काठमाडौं । अहिले हुर्कंदै गरेको पुस्तालाई लक्षित गरेर सिनेमा बनाउन नसके दीर्घकालीन प्रभाव पर्ने चलचित्रकर्मी बताउँछन् । टिनेजर पुस्ताको रोजाइमा नेपाली चलचित्र नपर्नु राम्रो संकेत नभएको सिनेकर्मीको धारणा छ । वर्तमानमा हुर्किरहेका बालबालिकाको रोजाइ जेमा छ, पछि पनि त्यसमै हुने भएकाले भिजुअल लिट्रेसीमा ध्यान दिनुपर्नेमा उनीहरू जोड दिन्छन् ।
युवापुस्तालाई लक्षित गरी चलचित्र बनाउँदै जानुपर्ने भन्दै निर्देशक मीन भाम अन्यथा भोलिका दिनमा नेपाली सिनेमाका दर्शक झन् घट्ने सम्भावना औँल्याउँछन् । हुर्किरहेको पुस्तालाई आफ्नै भिजुअल लिट्रेसी दिन नसके भोलि नेपाली सिनेमा नेपालीले नै हेरेनन् भनेर दुःखेसो गर्नुको औचित्य नहुने उनी टिप्पणी गर्छन् ।
अहिलेका बालबालिकाले नेपाली भिजुअल कन्टेन नहेर्दा भोलि यो पुस्ता युवा हुँदा स्वाभाविक रूपमा उनीहरूको रुचि यसतर्फ नहुन सक्छ । कालान्तरमा स्वदेशी सिनेमाका दर्शक नै नहुने अवस्था आउन सक्छ । त्यसको नैतिक जिम्मेवारी नेपाली मेकर र राज्यसंयन्त्रले नै लिनुपर्ने चलचित्रकर्मीको भनाइ छ ।
हरेक पुस्ताको रुचि सिनेमाको कथा र जानरामा हुने अभिनेता दयाहाङ राई बताउँछन् । युवापुस्तालाई पनि उनीहरूले मन पराउने जानरा र कथामा सिनेमा बनाएर आकर्षित गर्नुपर्नेमा उनी जोड दिन्छन् । “युवापुस्तालाई समेट्न उनीहरूले मन पराउने जनरामा बसेर सिनेमा बनाउनुपर्छ । हामीले अहिले पनि कुनै निश्चित जानरामा बसेर काम गर्ने अभ्यास गरिरहेका छैनौँ,” दयाहाङ भन्छन्, “यो अभ्यास नभएका कारण पनि हाम्रा नेपाली सिनेमाले हाम्रो युवापुस्ता विशेष गरी टिनेजरलाई आकर्षण गर्न नसकेको हो ।”
चलचित्र हेर्नु नै अपराध हो भन्ने अभिभाकबाट आएको पुस्ताका छोरोछोरी अहिले टिनएजमा रहेको दयाहाङको बुझाइ छ । अहिले पनि टिनेजरले सिनेमा हेर्नु अपराध नै हो भन्ने बुझाइ धेरैमा रहेको उनी बताउँछन् । “त्यो सोच बटुलेर आएका अभिभावक हौँ हामी । अहिले हामीमै त्यो जिम्मेवारी आएको छ । यसमा हामी कहिले सकारात्मक हुन्छौँ ?,” उनको प्रश्न छ ।
चलचित्रले पनि शिक्षा, चेतना दिन्छ, सिनेमाले पनि बाँच्न अथवा जीवन जिउन सिकाउँछ भन्ने सोच अहिलेसम्म अभिभावकमा नरहेको उनी बताउँछन् ।
पुस्तक पढ्दाजस्तै चलचित्र हेर्दा पनि ज्ञान र सूचनाको स्तर बढ्छ भन्ने बुझाइ विकास नभएको उनको भनाइ छ । “आज अलिकति यो सोचमा परिवर्तन भयो होला, १२/१३ वर्षअगाडिसम्म नै यो सोच थियो । एक दशकअगाडिसम्म नै प्रशासनले विद्यार्थी सिनेमा हेर्न आउँछन् भनेर मर्निङ शो बन्द गर्थ्यो,” दयाहाङ स्मरण गर्छन्, “कलेज ड्रेसमा विद्यार्थी आयो भने सिनेमा हेर्न पाइँदैन थियो । यो हामीले सिनेमामा काम गर्दा नै देखेको हो । त्यही सोच र मनोविज्ञानबाट हुर्किएका हामी अहिले अभिभावक हौँ । यसको प्रभाव हामीमा छ होला ।”
