site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विकृति हटाउन कम्मर कस्दैछ प्रतिष्ठान ! दोहोरी हो भनेर दिउँसोलाई राति भन्न पाइँदैन
SkywellSkywell

काठमाडौं । ‘स्वतन्त्रताका नाममा हाम्रो वैदिक सनातन परम्परा, संस्कार, कला, संस्कृति मास्न उद्दत, उदण्ड दुई/तीन हल मनुवा भाडाका लेखनदासका भरमा छाती पिटेको देख्दा ताजुब लाग्छ । संस्कृतिसँग हाम्रो धर्म जोडिएको छ, मर्म जोडिएको छ, कर्म जोडिएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा मंगलबार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापाले लेखिन्, ‘हुँदाहुँदा तिम्रो प्रहार भगवान्‌को स्तुतिगान भजनकीर्तनसम्म पुग्ला...। हेरी बसौँ ? सुनी बसौँ ? यस्तो गम्भीर विषयमा लाजनीति किन ?’

रीताले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेको एक घण्टा बित्न नपाउँदै प्रतिष्ठानका महासचिव शिव हमालले पनि त्यस्तै आशयको स्ट्याटस लेखे । उनले लेखे, ‘आफ्नी माता, मातृभूमि, मातृसंस्कृतिमाथिको अत्याचार कुनै पनि हालतमा सहन सकिँदैन । हामी सुधार्न हिँडेका र तिमी उधार्न हिँडेकाहरूको गन्तव्य कहिले एक हुन सक्दैन । सक्छौँ भने बेलैमा सही बाटो पहिलाऊ साथीहरू ।’

शिवको पोस्टको कमेन्टमा ताराबहादुर राउतले लेखेका छन्– नांगै हिँड्न पाउनुपर्छ भन्नेसँग त के लाग्छ र भाइ ! तर, प्रतिष्ठानको आफ्नो कदम सही छ । यो समाज भनेको समुद्र हो । हामी माछा समुद्रसँग च्यालेन्ज गरेर माछा कतिसम्म रहन्छ भन्ने हो ।

Dabur Nepal
NIC Asia

लोकदोहोरीको क्षेत्रमा को हिँड्न खोज्यो ‘नांगै’ ? कसले बोल्यो लोकसंस्कृतिमाथि धावा ? जसका कारण प्रतिष्ठानका पदाधिकारी कहिले गृहमन्त्रीलाई भेट्न त कहिले संस्कृति मन्त्रालय पुग्छन् ।

लोकदोहोरीका नाममा भड्किला गीत ल्याउनेक्रम बढेपछि प्रतिष्ठानले त्यस्ता कलाकारलाई सचेत गराउने प्रयास गरेको थियो । तर, कतिपय कलाकारले उल्टै प्रतिष्ठानका पदाधिकारीलाई चुनौती दिए । त्यसपछि प्रतिष्ठानले प्रशासनसँग समन्वय गर्ने प्रयास गरिरहेको छ । यसैक्रममा प्रतिष्ठानका पदाधिकारी गृहमन्त्री रवि लामिछानेसँग पनि भेट गर्न पुगेका थिए ।

अपाच्य शब्द राखेर दोहोरी गाउने, दोहोरीमा ‘र्‍याप’ र ‘ब्याटल’ मिसाउनेजस्ता कार्यले यसको मर्ममै प्रहार भएको प्रतिष्ठानले जनाएको छ । यस्ता गीत गाउनेलाई सचेत गराउने अभियानमा आफूहरू रहेको प्रतिष्ठानकी अध्यक्ष रीता बताउँछिन् ।

लोकदोहोरी गायक–गायिकाको आत्मसम्मानमै ठेस पुर्‍याउने काम भएकाले आफूहरू लोककला तथा संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जुटेको उनी बताउँछिन् । २०औँ वर्ष आफू लागेको क्षेत्रमा छु भन्दा आत्मसम्मानमा नै चोट पुग्ने अवस्था आएको उनको भनाइ छ ।

सुन्नै नसकिने दोहोरी : कारबाहीका लागि सरकारी संयन्त्रको पर्खाइमा प्रतिष्ठान

उनका अनुसार, हालसम्म १२ कलाकारलाई लोकदोहोरी गीतमा किन विकृति भित्र्याएको भन्दै स्पष्टीकरण सोधिएको छ । तीमध्ये नौजनाले गल्ती भएको भन्दै लिखित स्पष्टीकरण बुझाएका छन् । “नौजनाले कार्यालयमै आएर गल्ती भयो, अब यस्तो गर्दैनौँ भन्नुभएको छ,” अध्यक्ष रीता भन्छिन्, “बाँकी तीनजनाको स्पष्टीकरण कुरिरहेका छौँ ।”

तारा थापा, सागर बिसी, सीताराम परियार, शर्मिला रायमाझी, सुशीला लामा, नवराज काप्री (धादिङे भाले), शंकर सुनार, सलिना नेपाली, विशाल सोनी, गोपाल जिसी, नवीना सिलवाल (खुइली) र रिया खड्कालाई प्रतिष्ठानले स्पष्टीकरण सोधेको थियो । यीमध्ये जिसी, सिलवाल र खड्काले स्पष्टीकरण दिएका छैनन् ।

