site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रदीपको अभिनयको आडमा अडेको सिनेमा
SkywellSkywell

व्यवस्था बदलियो, व्यवस्था बदल्नेको जीवनशैली बदलियो । तर, आमजनताको अवस्था बदलिएन । व्यवस्था बदल्नेको विचार बदलियो, सिद्धान्त बदलियो । तर, आमजनताले के पाए ? जात व्यवस्थाको विरोधमा क्रान्तिमा होमिएका युवाले के पाए ? धेरै ठूलो परिवर्तन होइन, अन्तरजातीय विवाह गर्न समेत परिवर्तित व्यवस्था (प्रजातन्त्र)मा नपाएको कथा नै चलचित्र ‘पुजार सार्की’को मुख्य कथानक हो ।

वि.सं. २०४६ सालको जनआन्दोलनको सेरोफेरोको टाइफ्रेमको कथा भनेको चलचित्रले समाजमा दलित भएर बाँच्न कति कठिन छ ? कथित माथिल्लो जातले तल्लो र तल्लोले माथिल्लो जातका युवायुवतीसँग विवाह गर्न कति कठिन छ ? परिवार र समाजले कतिसम्म अवरोध सिर्जना गर्छ भन्ने विषयको वरिपरि ‘पुजार सार्की’को कथा घुम्छ । सोझासिधा जनतालाई कसरी झुटो आश्वासन दिएर क्रान्तिमा सामेल गराइन्छ र अन्ततः आफ्नो स्वार्थसिद्ध हुने भएपछि कसरी पाखा लगाइन्छ भन्ने कथा सिनेमाले भन्छ ।

यो कथा भन्न निर्देशकले अन्तरजातीय विवाहलाई अगाडि सारेका छन् । एक पण्डितले कथित तल्लो जातकी युवतीसँग विवाह गर्न चाहँदा झेल्नुपर्ने पारिवारिक र सामाजिक दबाब तथा एक दलित युवकले आफूभन्दा उपल्लो जातकी युवतीसँग विवाह गर्न खोज्दाको संघर्षलाई निर्देशकले सामाजिक प्रतिष्ठा, धर्म, राजनीति र क्रान्तिसँग जोडेर देखाएका छन् । यसको आरोह–अवरोहमा सिनेमा घुम्छ ।

Dabur Nepal
NIC Asia

सिनेमाको कथा नयाँ र नौलो होइन । तर, हाम्रै घरसमाजको कथा हो । हामीले नै देख्दै भोग्दै आएका घटना हुन् । आफू बाँचेकै परिवेशमा आफ्नो साथीसँगी र आफन्तले भोगेका समस्या हुन्, देखेका घटना हुन् । त्यसैले कथा मौलिक छ । आफ्नै माटोको कथा सिनेमाले भन्ने प्रयास गरेको छ । तर, नयाँ होइन । यसअघि पनि यस्तै कथा धेरै सिनेमाले भनिसकेका छन् । कथा एउटै भए पनि त्यसलाई निर्देशकले कसरी भन्छ, त्यसले अर्थ राख्छ । कुन कथ्यशैली प्रयोग गरेर कथा भन्ने त्यसले सिनेमाको टेस्ट र स्तर निर्धारण गर्छ ।

पुरानो कथा भन्न निर्देशक दिनेश राउतले धेरै प्रयोग गर्न खोजेका छैनन् । माया, प्रेम, प्रेममा नोकझोक, परिवार र समाजको त्रास, गीत यही शैलीमार्फत उनले कथा भनेका छन् । संवादको छायामा दृश्यलाई राख्दै उनले कथा प्रस्तुत गरेका छन् । र, त्यही टिपिकल संवादले सिनेमालाई बचाएको छ । गम्भीर कथावाचन गर्दागर्दै मैतबहादुर (प्रदीप खड्का)को चरित्रले दर्शकलाई हँसाइरहन्छ । यो चरित्रको संवाद र शैलीले दर्शकलाई इंगेज गराइरहन्छ ।

कथा भन्न निर्देशकले मैतबहादुरसँगै पुजार (आर्यन सिक्देल) र मेघराज (पल शाह) तथा मैया (अञ्जना बराइली) र गौमाया (परीक्षा लिम्बू)लाई रोजेका छन् । प्रदीप खड्काको अभिनयले दर्शकको ध्यान सहजै खिच्छ । उनले आफूलाई अब्बल दर्जाको अभिनेताका कोटीमा उभ्याएका छन् । ‘प्रकाश’बाट चरित्र अभिनेताका रूपमा पनि देखिन थालेका उनले यो चलचित्रमा आइपुग्दा आफू भर्सटाइल भएको प्रमाणित गरेका छन् । आर्यन, पल, अञ्जना र परीक्षाले पनि चरित्रलाई न्याय गरेका छन् ।

सिनेमामा केही विम्ब छन्, जसले कथा भन्ने प्रयास गरेको छ । आशा र भरोसा छउन्जेल शिरमा राखेको फूल उत्तरार्धतिर भुइँमा फालेर कुल्चिएको दृश्य छ । समाजको उल्झनले भरोसा टुटेको अवस्थामा डढेलो लागेको पहाडमा हिँड्ने पात्रका दृश्यले सिनेमालाई सुन्दर बनाएको छ । तर, त्यही चेत कथा र भावनाअनुसार सिनेमाभरि देखिँदैन । यो निर्देशकको कमजोरी हो । लापरबाही हो ।

निर्देशक राउत क्रमशः विषयप्रधान सिनेमामा ढल्दै गरेका सर्जक हुन् । त्यो ग्राफ ‘पुजार सार्की’मा पनि देखिन्छ । तर, सिनेमा संवाद मात्र होइन । दृश्यले पनि कथा भन्न सकिन्छ । क्यामेराका एंगलले पनि कथा भन्न सकिन्छ । एकैखालका दृश्य, कलर र ब्लकिङले कतिपय अवस्थामा झिँजो पनि लाग्छ । यसमा सचेत हुने ठाउँ हुँदाहुँदै पनि धेरै ध्यान दिएको पाइँदैन ।

अक्सर व्यक्ति पारिवारिक, आर्थिक अवस्था, समय र कामानुसारको पहिरनमा हुन्छ । कतिपय अवस्थामा चिटिक्क पर्छ भने कहिलेकाहीँ धुस्रैफुस्स्रै हुन्छ । कस्ट्युममा त्यति धेरै सचेत छैन, ‘पुजार सार्की’ ।

साउन्डमा सिनेमा ठिक छ । ब्याकग्राउन्ड स्कोरमा पनि ध्यान दिइएको छ । कतिपय सिनमा मौलिक ब्याकग्राउन्ड स्कोरले आनन्द दिन्छ ।

विकास सुवेदीले लेखेको कथा भन्न गीतसंगीतले सहयोग गरेको छ । पात्रको मनोभाव बोल्ने गीतले सिनेमालाई उठाएको छ । तर, ‘दर्शन गरेँ...’ गीतलाई सिनेमाको प्रोमोसनल मात्र बनाएको भए अझै राम्रो देखिने कथा र कथ्यशैली छ ।

समय र मुड सिनेमेटोग्राफरले क्याप्चर गर्छन् । तर, सिनेमेटोग्राफरले आफ्नो कुशलता प्रदर्शन गर्ने विषयप्रधान सिनेमामा नै हो । संवादले भन्न नसकेको कथा कुशल सिनेमेटोग्राफरले क्यामेराबाट भन्न सक्छन् । यसमा उल्लेखनीय काम भएको छैन ।

सिनेमा जसरी उत्तरार्धअगाडिसम्म राजनीतिक र जातीय एजेन्डाबाट जोगिएको छ, उत्तरार्ध र क्लाइमेक्समा पुग्दा लरबराउँछ । र, जातीय एजेन्डा बोकेजस्तो अनुभूत गराउँछ । राजनीति र जातीय विभेदको कथा भन्न अन्तरजातीय प्रेमसम्बन्ध र विवाहलाई माध्यम बनाइएको सिनेमा विषयप्रधान चलचित्र हेर्न रुचाउनेको रोजाइमा पर्न सक्छ ।

‘पुजार सार्की’ प्रदीप खड्का र मौलिक संवादले जोगाएको सिनेमा हो । प्रदीपले सिनेमाको पूरै अवधिभर दर्शकलाई आफूबाट अन्त जान दिँदैनन् । त्यसैले मौलिक सिनेमा मन पराउने र प्रदीपका फ्यानले ढुक्क भएर हेर्न सक्ने चलचित्र हो, ‘पुजार सार्की’ ।

निर्देशक : दिनेश राउत
लेखक : विकास सुवेदी
कलाकार : प्रदीप खड्का, आर्यन सिक्देल, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू आदि 
निर्माता : सुवास भुसाल 
लेन्थ : १३८ मिनेट 
जानरा : सोसल ड्रामा
ब्यानर : किङडम नेटवर्क ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu