site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीनिकट युवा संघमा माधव–झलनाथ पक्षको विवाद चर्कियो 

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)को युवा संघमा विवाद चर्किएको छ । युवा संघका सह–संयोजक नितेश पौडेलले शनिबार राष्ट्रिय भेला गरी समानान्तर कमिटी निर्माण गरेपछि विवाद फेरि चर्किएको हो । 

जसमा संयोजक पौडेल र सह–संयोजक फुर्वा लामालाई बनाइएको छ । कमिटी प्रणालीमा नेतृत्व नचलेको आरोप लगाउँदै पौडेल पक्षले छुट्टै भेला गरेको हो । समानान्तर कमिटी बनेपछि युवा संघका संयोजक कृष्णकुमार विश्वकर्माले नेताहरू पौडेल, रोशन थापा र लामालाई कारबाही गरेका छन् । आउँदो असार १६–२० मा तय भएको महाधिवेशन भाड्नका लागि अराजकता सिर्जना गर्न खोजेको आरोप विकको छ ।

Argakhachi Cement Island Ad

“...गम्भीर परिस्थितिमा संघका सहसंयोजकसहित केही अगुवा कमरेडहरूको अगुवाइमा ‘कथित राष्ट्रिय भेला’ गरी संगठनभित्र अराजकता सृजना गर्ने उदेश्य राख्दै पार्टी महाधिवेशन भाड्ने ‘दक्षिणपन्थीहरूको मतियार’को रूपमा प्रकट हुन खोजेको देखिन्छ । संगठनको नियमित जीवनमा पटक–पटक यो किसिमको अराजकता देखाइ रहँदा पनि संगठनले कुनै कारबाही गरेन बरु सच्चिनलाई धेरै पटक अवसर दियो । तर, उल्टै संगठनको गरिमामाथि नै धावा बोल्ने गरी गरिएको यो पछिल्लो हर्कत माफी योग्य रहेन । व्यक्ति  संगठनको मातहत हुन्छ । बैठक, भेला, सम्मेलन र नेतृत्व छनोटको विधि हुन्छ तर, त्यो सबै प्रक्रियालाई लत्याउँदै गरिएको अक्षम्य हर्कतको कारण संघको आकस्मिक कार्यालय कमिटीको बैठकले क. नितेश पौडेल, रोशन थापा र फुर्वा लामालाई संगठनको विधानको धारा १०.३ को उपधारा ख र च बमोजिम संगठनको सबै जिम्मेवारीबाट निष्कासित गरिएको यस प्रेस विज्ञप्तिमार्फत सबैमा जानकारी गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै, पार्टीका केन्द्रीय सदस्य तथा संघका सल्लाहकार समितिका सभापति हस्तबहादुर शाहीले सो भेला गर्न प्रत्यक्ष रूपमा प्रोत्साहन गरेको र कार्यक्रममा सहभागी भएको भन्दै उनलाई कारबाही गर्न माग समेत गरेका छन् । 

युवा संघका सह–संयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् । संयोजक विक सम्मानित नेता झलनाथ खनाल निकट हुन् । सो विषयमा गएको भदौमा पनि विवाद भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्