
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन् । सोमबार (असार १६) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
समिति बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाले कार्ययोजना प्रस्तुत गरेसँगै सांसद शर्माले यसलाई सच्याउने योजना के छ ? भन्दै प्रश्न गरे । उनले समाज हाल विचारविहीनताको अवस्थामा रहेको बताए । यसले आमनागरिकमा निराशा उत्पन्न भइरहेको उनले उल्लेख गरे ।
“राजनीतिक, सामाजिक, न्यायिक क्षेत्रमा हेरे पनि एउटा विचलनको अवस्था छ । विचारविहीनताको अवस्था रहेको छ,” उनले भने, “यसले आमनागरिकमा एउटा निराशा उत्पन्न भइरहेको छ ।”
लोकतन्त्र एउटा वर्ग र जातिको मात्र हुन नहुनेमा उनले जोड दिए । “लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु हुँदैन । लोकतन्त्र सबै वर्ग, जाति र लिंगको समावेशितामा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर त्यसको पक्षमा लडेको र अहिले पनि आवाज उठाइरहेको सन्दर्भमा समावेशी अर्थमा तपाईंको सिफारिस भएको छ, खुसी व्यक्त गर्न चाहन्छु,” उनले भने ।
सांसद शर्माले न्यायाधीशले गल्ती गर्न नहुने बताए । तर, कसैसँग बोल्नै नहुने भन्ने नरहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल