site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेकपा एसको नेतृत्व दौडमा माधवकुमार नेपालसँगै को–को छन् ?
SkywellSkywell

काठमाडौं । कुनै ठूलै राजनीतिक उथलपुथल  नभए नेकपा (एकीकृत समाजवादी)ले मध्यअसारमा पार्टीको महाधिवेशन गर्नेछ ।

महाधिवेशन असार १६–२० गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा गर्ने तय भएको छ । महाधिवेशनका लागि हल बुकिङदेखि तयारीका काम भइरहेको जानकारी पार्टी केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले दिए । 

“प्राकृतिक रुपमा ठूलो प्रकोप नभएमा महाधिवेशन तोकिएकै समयमा हुनेछ । हल बुकिङ्गदेखि तयारीका काम भइसकेको छ,” उनले बाह्रखरीसँग भने ।

Dabur Nepal
NIC Asia

एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि तलैबाट चुनेर आउनुपर्ने प्रावधान राखेको छ । असार ५ गते प्रतिनिधि चुन्ने तयारी छ ।  “प्रतिनिधि कहिले चयन गर्ने भन्ने निर्णय त भइसकेको छैन । प्रतिनिधि चुन्न निर्देशिका जारी गर्दैछौं,” उनले भने । 

१६५ निर्वाचन क्षेत्रबाट प्रतिनिधि चुनिनेछ । केन्द्रीय कमिटी, विभाग, आयोग, जनसंगठन, प्रदेशमा पनि निर्वाचन क्षेत्र निर्धारण हुन्छ । केन्द्रीय सदस्यले जेठ मसान्तभित्रमा कुन निर्वाचन क्षेत्रमा आफ्नो नाम राख्ने भन्ने छान्न पाउने बताइएको छ । 

महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा फरक मत देखिने सम्भावना कम रहेको नेताहरूले बताएका छन् । 

नेतृत्वका विषयमा भने नेताहरूले औपचारिक रुपमा मुख खोलिसकेका छैनन् । तथापि पार्टीमा आन्तरिक र राजनीतिक वृत्तमा नेतृत्वको विषयमा विभिन्न कोणबाट चर्चा हुन थालेको छ ।
 
माधव–झलनाथ प्रतिष्पर्धा

पार्टी नेताहरूका अनुसार, चुनावी प्रतिस्पर्धा गर्नेगरी पूर्वप्रधानमन्त्रीद्वय तयारीमा जुटेका छन् ।  अध्यक्ष माधव नेपाल कुनै पनि हालतमा पार्टी नेतृत्व छाड्न तयार छैनन् ।  आफूले विद्रोह गरेर पार्टी बनाएकाले आफूबाहेक अरुले हाँक्न सक्ने अवस्था नरहेको निष्कर्षमा उनी छन् । 

त्यसका लागि टक्कर दिने नेता हुन्, ‘सम्मानित नेता’ झलनाथ खनाल । ‘सम्मानित नेता’ खनाल पनि नेतृत्वका लागि प्रयासरत छन् ।  माधवको नेतृत्वमा विद्रोह भएको भए पनि पार्टी बन्न नसकेको निष्कर्षमा उनी छन् । 

पार्टीको सिद्धान्त निर्माणमा खनाल हाबी भएको चर्चा छ ।  सरकार गठबन्धनका सन्दर्भमा माधवकुमार नेपाल दक्षिणपन्थी शक्तिसँग नजिक रहेको र खनाल कम्युनिस्ट पार्टीको एकताको पक्षमा रहेकाले त्यो शक्ति नै बलियो रहेको निष्कर्षमा खनाल पक्ष छ ।
 
“अध्यक्ष दक्षिणपन्थी शक्तिसँग गठबन्धन गर्न नजिकिएको देखिँदै आएको छ । कम्युनिस्ट पार्टीको सरकारको पक्षमा खनाल कमरेड हुनुहुन्छ,” खनाल निकट नेता भन्छन्, “त्यो पक्ष पार्टीमा बलियो छ । त्यसैले चुनाव लड्ने मुडमा उहाँ हुनुहुन्छ ।”