यही सन्दर्भमा बालचन्द्र बराललाई प्रतिष्ठानले कारबाही गरिसकेको छ । बराल प्रतिष्ठानका केन्द्रीय सदस्य समेत हुन् । उनलाई ६ महिना साधारण सदस्य समेत नरहने गरी प्रतिष्ठानले कारबाही गरेको हो ।

इन्द्र जिसी र शीला आलेलाई पनि प्रतिष्ठानले सचेत गराइसकेको छ । अग्रज भएर पनि गीतमा आफ्नो व्यक्तित्वअनुसारको शब्द चयन र प्रस्तुति किन नदिएको भन्दै उनीहरूलाई प्रतिष्ठानले सचेत गराएको हो । अग्रज कलाकारले नै अपाच्य र असभ्य शब्द प्रयोग गर्दै लोकदोहोरी गाउन थालेपछि झन् ठूलो समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको सचिवालय बैठक बसेर अब कसरी अगाडि बढ्ने निर्णय गरिने उनले बताइन् । स्पष्टीकरण नदिनेलाई कारबाहीका निम्ति राज्य प्रशासनलाई आग्रह गरिने उनको भनाइ छ ।

प्रतिष्ठान सामाजिक संस्था भएकाले कोहीमाथि कारबाही गर्ने अधिकार नरहेको तर प्रशासनसमक्ष त्यस्तो आग्रह गर्न सक्ने उनको जिकिर छ । “हामी स्वयंलाई कारबाही गर्ने अधिकार छैन । तर, सामाजिक संस्था भएकाले यो यो कारणले उहाँहरूले लोकगीतमा विकृति भित्र्याउनुभयो भनेर प्रशासनलाई बुझाउन सक्छौँ,” उनी अगाडि थप्छिन्, “राज्यले के कारबाही गर्ने हो, गर्छ ।”

समाज भाँड्ने कार्य गर्नेलाई यसै छोड्न नसकिने उनको चेतावनी छ । प्रतिष्ठान लोकदोहोरीलाई विकृति र विसंगतिमुक्त बनाउने अभियानमा रहेकाले यसलाई आन्दोलनकै रूपमा अगाडि बढाइने अध्यक्ष रीता बताउँछिन् ।

“हाम्रो कला–संस्कृति हो, यसलाई जगेर्ना गर्नुपर्छ भन्दा उल्टै हामीलाई ‘न्यायालय हौ ?’ भनेर च्यालेन्ज गर्नेहरूबाट हामी डराएर भाग्दैनौँ,” उनी भन्छिन्, “हामी व्यक्तिगत स्वार्थका लागि हिँडेका हैनौँ । देशकै कला–संस्कृतिको जगेर्ना गर्ने हाम्रो उद्देश्य हो । त्यसैले हामी विचलित हुने छैनौँ ।”

प्रतिष्ठानका पदाधिकारीले गृहमन्त्री लामिछानेलाई भेटेर दोहोरीसाँझ सञ्चालकलाई प्रहरी प्रशासनमार्फत सचेत गराइदिन आग्रह गरेका थिए । दोहोरीका नाममा ब्याटल र ¥याप गाउन रोक लगाउन उनीहरूले गृहमन्त्रीलाई अनुरोध गरेका थिए ।

प्रतिष्ठानका पदाधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत पुगेर विकृति न्यूनीकरणका निम्ति ध्यानाकर्षण गराएका थिए ।

दोहोरीसाँझ सञ्चालकले कलाकारलाई दोहोरीमा जबरजस्ती र्‍याप र ब्याटल मिसाउन लगाउने गरेको प्रतिष्ठानको बुझाइ छ । र्‍याप र ब्याटल नमिसाए दोहोरीसाँझ नै नचल्ने भन्दै सञ्चालकले त्यस्तो दबाब दिने गरेको प्रतिष्ठानले जनाएको छ । यसले लोकदोहोरीको मर्ममै प्रहार गरिरहेको भन्दै प्रतिष्ठानका पदाधिकारी सरकारी निकायमा पुगेका थिए ।

दोहोरी ‘फोहोरी’ भएपछि गृहमन्त्री गुहार्दै लोक दोहोरी प्रतिष्ठान 

गृहमन्त्री लामिछानेले संस्कृति र सञ्चार मन्त्रालयसँग समन्व गरेर संयन्त्र बनाउने बताएका थिए । उक्त संयन्त्रलाई प्रतिष्ठानले पनि सहयोग गर्ने सहमति भएको थियो ।

तर, तत्काललाई संयन्त्र बनाउनुभन्दा प्रतिष्ठान आफैँले सक्दो प्रयास गर्न गृहले सुझाव दिएको छ । प्रतिष्ठानको प्रयास सफल नभए सरकारी संयन्त्र बनाएर अगाडि बढ्ने गृहले आश्वासन दिएको छ । लोक तथा दोहोरी देशको कला, संस्कृति र संस्कारको ऐना र पहिचान भएकाले यसको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेकामा प्रतिष्ठानले जोड दिएको छ ।

लोकदोहोरीमा केके शब्द प्रयोग गर्न पाइन्छ र के पाइँदैन भनेर प्रतिष्ठानले मापदण्ड बनाएको छैन । राज्यका निकायले पनि कुनै मापदण्ड तोकेको छैन । 

प्रतियोगितात्मक दोहोरीमा लैंगिक विभेद, राजनीतिक पक्षधरता, रंगभेद, जातीय र शारीरिक भेदभाव गर्न पाइँदैन भन्ने नियम हुन्छ । लाइभ तथा रेकर्डेड दोहोरीमा पनि त्यही नियम नै लागु गर्नुपर्ने प्रतिष्ठानका महासचिव हमाल बताउँछन् ।

“लोकदोहोरीमा विषयान्तर हुन पाइँदैन । दिउँसो घाम लागिरहेको सन्दर्भमा दोहोरी छ भने त्यसलाई विषयान्तर गरेर राति भन्न पाइँदैन भन्ने नियम हुन्छ । यिनै नियमका आधारमा प्रतियोगिता सञ्चालन गरिन्छ,” उनी भन्छन्, “यिनै नियमभित्र गएर अपाच्य शब्द प्रयोग गर्न नपाइने र मौलिकतामा रहनुपर्ने नियम हुन्छ । लोक तथा दोहोरीभित्र र्‍याप, ब्याटल, अपाच्य शब्द, अस्वाभाविक प्रस्तुतिकरण हुनु हुँदैन भन्ने पुरानै नियम हो ।”

लोकगीतमा शृंगार आवश्यक रहेको तर सीमा नाघ्न नहुनेमा उनको जोड छ । गीतमा मनोरञ्जन र सन्देश पनि हुनैपर्ने भन्दै उनी शृंगारका नाममा उच्छृंखलताले प्रश्रय पाउन नहुने बताउँछन् । “शृंगार त हाम्रा गीतमा पनि छ, तर शृंगारका नाममा गलत हर्कत गर्नु भएन । यसमा हाम्रो आपत्ति हो,” उनले अगाडि थपे ।

प्रतिष्ठानले जिल्ला तथा प्रदेशमा भड्किला लोकदोहोरी गाउने गायक–गायिकालाई कारबाही गर्न सम्बन्धित शाखामा परिपत्र गरिसकेको छ । केन्द्रले कारबाही गर्दा हस्तक्षेपजस्तो हुने भएकाले प्रतिष्ठानले शाखामा परिपत्र गरेको हो । सम्बन्धित शाखाले छानबिन गर्ने र स्पष्टीकरण लिने काम गरिरहेको महासचिव हमालले बताए ।

कारबाहीमा परेकालाई प्रतिष्ठानले आफ्नो तर्फबाट उपलब्ध गराइने सेवा सुविधा दिँदैन । “प्रतिष्ठानभन्दा बाहिर रहेका साथीहरूलाई हामीले दिने सेवा सुविधा, सिफारिस, सहजीकरण तथा अन्य सहयोग गरिने छैन,” उनले भने । केहीले स्पष्टीकरण बुझाइसकेका र नबुझाउनेलाई प्रतिष्ठानले दिने सुविधाबाट वञ्चित गरिने उनको भनाइ छ ।

लोक तथा दोहोरीमा देखिएका विकृति न्यूनीकरणका लागि प्रतिष्ठानले राज्यका तीनै तहमा ध्यानाकर्षणपत्र बुझाइसकेको छ । नगरपालिका संघमा पनि प्रतिष्ठानले ध्यानाकर्षणपत्र बुझाएको छ । अधिकांश मेला–महोत्सव नगरपालिकाअन्तर्गत हुने भएकाले यसको न्यूनीकरणमा उसले भूमिका खेल्न सक्ने प्रतिष्ठानको निष्कर्ष छ ।

गाउँपालिका महासंघमा पनि पुगेर प्रतिष्ठानका पदाधिकारीले मेला–महोत्सवमा कलाकारका गीत र उसको प्रस्तुति हेरेर मात्र बोलाउन आग्रह गरिसकेका छन् । आफ्नो क्षेत्रका दोहोरीसाँझ र सञ्चालकलाई विकृति फैलाउनबाट रोक्न प्रतिष्ठानले गाउँपालिका संघको ध्यानाकर्षण गराइसकेको छ । “हामी सातवटै प्रदेश प्रमुखकोमा प्रदेश सचिवमार्फत ध्यानाकर्षणपत्र बुझाउन जाँदै छौँ,” हमालले भने ।

पछिल्लो समय युट्युबले रोयल्टी घटाएको छ । त्यसैले भ्युज बढाउनै कतिपय कलाकारले उच्छृंखल दोहोरी गाएर युट्युबमा अपलोड गर्ने गरेका छन् ।

अपाच्य शब्द, शैली र भिडियोका कारण लोक तथा दोहोरीको आलोचना हुन थालेपछि प्रतिष्ठानले सभ्य हुनुपर्नेमा जोड दिइरहेको छ । प्रतिष्ठानमा लोक तथा दोहोरीका कलाकार आबद्ध छन् । ७७ वटै जिल्लामा शाखा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu