
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकर अञ्जन विष्टलाई स्पोर्ट्स पोसाक ब्रान्ड ३६१ डिग्रीले प्रायोजन गरेको छ । नेपालका निम्ति स्पोर्ट्स ब्रान्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कार्की र अञ्जनबीच शनिबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता तीन वर्षको हुनेछ । कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोसाक उपलब्ध गराउनेछ । अर्थको विषय भने दुवै तर्फबाट गोप्य राखिएको छ ।
“हामीले पहिलोपटक फुटबलमा सहकार्य गरेका छौँ । अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रो लागि खुसीको क्षण हो,” कार्कीले भने ।
अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । “अन्तर्राष्ट्रिय प्रायोजकसँग सहकार्य भएको छ । यसले आगामी करियर बढाउन र फुटबलमै लाग्न थप सहयोग पुर्याउनेछ,” उनले भने ।
सन् २०१४ मा फिलिपिन्सविरुद्ध ‘डेब्यु’ गरेका अञ्जनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमान बराबर गरेका छन् ।