site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा पूर्वप्रधानमन्त्रीका नातिको अश्लील भिडियो सार्वजनिक भएपछि विवादमा तानिए मोदी

नयाँ दिल्ली । कर्नाटकको हासनस्थित चुनावी सिटका सांसद रहिसकेका अहिलेका उमेदवार तथा पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति प्रज्ज्वल रेबन्नाको यौन भिडियोलाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि विपक्षीले आलोचना गरेका छन् ।

यौन भिडियो सार्वजनिक भएपछि उनी जर्मनीतिर भागेको भन्दै विपक्षीले सरकारको आलोचना गरेका हुन् । विपक्षी कांग्रेसकी महासचिव प्रियंका गान्धीले सरकारले यस्तो अपराध गर्नेलाई भागेर जान दिएको भन्दै सोमबार आयोजित एक सभामार्फत कडा आलोचना गरेकी छन् ।

प्रमुख विपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई सो प्रकरणमा जोडेको छ । यौन काण्डमा मुछिएका व्यक्तिसँग चुनाव प्रचारका क्रममा केही साताअघि प्रधानमन्त्री मोदी सँगै बसेका कारण उनलाई अहिले जोडिएको हो । यो काण्डमा सामेल व्यक्तिका पिता पनि कर्नाटकमा विधायक रहेका छन् । कथित यौनकाण्डको भिडियो भाइरल भएपछि प्रज्ज्वल अहिले जर्मनी गएको जनाइएको छ । 

कर्नाटक सरकारले सो मामिलामा छानबिनका लागि समिति गठन गरेको जनाइएको छ । कांग्रेसका प्रवक्ता सुप्रिया श्रीनेतले एक पत्रकार सम्मेलनमा प्रज्ज्वलसँगको सम्बन्धलाई लिएर प्रधानमन्त्री मोदीप्रति निसाना साँधेकी थिइन् । सुप्रियाले प्रज्ज्वलको प्रधानमन्त्री मोदीसँग बसेको तस्बि देखाउँदै भनेकी थिइन्, "यो १४ अप्रिलको फोटो हो । प्रज्ज्वल रेबन्ना एचडी देवेगौडाको नाति हो र मोदीको बृहत परिवारको हिस्सा हो । दुई साता अघि मैसुरमा मोदी उनको साथ थिए । मन्च साझा गरिरहेका थिए । र, उनलाई भोट मागेका थिए ।"

"यी नेता अब देशबाट फरार भइसकेका छन् । मोदीले यो यौन कुकृत्य जान्दथे कि अनभिज्ञ थिए ?," उनले प्रश्न गरेकी छन् ।

सुप्रियाले भनेकी छन्, "प्रधानमन्त्री यो कुकृत्य जान्दथे । उनलाई थाहा थियो कि प्रज्ज्वलका हजारौँ पोर्न भिडियो छन् । उसले महिलाका साथ जघन्य काम गरेको छ । सैकडौँ महिलाको जीवन बर्बाद पारेको छ । मोदी जब १४ अप्रिलमा रेबन्नासँग भेटेका थिए, उनलाई सबै कुरा थाहा थियो ।"

उनका अनुसार सो व्यक्तिले घरमा काम गर्ने महिला, पार्टीका सांसददेखि ६३ वर्ष उमेरकी महिलासँग समेत यौन कार्यमा संलग्न भएको पाइएको उनले पत्रकार सम्मेलनमा जनाएकी थिइन् ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro