site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्दै, कांग्रेस सर्वोच्च जाँदै

विराटनगर । कोसी प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न आह्वान भएपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । यता, सरकारका मुख्यमन्त्री केदार कार्की भने प्रदेश प्रमुखको कदम संविधानविपरीत भएको दाबीसहित यसलाई बदर गराउन माग गर्दै बिहीबार (आजै) सर्वोच्च अदालतमा रिट दायर गर्न काठमाडौ गएका छन् । 

मुख्यमन्त्री कार्कीले भने, “उपधारा ५ बमोजिमको सरकारले विश्वासको मत प्राप्त गरेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नसक्ने प्रावधानलाई मिचेर आह्वान भएको छ । न्यायिक निरुपणको लागि हामी सर्वोच्च जाँदैछौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार नै माओवादीसहितका ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख कार्यालयमा सशरीर उपस्थित भई सनाखत गराए एमालेका कार्कीले नियुक्ति लिने तयारी गरेका छन् । बुधबार राति प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादी केन्द्रको दाबीअनुसार केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको निष्कर्षसहित खापुङले सरकार गठनका लागि आह्वान गरेका थिए । 

नेकपा एमाले कोसी संसदीय दलका प्रमुख सचेतक  रेवतीरमण भण्डारीले दुबै दलका सांसद जम्मा भई प्रदेश प्रमुखको कार्यालयमा पुग्ने बताउँदै भने, “सरकार गठनको दाबीसहित हामी जाने तयारी छ ।” उनले बिहीबार नै कोसी प्रदेशमा मुख्यमन्त्री नियुक्त हुने बताए ।  

वैसाख ७ गते एमाले र माओवादीले संकल्प प्रस्ताव पारित गराई सरकारलाई दिएको समर्थन नरहेको र विश्वासको मत लिनुपर्ने जिकिर गरेका थिए । बहुमतको अभिलेखीकरण गराइ त्यसको जानकारी प्रदेश प्रमुख कार्यालयलाई समेत गराइएको थियो । प्रदेश प्रमुख खापुङले मुख्यन्यायाधिवक्तासँग परामर्श गरी बुधबार राति उपधारा ५ बमोजिम नै सरकार गठनका लागि आह्वान गरेका हुन ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्