
काठमाडौं । सरकारले विद्युतीय प्रणालीहरूबीच अन्तरआबद्धता गर्न इन्टरनेट तथा डाटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्ने बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवा एकै स्थानबाट प्रदान गर्न स्थानीय निकायसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने पनि बताए ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा उनले ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरी ब्रोड ब्यान्ड सेवालाई गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाइने बताए ।
उनले भने, “सबै स्थानीय तहका केन्द्र तथा वडा केन्द्रसम्म इन्टरनेट सेवा उपलब्ध गराउन उच्च क्षमताको अप्टिकल फाइबर विस्तार गर्ने कार्यलाई तीव्रता दिइनेछ ।”