site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिविलाई समितिको निर्देशन– अरूले रजाइँ गरेका जग्गा फिर्ता ल्याउन खुट्टा नकमाउनुस्
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का नाममा रहेका जग्गा सरकारी र निजी संघसंस्थाले कब्जा गरेको भन्दै प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चासो व्यक्त गरेको छ । समितिले त्रिविका उपकुलपति, रजिस्ट्रार, रेक्टरसहितको टोलीलाई बोलाएर लगातार दुई दिन छलफल गर्‍यो ।

आइतबारको छलफलमा त्रिवि पदाधिकारीले यसको जग्गा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मल, गुठी, अस्पताल, पार्कका नाममा प्रयोग भइरहेको र फिर्ता ल्याउन नसकिएको विवरण प्रस्तुत गरे । तीन हजार ७०३ रोपनीमध्ये दुई हजार रोपनीभन्दा बढी जग्गा अरू निकायले ओगटेको विवरण बैठकमा प्रस्तुत गरियो ।

यसरी प्रयोग गरिएका अधिकांश जग्गामा सरकारी कार्यालय छन् । केही निजी र संस्थानका कार्यालय र बसपार्क समेत राखिएको छ ।

त्रिविका रजिस्ट्रार केदार रिजालका अनुसार, गणतन्त्र पार्कले ६० रोपनी, कृषि बागवानीले २८१ रोपनी, ल्याब्रोटरी स्कुलले १०८ रोपनी जग्गा ओगटेका छन् । यस्तै, खानेपानी संस्थान, आयुर्वेद अस्पताल, कीर्तिपुर आँखा अस्पताल, त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर र ललितपुरस्थित लबिम मल रहेका जग्गा समेत त्रिविकै नाममा छ ।

लबिम मलले नियमित भाडा बुझाइरहेको छ । वर्ल्ड ट्रेड सेन्टरले चार करोड २६ लाख रुपैयाँ भाडा बुझाउन बाँकी रहेको रिजालले जानकारी दिए ।

“त्रिविलाई अहिले नैकापमा रहेको आफ्नो नामको जग्गा फिर्ता ल्याउन सबैभन्दा गाह्रो भइरहेको छ । अन्य स्थानमा ओगटिएका जग्गा पनि अहिलेको संरचना, शक्ति र स्रोतसाधनले मात्रै फिर्ता ल्याउन सक्ने अवस्था छैन,” उनले भने ।

जग्गा प्रयोग गर्ने विषयमा ठूला भनिएका र राजनीतिक व्यक्तिहरूको चर्को दबाब आउने गरेको उपकुलपति डा. केशरजंग बराल बताउँछन् । “ल्याब्रोटरी स्कुल भएको जग्गाको सम्झौता म्याद २०७२ सालमै सकिएको छ । तर, ठूला व्यक्तिहरू संलग्न भएर जग्गालाई गुठीको नाममा लगिएको रहेछ । त्यसपछि त्रिवि र गुठीबीच सधैँ द्वन्द्वकै अवस्था रहेछ,” उपकुलपति बरालले भने ।

अतिक्रमित सबै जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन समितिले शिक्षा मन्त्रालय र त्रिवि दुवैलाई निर्देशन दिएको छ ।

समिति सदस्यहरूले जग्गा फिर्ता ल्याउने प्रक्रियामा सर्वोच्च अदालतको निर्णयबमोजिम अघि बढ्न सुझाव दिए । त्यसका निम्ति समितिले पर्याप्त सहयोग गर्ने पूर्वशिक्षामन्त्री एवं सांसद देवेन्द्र पौडेलले बताए ।

“आफ्नो संस्थालाई घाटा हुने गरी कुनै पनि ठूला मान्छेको चाकडी गर्नु पर्दैन । राजनीतिक व्यक्तिका नाममा खुट्टा नकमाउनुस्, आवश्यक सहयोग सरकारले गर्छ,” समितिका सभापति अम्मरबहादुर थापाले भने ।

उनले आशंका समेत व्यक्त गरे, “त्रिविको जग्गा फिर्ता ल्याउन नसक्नुमा त्रिविकै कर्मचारीहरू बिचौलिया बनिरहेका त छैनन् ?”

जवाफमा रजिस्ट्रार रिजालले त्रिविका कर्मचारीको संलग्नताबारे छानबिन गर्न समिति गठन गर्न सुझाव दिँदै संलग्नता पुष्टि भए कारबाही भोग्न तयार रहेको बताए । रिजालले आफ्नो कार्यकालमा कुनै शक्तिको दबाबमा त्रिविको जग्गा अतिक्रमण हुन नदिने प्रतिबद्धता व्यक्त गरे । कानुनी प्रक्रियाअनुसार जग्गा फिर्ता ल्याउन त्रिविले काम अघि बढाउने र त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताए ।

“तर, अहिलेकै संरचना, शक्ति र स्रोतसाधनले भने यो कार्य कठिन छ,” रिजालले दोहोर्‍याए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro