका छन् । यस्तो असर विश्वका अन्य स्थानमा जस्तै काठमाडौंमा पनि देखिरहेको छ । अझ धुवाँ उडाउने गाडीले राजधानीमा यो मात्रालाई अझ बढाइरहेका छन् ।
वैज्ञानिकहरूले जेलाई पनि 'ग्लोबल वार्मिङ' भन्ने गरेको पाइन्छ । खास के हो यो ?
ग्लोबल वार्मिङ पृथ्वीकै समग्र तापक्रम हो । यो तातोपन लामो समयदेखि गुज्रिरहेको छ । यो बढ्दै गइरहेको छ । फोसिल फ्युलको ज्वलनका कारण यो सयौँ वर्षदेखि बढ्दै गइरहेको छ ।
नेपाल त हिमाल भएको देश, गर्मी अलि कम हुनुपर्ने होइन ?
हिमालमा पनि तातोले हिउँ पग्लिँदै गएको छ । बाँकी रहेको हिउँले पनि आकाशबाट आएको तातोपनलाई सोस्दैन, फर्काइदिने गरेको छ । घामको तातोलाई हिउँले पनि परावर्तन गर्ने गरेको छ । त्यसैले हिमाली देशमा पनि असर देखिन छोडिसक्यो ।
कसरी यस्तो अवस्था आयो ?
मुख्य तीन कुरा छन् । पहिलो ग्लोबल वार्मिङ बढ्यो । युरोप र पश्चिमा मुलुकमा जंगल नासिए । कोइलाको धेरै प्रयोग बढ्यो । अर्थात्, फोसिल फ्युलको प्रयोग अधिक भयो ।
दोस्रो, वन ध्वस्त पारिए । निर्माणको क्रममा वन जंगल विनाश गरिएका छन् । त्यसले गर्दा अप्ठेरो पर्दै गयो । तेस्रो कार्बनडाइअक्साइडको सन्तुलन गर्ने स्रोतको अभाव भयो । त्यसका लागि वन विनाशलाई रोक्दै वृक्षारोपण गर्नुपर्छ । पुनर्नवीकरणीय ऊर्जा प्रयोग गर्नुपर्यो । फोसिल (जीवाश्म) ऊर्जाको प्रयोग कम गर्नुपर्यो । त्यस्तो गरेमा सुधार हुन सक्छ ।
यो नेपालको मात्रै गल्तीले होइन, त्यसो भए ?
होइन । अरूको हात छ, नेपाल भोग्न बाध्य छ । नेपालमा पनि केही कमी कमजोरी हुन सक्छन्, त्यसमा सुधार गर्नुपर्छ ।
चीनमा पनि यस्तो समस्या छ ?
चीनले केही सन्तुलन गरिरहेको छ । उसले फोसिल इन्धन कम प्रयोग गरिरहेको छ । पुनर्नवीकरणीय ऊर्जा प्रयोग गरिरहेको छ । वन जोगाउने र वृक्षारोपण गर्ने काम गरिरहेको छ । त्यसैले नेपालको भन्दा त्यहाँ सुधार देखिन्छ ।
भनेपछि नेपालमा बढेको गर्मी अहिले नै केही गरेर पनि कम भइहाल्दैन ?
हुँदैन । त्यसमा दीर्घकालीनरूपमा नै हामीले काम गर्नुपर्छ, संसार नै लाग्नुपर्दछ । यस्तो नतिजा आउनुमा हाम्रो भन्दा अरूको गल्ती बढी जिम्मेवार छ ।
अरूले गरेको गल्तीको परिणाम हामी भोग्दै छौँ । नेपालले के गर्न सक्छ ?
नेपाल सरकारले आगामी दिनमा सुधारका लागि कदम चाल्न सक्छ । जलवायु परिवर्तनलाई जोड दिएर कार्यक्रमहरू ल्याउन सकिन्छ । त्यसले अवस्थालाई अझ नराम्रो बनाउनबाट रोक्न सक्छ ।