“तपाईंको साँप्रो रक्ताम्मे देखिन्छ त अर्ना दाइ ?”
ब्वाँसोको यस्तो शुभचिन्तक भावले अर्ना प्रसन्न भयो । यद्यपि, उसको साँप्रोमा कुनै चोटपटक लागेको थिएन । तसर्थ, ऊसँग फर्काउने जवाफ थिएन ।
सवाल आएपछि जवाफ दिनु वाञ्छनीय ठानी सोझो मनले अर्नाले भन्यो, “अघिसम्म त ठिकै थियो । खै, के भयो त अहिले !”
त्यसपछि अर्नालाई पाइला सार्न पनि गाह्रो भएको अनुभूत हुन थाल्यो । मौका यही हो भन्ने ठानेर ब्वाँसो मक्ख पर्यो ।
उसले भन्यो, “म झारफुक र ओखतीमुलो गर्दिन्छु, आधा घण्टामै ठिक हुन्छ दाइ । निस्फिक्री भएर सुत्नुस् त !”
अर्ना शान्तसाथ सुत्यो । ब्वाँसो उसको उपचार गर्न भनी साँप्रो सुम्सुम्याउँदै मन्त्र जप्न थाल्यो । अनेकौँ हाउभाउका साथ गर्दनतिर कन्याइदियो । सुम्सुम्याइले मजासँगै अर्ना मस्त निद्रामा पर्यो ।
एउटा हातले कन्याउने काम जारी राख्दै ब्वाँसोले अर्को हात मलद्वारभित्रै छिराएर मुटुकलेजो निकाल्ने दाउ गर्न थाल्यो । पीडाले सताएर अर्ना एक्कासि जुरुक्क उठ्यो । हात घुसारिरहेको ब्वाँसो उछिट्टिएर बारीको पाटामा पुग्यो र ढुंगामा बजारियो ।
ऊ खँजाहा भएर छट्पटिँदै थियो । आत्तिएर अर्ना त्यही बाटो बुर्कुसी मार्यो । अर्नाको टेकाइले घाइते ब्वाँसोले तोरीका फूल मात्रै देखेन, मरणासन्न समेत भयो ।
सिंहदरबारको पिँजडामा हुर्की बढेर यति बेला फुत्कन सफल सुगाले हरगतिविधि नियालिरहेको थियो !
(एनेलकुटी, सिरहा ।)