“ल, अर्का वर्ष त सकिँदैन !,” मकै गोडेको कोदालो छेउमा राखेर टोपीले पसिना पुछ्दै धीरप्रसाद बाले भन्नुभयो ।
“के गर्नु ठूला दाइ, छोराछोरी विदेशमा भएपछि,” तल्लाघरे कान्छाले आफ्नै बारीबाट भन्यो ।
“कति मेटिस् मेलो कान्छा ?,” धीरप्रसाद बाले सोध्नुभयो ।
“भोलि बिहानलाई एक धर्को रहने भो दाइ,” उसको जवाफ थियो ।
“कान्छा, अर्को साल त म सक्दिनँ क्यारे ! मेरो बारी पनि कमाइदेलास् नि है ?,” धीरप्रसाद बाले कान्छालाई आग्रह गर्दै हुनुहुन्थ्यो । पल्लो गाउँबाट नरेश आइपुग्यो ।
“के कुरा हुँदै छ, हामी पनि सुनौँ न,” उसले आउँदा आउँदै भन्यो ।
“के हुनु, उमेर बढ्यो, पहिलाजसरी काम गर्न सकिएन । कान्छासँग दुःख पोखेको नि,” धीरप्रसाद बाले भन्नुभयो ।
“के कुरा गर्नुहुन्छ, उता राजधानीमा नेताहरू बुढा भएर पनि मरिहत्ते गरेका छन् ! हजुर अहिले नै बुढो भएँ भन्नुहुन्छ,” नरेशले भन्यो ।
“उनीहरूको जस्तो सजिलो काम भए पो !,” धीरप्रसाद बाले भन्नुभयो ।
(पोखरा–७, कास्की)