site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
रातो र सेतो पहिरनबीचको द्वन्द्व

चलचित्रले सन्देश दिनुपर्छ भन्ने सन्दर्भमा व्यक्तिअनुसारको फरक–फरक धारणा छ । कुनै त्यस्तो विश्वव्यापी मान्यता छैन, जसले सिनेमाले सन्देश दिनैपर्छ वा दिन पर्दैन भन्ने । त्यसैले यसमा व्यक्तिअनुसारको तर्क आउने गरेको छ । कोही सन्देश दिनुपर्छ भन्छन्, केही आर्ट सधैँ लिबरल हुनुपर्छ भन्ने तर्क गर्छन् । आर्ट लिबरल हुन्छ भन्नुको तात्पर्य सिनेमा यो वा त्यो सन्देश दिनुपर्छ भनेर सुरुमै सर्तमा बाँधिनु हुँदैन भन्ने हो ।

तर, सत्य के हो भने मेरो सिनेमाको पहिलो उद्देश्य नै सन्देश दिनु हो भनेर बनाइएका चलचित्रले सन्देश दिने नै भए । यो परिबन्दमा बाँधिन्नँ भनेर बनाइएका सिनेमाले पनि कुनै न कुनै विषय उठान गर्दा परोक्ष नै किन नहोस्, सन्देश दिन्छ नै । त्यसैले यो धेरै बहस र मन्थनको विषय नहोला, मुख्य कुरा राम्रो सिनेमा कसरी बनाउने भन्ने हो ।

यी दुई पक्षमध्ये चलचित्र ‘बोक्सीको घर’ म्यासेज (सन्देश) दिनकै लागि बनाइएको सिनेमा हो । सन्देश दिँदै कथा भन्ने उद्देश्यले चलचित्र बनाइएको स्पष्ट देखिन्छ ।

Dabur Nepal
NIC Asia

समाजमा बालविवाहको प्रचलन छ । उमेर पाकिसकेका पुरुषले रजस्वला समेत सुरु नभएका कलिला बालिकासँग बिहे गर्ने क्रूर प्रचलन र त्यसपछि सिर्जित घटनाक्रमको वरिपरि सिनेमाको कथा घुम्छ ।

बाल्यकालमा विवाह हुन्छ, जुन बेला बालिकालाई श्रीमान् भनेको के हो भन्ने पनि थाहा हुँदैन । राता लुगा र सिन्दूर–पोते लगाउँछिन्, तर त्यसको अर्थ थाहा हुँदैन । बालिकाले पढाइ गुमाउँछिन् । स्कुले साथीसँगी गुमाउँछिन् । ममतामयी आमाको वात्सल्य प्रेम गुमाउँछिन् । जति बेला जवानीको रङ बुझ्ने उमेरमा पुग्छिन्, त्यति बेला रातो रङबाट उनको पहिरन सेतोमा परिणत भइसकेको हुन्छ । यही रातो र सेतो रङसम्मको यात्रा र द्वन्द्व नै चलचित्र ‘बोक्सीको घर’को कथाक्रम हो । यसभित्रका उतारचढावमा सिनेमाले एक घण्टा ५० मिनेटको यात्रा गर्छ ।

चलचित्र ‘बोक्सीको घर’ नेपाली समाजको केही समयअगाडिको कथा हो, जुन समयमा ७० वर्षका पुरुषले सात वर्षका बालिकासँग विवाह गर्थे । अनि, श्रीमान्को मृत्युको कारण तिनै बालिका रहेको आरोपमा उसलाई बोक्सी करार गर्दै पितृसत्तामक समाजले मानसिक तनाव दिएर घरबाट निकाला गर्थ्यो । यस्तै विषयको वरिपरि सिनेमा घुम्ने भएकाले ‘बोक्सीको घर’को कथा मौलिक छ ।

चलचित्रमा केकी अधिकारीले अभिनयको तिर्खा मेटाएकी छन् । उनले आफूलाई अब्बल दर्जाको अभिनेत्रीको पंक्तिमा अग्रभागमा रहेको प्रमाणित गर्ने प्रयास गरेकी छन् । उनले स्वरमा गरेको प्रयास अर्को सराहनीय प्रयास हो । तर, कथित ‘बोक्सी’को चरित्र निभाउने क्रममा कताकता उनी स्वयं बिझाउँछिन् । बोक्सी हो कि मानसिक रूपमा विक्षिप्त पात्र ? लेखकले खुट्ट्याउन नसक्दाको असर केकीको अभिनयमा पनि देखिन्छ । भलै, यो कलाकारभन्दा पनि लेखकको समस्याका कारण सिर्जित पक्ष हो ।

केकी यो सिनेमामा निर्मात्रीका रूपमा भने इमानदार देखिएकी छन् । समाजमा रहेको अन्धविश्वास, कुरीति र पितृसत्तात्मक सोचको आडमा अबला नारीमाथि हुने हिंसाबारे सचेत गराउने उद्देश्यले सिनेमा बनाएकी छन् । यस्तो विषयमा केकीले जसरी चलचित्र बनाएकी छन्, त्यसरी सिनेमा बनाउन कमै निर्माताले मात्र आँट गर्छन् । त्यो उनले गरिन् । मसालेदार सिनेमा बनाउँदा लगानीमा रिस्क हुन्न भन्ने सोचबाट आफूलाई मुक्त बनाएर उनले चलचित्र बनाएकी छन् । यो उनमा देखिएको सबल र इमानदार पक्ष हो ।

नेपालमा स्टारडमले सिनेमा चल्दैनन् भन्ने प्रमाणित भइसकेको छ । स्टारडम निर्माताले कलाकारलाई पारिश्रमिक बुझाउँदा मात्रै अनुभूत गर्ने हो । तर पनि यहाँ स्टार भनेर मानिएका/भनिएका कलाकारकै पछि लाग्ने निर्माता/निर्देशकको संख्या ठूलो छ । तर केकी अधिकारी स्टारडमको पछि लाग्दिनन् । पर्दामा देखिने गिनेचुनेको अनुहार उनकै मात्रै हो । निर्देशकले उनकै काँधमा सिनेमा राखिदिएका छन् । यसअर्थमा पनि उनी इमान्दार निर्मात्री हुन् । बजारलाई बिर्सिएर निर्माणमा उनले इमानदार प्रयास गरेकी छन् । 

सुपला सापकोटा सिनेमामा आकर्षणको केन्द्र हुन्, जसले केकी बच्चा हुँदाको अभिनय गरेकी छन् । उनको अभिनय तारिफयोग्य छ । बालकलाकारका रूपमा उनले ठूलो सम्भावना देखाएकी छन् ।

चलचित्रमा औसत सिनेमेटोग्राफी छ । यस्ता विषयप्रधान सिनेमामा सिनेमेटोग्राफीमा खेल्ने ठाउँ प्रशस्तै हुन्छ । स्क्रिप्टको कतिपय कमजोर लाइनलाई सिनेमेटोग्राफरले सच्याइदिन सक्छन् । तर, यसतर्फ त्यति धेरै काम गरेको देखिँदैन ।

साउन्ड तारिफयोग्य छैन । कतिपय ठाउँमा कान थापेर सुन्दा पनि बुझिँदैन । ब्याकग्राउन्ड स्कोरले यस्तो सिनेमामा संवाद र दृश्यको भन्दा बलियो काम गर्छ । त्यसमा पनि थ्रिलर सिनेमामा खेल्ने  ब्याकग्राउन्ड स्कोरमै हो । यसले सिनेमामा प्राण भर्ने काम गर्छ । यो अवसर सिनेमाले गुमाएको छ ।

सिनेमा दृश्य भाषा हो । विषयप्रधान सिनेमामा दृश्यमा झन् धेरै खेल्न सकिन्छ । कलर अथवा रङ संयोजनले कलात्मक चेत कति छ भनेर देखाउन सकिन्छ । त्यसैले पूरै सिनेमाभर सुकिलामुकिला दृश्य खासै देखिँदैन । यसले कलरमा केही सचेत हुन खोजेको देखिन्छ ।

सिनेमा त्यहाँबाट ब्रिग्रन थाल्छ, जब लेखकमा विषयवस्तुको गहिरो ज्ञान अथवा रिसर्च हुँदैन । ‘बोक्सीको घर’ले पनि विषयवस्तुको गहिराइमा पुग्ने प्रयास नगर्दा सुन्दर चलचित्र हुने अवसर गुमाएको छ ।

अक्सर समाजमा हुनेखाने र उपल्लो वर्गका छोरी/बुहारी/श्रीमतीलाई ‘बोक्सी’को आरोप लगाइँदैन । समाजका अबला र निम्छरा महिलालाई यस्तो आरोप लगाउने गरेको पाइन्छ । केका आधारमा कथित बोक्सीको आरोप लगाइन्छ ? पुरुषले बलात्कार गरेर छोडेका महिलालाई बोक्सीको आरोप लगाइने हो ? मानसिक तनाव दिएर घरबाट परिवारले निकालेपछि बोक्सीको आरोप लगाइन्छ ? आफ्नो कर्तुत लुकाउन बोक्सीको आरोप लगाउने गरिन्छ ? अल्पायुमै छोराको मृत्यु भएपछि उसलाई परिवारले नै बोक्सीको आरोप लगाउने हो ? सिनेमाले दिन नसकेका प्रश्न हुन् । मानसिक रूपमा चोट पाएका व्यक्तिलाई समाजले बोक्सीको आरोप लगाउँदो रहेछ भनेर समाजले बुझ्ने सम्भावनालाई नकार्न सकिन्न ।

चलचित्रको प्रस्तुतिले झुक्याउँदैन मात्र बिझाउँछ पनि । फ्ल्यासब्याकले के भइरहेको छ भनेर कन्फ्युजन गराउँछ । सिनेमाको यो अर्को कमजोर पक्ष हो । कथित बोक्सीबारेको अन्धविश्वासमाथि पर्याप्त अध्ययन नगर्दा गलत चित्रण भएको छ । त्यसैले यसलाई सुन्दर सिनेमा हुने सम्भावना हुँदाहुँदै बिग्रिएको चलचित्रका रूपमा लिन सकिन्छ ।

नेपालमा अक्सर यसरी विषय उठान गरिएका चलचित्रमा लगानी गर्ने निर्माता कमै निर्देशकले भेट्टाउँछन् । यसरी निर्माता भेटिएका बेला पनि राम्रो चलचित्र बनाउन नसकिए निर्मातालाई हतोत्साही बनाउँछ । 

० ० ०

निर्देशक/लेखक: सुलक्षण भारती 
कलाकार: केकी अधिकारी/सुलक्षण भारती/स्वेच्छा राउत, शुपला सापकोटा आदि ।
निर्माता: बद्री अधिकारी
कार्यकारी निर्माता: राज घिमिरे 
जानरा: थ्रिलर 
लेन्थ: ११० मिनेट
ब्यानर: केकी अधिकारी फिल्मस् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro