site stats
बाह्रखरी :: Baahrakhari
खेल
कबड्डी टोली बंगलादेश प्रस्थान

काठमाडौं । चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । मे २६ देखि जुन ३ सम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । 

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, श्रीलंका, इराक, मलेसिया र इन्डोनेसिया छन् । समूह ‘बी’ मा थाइल्यान्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्यान्ड छन् ।

Argakhachi Cement Island Ad

नेपाली खेलाडीहरूमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा छन् ।

टोलीका कप्तान घनश्याम भारतको प्रो कबड्डी लिग खेलिसकेका खेलाडी हुन् । उनी १०औँ संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । घनश्यामले १०औँ संस्करणमा चार टिमविरुद्ध खेल्ने अवसर पाएका थिए । 

उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बैंगलारु बुल्सविरुद्ध खेलेका थिए । घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडीमध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् । 

विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिका टिमसंगै बंगलादेश गएका छन् ।

महिला राष्ट्रिय कबड्डी टोलीको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिहीबार नै टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य सचिव घिसिङले १९औँ एसियाली खेलकुदमा महिला कबड्डी टोलीलाई सहभागी गराएकोमा धेरै प्रश्नको सामना गर्नुपरेको स्मरण गर्दै महिला टोलीले पदक जितेर सहभागिताको औचित्य पुष्टि गरिसकेको बताए । उनले अब महिला टोलीलाई विगतको भन्दा राम्रो गर्ने चुनौती थपिएको र पुरुष टोलीलाई बंगबन्धु कप पदक जित्ने राम्रो अवसर भएको बताए ।

सदस्य–सचिव घिसिङले खेलाडीका साथै प्रशिक्षकले समयानुकुल ‘अपडेट’ र ‘अपग्रेड’ हुनुपर्नेमा जोड दिँदै खेलाडीको शारीरिक क्षमताको पहिचान गर्न परिषद्ले चाँडै स्पोर्ट्स सायन्स ल्याब स्थापना गर्ने अवगत गराए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्