काठमाडौं । विद्यालय खेलकुदको विकास र प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यसहित ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ)बीच शुक्रबार सम्झौता भएको छ ।
रेडियन्टका संस्थापक प्रिन्सिपल डीके ढुंगाना र एनएसएसएफका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ)का कार्यकारी सदस्य राजकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै रेडिअन्टले आईएसएफको स्वीकृतिमा एनएसएसएफको आधिकारिक सदस्यताको मान्यता पाएको छ ।
सम्झौता अनुसार रेडियन्टलाई आईएसएफको खेलकुद गतिविधिका साथै शैक्षिक र सांस्कृतिक कार्यक्रमका लागि विश्वव्यापी मञ्च उपलब्ध गराउने, आईएसएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम पक्ष एनएसएसएफमार्फत सिधैँ सहभागी हुन पाउने, आईएसएफको अन्तर्राष्ट्रिय मञ्चमा विद्यालयको झण्डा र लोगो प्रयोग गर्न पाउने, आईएसएफ र एसियाली विद्यालय खेलकुद महासंघ (एएसएसएफ)को साधारणसभामा एनएसएसएफको प्रतिनिधिसँगै सहभागी हुन पाउने, विद्यालय खेलकुदको गतिविधिलाई प्रवर्द्धनमा क्रियाशिल हुन पर्ने लगायतका विषयवस्तु समावेश छन् ।
सम्झौता बढीमा तीन वर्षसम्म कायम रहने छ । सम्झौतापछि महासचिव कार्कीले आईएसएफबाट स्वीकृति प्राप्त सदस्यता आबद्धताको प्रमाण पत्र संस्थापक प्रिन्सिपल ढुंगानालाई हस्तान्तरण गरेका थिए । संस्थापक प्रिन्सिपल ढुंगानाले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आबद्ध भए पनि खेलकुदको अन्तर्राष्ट्रिय संस्थासँग रेडियन्ट पहिलोपटक आबद्ध भएको जानकारी गराए ।
उनले रेडियन्टले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने प्रमुख माध्यम मध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको बताउँदै एनएसएसमार्फत आईएसएरसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । महासचिव कार्कीले एनएसएसएफसँग आबद्ध भएको विद्यालय परिवारलाई धन्यवाद दिँदै आबद्धताले खेलकुदका अलवा आईएसएफको विभिन्न सोलिडारिटी परियोजनामा पनि सहभागी हुन पाउने बताए ।