अहिलेका अभिभावक र मेकरमा सिनेमा पनि शिक्षा र चेतनाको माध्यम हो भन्ने बुझाइ नभएकै कारण टिनेजरलक्षित चलचित्र नबनाइएको उनी टिप्पणी गर्छन् । “अहिलेका बच्चालाई यस्ता सिनेमा चाहिन्छ भनेर अहिले पनि हामीले चलचित्र बनाएका छैनौँ । ग्रुप टार्गेट बनाएर चलचित्र बनाएका छैनौँ, रेन्डम्ली चलचित्र बनाइरहेका छौँ,” दयाहाङ अगाडि थप्छन्, “यही कारण नै अहिलेको युवा त्यसमा पनि टिनेजरले नेपाली सिनेमामा चासो नदेखाएको होला ।”
बालबालिकालाई सिनेमामा आकर्षण गर्न निजी क्षेत्रसँगै सरकारको पनि उत्तिकै दायित्व हुने उनको धारणा छ । राज्य आमनागरिकको अभिभावक भएकाले नीतिगत तहमै यसबारे काम गर्नुपर्नेमा दयाहाङ जोड दिन्छन् ।
“राज्यले आफैँ बनाउनु पनि पर्दैन होला, तर पोलेसी बनाएर त्यसलाई कार्यान्वयन गराउनुपर्छ । कोही व्यक्ति वा संस्थाले यसमा अग्रसरता देखाउँछ भने उसलाई सहयोग र यो क्षेत्रमा काम गर्नेलाई नीति–नियमानुसार काम गर्न आह्वान गर्नुपर्छ,” उनी भन्छन्, “राज्यको कला, साहित्य, संस्कृतिको संरक्षण र सम्वर्द्धनमा ध्यान दिनु र त्यसप्रति नागरिकलाई अग्रसर हुन प्रेरित गराउनु राज्यको दायित्व पनि हो ।”
कलाकार हरिवंश आचार्य नयाँ पुस्तालाई आकर्षित गर्ने सरल सिनेमा आफ्नै तरिकाले भन्न सकिने बताउँछन् । उनी कोरियन र इरानी चलचित्र उद्योगको उदाहरण दिन्छन् । त्यस्तै बनाउन सके सबै पुस्ताका दर्शकलाई नेपाली सिनेमाले आकर्षित गर्न सक्ने उनको भनाइ छ ।
हलिउड र बलिउडका चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उनी सुनाउँछन् । तर, मेकिङका हिसाबले उनीहरूसँग प्रतिस्पर्धा गर्न कठिन रहेको हरिवंशको अनुभव छ । “उनीहरूको मेकिङ असाध्यै रिच हुन्छ । उनीहरू अर्ब रुपैयाँमा एउटा सिनेमा बनाउँछन् । एनिमेसनमा काम गर्न सक्छन् । उनीहरू टेक्निकल्ली रिच छन्,” उनी भन्छन्, “हाम्रो बजार सानो छ । सानो लगानीमा चलचित्र बनाउनुपर्छ । अहिले मात्र होइन, पछि पनि हामी अर्बौं रुपैयाँ खर्च गरेर सिनेमा बनाउन सक्दैनौँ ।”
न्यून बजेटबीच पनि विषयवस्तु र जीवन्त अभिनय नै नेपाली चलचित्र उद्योगको प्राथमिकतामा पर्नुपर्ने उनी स्पष्ट पार्छन् । सबै देशका चलचित्र हलिउड र बलिउडका जस्ता टेक्निकल्ली रिच नहुने उनी बताउँछन् । उनी भन्छन्, “कोरियन र इरानी चलचित्र सरल विषयवस्तुमा अब्बल बन्छन् । त्यसैले त्यहाँ मात्र होइन, विश्वभरका दर्शकले हेरिरहेका छन् । त्यसरी नै हामीले पनि बनाउन सक्यौँ भने सबैले चलचित्र हेर्छन् ।”
नयाँ पुस्ता नेपाली चलचित्र हेर्न नगएको भन्न भने नमिल्ने उनी जिकिर गर्छन् । आफू आफ्ना चलचित्र प्रदर्शनका बेला हलमा जाने गरेको र त्यहाँ ठूलो संख्यामा युवापुस्ता देखिने गरेको उनी सुनाउँछन् । “अब आउने पुस्ताको भने सिनेमाको टेस्ट परिवर्तन हुनसक्छ । टेस्ट चेन्ज हुँदै जान्छ । २० वर्षअगाडि र अहिलेको टेस्ट चेन्ज भइसक्यो । अहिले पुरानो धारका चलचित्र बन्दैनन्,” हरिवंश भन्छन्, “पाँचवटा गीत हुने, एउटा हास्यकलाकार राख्नैपर्ने, एउटा भिलेन हुनैपर्ने, नारीप्रधान सिनेमा हुनैपर्ने ट्रेन्ड चेन्ज भइसक्यो ।”
१० वर्षअघिका जस्ता चलचित्र अहिले बनाउन छोडिएको उनी बताउँछन् । अब १० वर्षपछि अहिलेका जस्ता चलचित्र नचल्ने उनको तर्क छ । समयसँगै परिवर्तन हुने रुचिअनुसारका चलचित्र बनाइए टिनेजरलाई आकर्षण गर्न सकिनेमा उनी जोड दिन्छन् । “जुन फेसन आउँछ, मेकर पनि त्यसभित्र पसेर गहिराइमा पुगेर चलचित्र बनाउने हो भने अहिलेको आउँदै गरेको पुस्ताको रुचिलाई सम्बोधन गर्न कठिन हुँदैन,” उनी भन्छन्, “कसको रुचि केमा छ, रिसर्च गरेर चलचित्र बनाउन सकियो भने समस्या आउँदैन भन्ने लाग्छ ।”
निर्देशक मीन भाम टिनेजर र युवापुस्ताले खोजेजस्तो सिनेमा नबनाइनु उनीहरू र मेकरको टेस्ट समान नहुनु मुख्य कारण हुन सक्ने बताउँछन् । “हामीले के बानी बसाल्यौँ, त्यसले पनि अर्थ राख्छ होला । हामीले हिजो झुर फिल्म बनाएर विदेशी फिल्म हेर्ने बानी पो बसायौँ कि !,” मीन भन्छन्, “इरानको हरेक युथले उसको आफ्नै सिनेमा हेरिरहेको छ । हिजो हामीले जे बानी बसायौँ, त्यसको परिणाम हो । आज हामी साउथका सिनेमा हेरिरहेका छौँ । यो टेस्टमा बानी बसेपछि यो पुस्ताले भोलि त्यस्तै सिनेमा हेर्छ । त्यसैले यसमा दुःखमनाउ गर्नै पर्दैन ।”
बालबालिका हुर्किरहेका बेला अभिभावकले जस्तो भिजुअल लिट्रेसी प्रदान गर्छन्, पछि उसको टेस्ट त्यस्तै हुने उनको तर्क छ । बालबालिकालाई के देखाइयो, उनीहरूले टेलिभिजनमा के हेरे, सिके भन्ने विषयले व्यक्तिको रुचि निर्धारण गर्ने उनको बुझाइ छ । “अहिलेको सामाजिक सञ्जाल फेसबुकमा हुने जुहारीमा आजको बच्चालाई हामीले छोडिदियौँ भने उनीहरू के मन पराउँछन् ?,” उनी भन्छन् ।
भिजुअल लिट्रेसी दिँदा कन्टेनबारे सचेत हुनुपर्नेमा उनी जोड दिन्छन् । जस्तो भिजुअल हेराइयो, बालबालिकाको रुचि त्यस्तै हुने मीन बताउँछन् । “आज हामी युथलाई भनेर सिनेमा बनायौँ भने त्यो युवापुस्तालाई मन नपर्ने हुनसक्छ । किनभने, हामीले कस्ता सिनेमा हेर्ने बानी बसायौँ, त्यही नै रोजाइमा पर्ने हो,” उनी अगाडि थप्छन्, “हामीले मौलिक सिनेमाप्रति गर्व गर्न सिकाउने गरी भिजुअल लिट्रेसी दिएनौँ कि ! ‘तारे जमीन पर’ रोजाइमा नपरेर साउथका कुनै सिनेमामा पो छ कि !”
अहिले यस्तो सिनेमा नेपाली टिनेजरले मन पराउला भनेर बनाए त्यो रोजाइमा नपर्ने सम्भावना पनि रहेको उनी सुनाउँछन् । “हाम्रो भाइ, भतिज, छोरालाई रक्सी खाने बानी परेको छ भने हामीले उसलाई नखाऊ भने पनि उसले मान्दैन । मानेन भनेर दिनलाई आत्माले मान्दैन,” उनी उदाहरण दिँदै भन्छन्, “हिजो हामीले कहीँ कतै गल्ती गर्यौँ होला, त्यसको लत बसिसकेपछि अहिले पछुताएर हुँदैन ।”