पार्टीका महासचिव घनश्याम भुसाल पनि अध्यक्ष बन्नेगरी ‘लबिङ’मा छन् । तर, नेपाल र खनालबीच प्रतिस्पर्धा भएमा भुसाल चुनाव नलड्ने नेताहरू बताउँछन् । त्यसो भएमा उनी खनालको पक्षको महासचिव रहने आकलन छ । 

उता, माधव पक्षबाट उपमहासचिव जगन्नाथ खतिवडाले आफूलाई महासचिवको रुपमा अघि सारिरहेका छन् । पार्टी जीवनमा सँगै रहेर पनि भिन्न रहँदै आएका माधव–झलनाथबीच पार्टीमा चुनावी प्रतिस्पर्धा भएको छैन । महाधिवेशनमा भएमा पहिलो प्रतिष्पर्धा हुनेछ ।

दोस्रो विकल्प : झलनाथले घनश्याम अघि सार्ने 

आफ्नै गृह जिल्ला इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमै एकीकृत समाजवादीका उमेदवारले पाएको भोट हेर्दा झलनाथ महाधिवेशनको उमेदवार बन्नेमै एकथरीको आशंका छ ।  उता राजनीतिक वृत्तमा पुस्तान्तरणको चर्चा पनि छ । प्रतिनिधि छनोटमा हाबी हुन नसके झलनाथले आफू चुनाव नलड्ने र अर्का पात्र खडा गर्ने विकल्पमा छलफल भइरहेको उक्त पक्षको भनाइ छ । 

त्यसका लागि खनालले भुसाललाई अध्यक्षको रुपमा अघि सार्ने सम्भावना रहेको स्रोत बताउँछ । भुसाललाई अघि बढाउँदा निर्वाचन पेचिलो बन्ने र नयाँ सन्देश प्रवाह हुने भएकाले उक्त विकल्पको पनि खोजी भइरहेको एक नेताले दाबी गरे । 

तर, भुसालले आफू के गर्ने भन्ने स्पष्ट पारिसकेका छैनन् । 

तेस्रो विकल्प : चुनाव नै नलड्ने 

खनालसँग तेस्रो विकल्प हो, माधव नेपालसँग आत्मसमर्पण गर्ने । केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालले सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

पार्टीका कतिपय नेता भने चुनाव नै नहुने दाबी गर्छन ।  नेतृत्वमा सर्वसम्मत् हुने अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई नै महाधिवेशनले अनुमोदन गर्ने दाबी उनीहरूको छ ।  पार्टी विधानमा वरिष्ठ नेता राखिएकाले त्यसमा झलनाथको व्यवस्थापन हुने बुझाई छ । 

संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता मेटमणि चौधरी महाधिवेशनले सर्वसम्मत् नेतृत्व चयन गर्ने बताउँछन् । “महाधिवेशनबाट सर्वसम्मत् चयन हुन्छ । चुनाव हुँदैन,” उनले बाह्रखरीसँग भने । 

उनले नेपाल सर्वसम्मत् रुपमा अध्यक्ष हुने बताए । पार्टीका केन्द्र्रीय सदस्य सुदेश पराजुली पनि महाधिवेशनले सहमतिमै नेतृत्व टुंगिने बताउँछन् ।उनले एमाले विभाजनको नेतृत्व नेपालले गरेकाले उनी नै फेरि सर्वसम्मत् अध्यक्ष बन्नुपर्ने बताउँछन् । 

“जुन ढंगको विद्रोह भयो पार्टीको नेता पनि माधव नेपाल हुनुभयो । विद्रोहको विचारको नेता उहाँ नै हुनुभयो,” उनी भन्छन्, “महाधिवेशनले विद्रोहको नेता र विचारलाई पारित गनुपर्छ । नेता,  आमकार्यकर्ताको कुरा पनि त्यही छ । विद्रोह गरेको लामो भएको छैन । विद्रोहको पुष्टि गर्न पनि सोही नेतृत्व अनुमोदन गरेर लिएर जानुपर्छ भन्ने छ ।”

दोस्रो तहका अरु नेता भने उपाध्यक्ष, महासचिव, सचिवका आकांक्षी नेताहरू भने माधवलाई रिझाउन लागि व्यस्त छन् । सर्वसम्मत रुपमा महाधिवेशन भएमा आफूलाई सुरक्षित गर्न नेताहरूको दौडधुप देखिएको छ । 

खनाल–नेपाल चुनाव नलडेको विगत 

नेपाल र खनालबीचको टकरावपूर्ण सम्बन्धले पाँच दशक पार गरिसकेको छ ।  ०३२ सालमा कोअर्डिनेशन केन्द्र (कोेके) को संस्थापक ८ नेतामध्ये नेपाल–खनाल पनि हुन् । नेपालले खनाललाई विविध ठाउँमा अघि सार्दै आएका छन् । 

०३९ सालमा पार्टीको महासचिव बनाउन पनि नेपालले नै खनाललाई अघि सारेका थिए ।  त्यतिबेला सिपी मैनालीलाई महासचिवबाट हटाइएको थियो ।  तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि भने नेपाल–खनाल टक्कर सुरु भएको थियो । 

तर, १५ वर्ष नेपालले पार्टीको नेतृत्व गरे । त्यतिबेला खनालले आफू नेतृत्वमा आउने प्रयत्न गरे, तर सकेनन् । तर, ०६४ को निर्वाचनमा हारको नैतिक जिम्मेवारी लिँदै नेपालले राजीनामा दिएपछि खनालले महासचिवको जिम्मेवारी पाएका थिए ।

आँठौं महाधिवेशनमा नेपालले आँट नगरेपछि खनाल केपी शर्मा ओलीलाई पराजित गर्दै अध्यक्ष बनेका थिए । उनीहरूबीच मतभिन्नता रहे पनि सँगै रहँदै अघि बढेका छन् । 

त्यस्तै, माओवादीका अध्यक्ष पुष्पकमल दाहालको सरकार ढलेपछि २०६६ जेठ ११ गते नेपाल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने ।  तर एमालेकै असहयोग कारण नेपाल नेतृत्वको सरकार ढल्यो । सरकार ढाल्न खनालकै भूमिका रहेको थियो ।
 
सरकार ढालेर माओवादीको समर्थनमा खनाल २०६७ माघ २३ गते प्रधानमन्त्री बनेका थिए । विसं २०७० मा भएको संविधानसभा दोस्रो निर्वाचनमा एमाले दोस्रो दल बनेको थियो । त्यतिबेला एमालेका अध्यक्ष खनाल थिए । 

संसदीय दलको नेता छान्ने चुनावमा भने खनाल र तेस्रो वरियतामा रहेका नेता ओलीबीच प्रतिस्पर्धा भयो । अध्यक्षलाई हराउँदै ओली दलका नेतामा चुनिएका थिए । खनाललाई नेपालले नै संसदीय दलको उमेदवार बनाएका थिए । 

२०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा नेपाल र ओलीबीच प्रतिस्पर्धा भयो । नेपाललाई हराउँदै अध्यक्षमा ओली चुनिए । नेपाललाई खनाल पक्षका केही नेताले भोट दिएनन् । त्यसो त, एमाले र माओवादीबीच एकतापछि बनेको नेकपामा नेपाल वरिष्ठ नेता बनेका थिए ।  

तर, खनालले त्यसमा असहमति राख्दै आएका थिए । ओलीले नेपाललाई वरिष्ठ नेताबाट हटाएर खनाललाई बनाउने प्रस्ताव समेत गरेका थिए । तर, नेकपा विवादमा खनाल–नेपालसँगै एक रहे । तत्कालीन बहुमत रहेको समूह अर्थात् प्रचण्ड–नेपाल समूहमा नै रहे । 

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई पूर्व–अवस्थामा फर्काइदिँदा खनाल–नेपाल एउटै समूहमा रहे । २०७८ भदौ २ गते एमाले विभाजन भयो । माधव नेपाललाई उनी निकटस्थ नेताहरूले साथ दिएनन् । 

तर, एकीकृत समाजवादी बनाउँदा खनालले माधवलाई साथ दिए । दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनालले पार्टी विभाजनलाई सदर गरेका थिए ।  त्यसयता पार्टीमा भिन्नता राख्दै आए पनि खनालले नेपालको साथ छाडेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu