site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यमनमा घातक आक्रमणपछि हुथी समूहले गर्‍यो अमेरिकी जहाजमा हमला
तस्बिर : एपी ।

साना (यमन) । यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लालसागरमा अमेरिकाको जहाजमा मिसाइल प्रहार गरेको छ ।

यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार आइसेनहावर जहाजमा आक्रमणको घोषणा गरेका थिए ।

हुथी नियन्त्रित च्यानल अल मासिराह टेलिभिजनले बिहीबारको आक्रमणको नतिजा खुलासा गर्दै होदेइदाहमा घाइते नागरिकको उपचार भइरहेको फुटेज प्रसारण गरेको थियो । उक्त आक्रमणमा कम्तीमा ४२ जना घाइते भएका बताइएको छ ।

“अमेरिकी–बेलायती आक्रमणले हामीलाई प्यालेस्टाइनको समर्थनमा हाम्रो सैन्य कारबाही जारी राख्नबाट रोक्न सक्दैन । विद्रोहीले बढ्दो तनावको सामना गर्नुपर्नेछ,” हुथी अधिकारी मोहम्मद अल–बुखाइतीले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले आक्रमणलाई ‘हुथीविरुद्धको आत्मरक्षाको एकरूप’ रहेको बताए ।

इरान समर्थित हुथी समूहले पश्चिमी समर्थित र साउदी नेतृत्वको गठबन्धनविरुद्ध लगभग एक दशकको द्वन्द्वपछि यमनको महत्त्वपूर्ण भागलाई नियन्त्रण गरेको हो । गाजामा इजरायल–हमास द्वन्द्वबीच उनीहरूले प्यालेस्टाइनीलाई समर्थन गरेका छन् ।

उनीहरूले नोभेम्बरदेखि लालसागर, बाब अल–मन्डेब जलडमरूमध्य र एडनको खाडीमा जहाजमा बारम्बार ड्रोन र मिसाइल आक्रमण गरेका छन् ।

इरानले अमेरिका–बेलायतको आक्रमणलाई ‘यमनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता, अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको उल्लंघन’ भन्दै निन्दा गरेको छ ।

“आक्रमणकारी अमेरिका र बेलायती सरकार यमनी जनताविरुद्धको यी अपराधको परिणामका लागि जिम्मेवार छन्,” इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले भने ।

अमेरिकी समुद्री प्रशासनका अनुसार हुथीहरूले ढुवानी जहाजमा ५० भन्दा बढी आक्रमण गरेका छन् । उनीहरूले ढुवानी कम्पनीलाई वैकल्पिक मार्ग खोज्न बाध्य पारेका छन् । त्यसले लालसागर पार गर्ने विश्वव्यापी व्यापारको लगभग १२ प्रतिशतलाई असर गरेको छ ।

हुथीको क्षमतालाई घटाउने उद्देश्यले अमेरिका र बेलायतले संयुक्त हमला गरे पनि विद्रोहीले आफ्नो आक्रमण जारी राखेका छन् । आफ्नो पछिल्लो कारबाहीमा उनीहरूले गाजामा इजरायली आक्रमणको प्रतिक्रियामा ग्रीसको स्वामित्वमा रहेको ढुवानी जहाज र अरू जहाजमाथि आक्रमण गरेको अलजजिराले जनाएको छ । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro