इलाम । ‘फेरि एकपटक इलामका लिम्बुहरू जागे है सर, अब केही हुन्छ कि !’ स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमको चुनावी सभामा सोमबार किरात धर्मको पवित्रस्थल इलाम माङ्सेबुङ्ग गाउँपालिकामा अवस्थित लारूम्वामा भेटिएका एक मतदाताले भने ।
लिम्बु समुदायका ती मतदाताले आफ्नो नाम भने खुलाउन चाहेनन् ।
थेगिम जातीय सांस्कृतिक पहिचान स्थापित गरिनुपर्छ भन्दै एजेन्डा बनाएरै चुनावी मैदानमा छन् । कोसी प्रदेशको नाम परिवर्तन गरिछाड्ने अडान उनको छ । उनको आमसभामै चुनावी नारा लागेको थियो, ‘कोसी प्रदेश खारेज गर ।’
उमेरले ३३ वर्ष पुगेका मंगलसिंह लिम्बु माइनगरपालिका वडा नम्बर ६ मा भेटिए । विगतमा सूर्य चुनाव चिह्नमा मतदान गर्दै आएका उनलाई पहिचानको सवालले छपक्कै छोएको छ ।
निर्वाचन क्षेत्रभित्र पर्ने माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ बाट ७५ प्रतिशत युवाले मत हाल्ने सर्वेक्षण उनले दाबी नै गरे ।
बाह्रखरीको प्रतिप्रश्न रह्यो, ‘युवा जमातको मत नयाँ दलप्रति आकर्षित हुँदैन र ?’ उनले गर्विलो स्वरमा जवाफ दिए– “यहाँ संस्कृति, अस्तित्व र पहिचान बचाउनु छ ।”
उनी यतिमै रोकिएनन् । आफूले मत हाल्दै आएको पार्टीले के भन्छ र कस्तो होला भन्ने वास्ता नभएको समेत बताए । “विराटनगर पुगेर आन्दोलन पनि गरियो । विगतमा भोट हाल्ने एमालेले पनि सूर्यमा मतदान गर्नुपर्छ भनिरहेको छ । तर सबै छाडेर एकपटक पहिचान स्थापित गरिछाड्न हामी लागेका छौं,” उनले भने ।
उनीसँग संवाद हुँदा छेवैमा रहेका ७४ वर्षीय शुक्रराज लिम्बुले सुनिरहेका थिए । उनी नातामा मन्द लिम्बुको ठूलोबुबा रहेछन् । मुस्कानसहित संवाद सुनिरहेका उनले परिचय दिए, ‘म एमालेको भूमिगत कार्यकर्ता हुँ ।’
तुरून्तै प्रतिप्रश्न रह्यो, ‘मत कता जान्छ ?’
“म पनि यसै भन्न सक्दिनँ । यसपालि मत हाल्ने बेलामा सोच्ने अवस्थामा पुगेको छु ।”
इलाम– २ मा संविधानसभा अध्यक्ष समेत रहेका सुवास नेम्वाङको २०७९ भदौ २६ गते निधन भएपश्चात् उपनिर्वाचन हुन लागेको हो ।
जहाँ यही बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन आउन ५ दिन पनि बाँकी नरहँदा उमेदवारलाई मत माग्न भ्याइ नभ्याइ छ । इलाम वाम किल्लाका रुपमा स्थापित छ । दुवै क्षेत्रमा विशेषगरेर एमालेको पकड रहँदै आएको थियो ।
यो क्षेत्रबाट सुवास नेम्वाङले कहिल्यै चुनाव हार्नु परेन । झिनो मतान्तरले भए पनि कांग्रेस दोस्रो स्थानबाट माथि उठेन । यो उपनिर्वाचनमा सत्ता समीकरणको प्रभाव परेको छैन । तर, सम्बन्ध कतै छ भने दलको प्रतिष्ठासँग जोडिएको छ ।
संसदीय राजनीतिको पुरानो दल नेपाली कांग्रेसलाई वाम किल्ला भत्काउने महत्वाकांक्षा जागेको छ । किनभने गएको निर्वाचनमा एमालेले ११४ मतको झिनो अन्तरले मात्र कांग्रेसलाई हराएको थियो ।
एमालेलाई पनि वाम विरासत जोगाउने चिन्ता छ । एमालेले सुवास पुत्र सुहाङलाई उमेदवार बनाएपछि उनलाई बुबा सुवास र वाम मतको सुरक्षाको जिम्मा छ । सुशासनको ग्यारेन्टीसहित राजनीतिमा आएको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि मिसन–८४ को चुनौती छ ।
मिलन लिम्बुलाई उमेदवार बनाएर पहिचान र जातीय मत तान्ने योजना उक्त पार्टीको छ ।
पूर्वपत्रकार लिम्बुलाई विजयी गराउन सके ०८४ मा देशभर घण्टी बजाउने दाउमा पार्टी रहेको इलाम डुलिरहेका पार्टीका एक नेताले बाह्रखरीसँग भने ।
यसबाहेक मुख्य प्रतिस्पर्धामा स्वतन्त्र उमेदवार पनि देखापरेका छन् । त्यसमा पनि पहिचान पक्षधर उमेदवार थेगिम नै हुन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएसँगै कोसी प्रदेशमा लिम्बुवान आन्दोलन चर्किएको थियो । संघीय संरचनामा लिम्बुवान प्रदेश बनाउन अभियान चले ।
तर, समय अघि बढ्दै जाँदा आन्दोलन जुन रापमा अघि बढ्यो त्यही रापले सकियो पनि । नेताहरूले आन्तरिक कलह व्यवस्थापन गर्न नसक्दा अभियान चोइटिँदै गयो । त्यो आन्दोलनको राप–ताप कमजोर छ ।
लामो समय लिम्बुवान आन्दोलनमा बिताएकाहरूले सोमबार माङ्सेवुङको लारूम्वाकै एक होटलमा संवाद गर्दै थिए । आफ्नो परिचय नखुलाए पनि एक नेताले आफ्नो सम्पूर्ण जीवन लिम्बुवान र पहिचानको आन्दोलनमा बिताएको दाबी गर्दै थिए ।
“त्यो आन्दोलन तुहाइएको हो । यसपटक पहिचानसहित यो निर्वाचन जित्न सके हामी एक पटक पुनः जाग्नेछौं,” उनले भन्दै थिए ।
चुनाव जित्न सके ०८४ को निर्वाचनमा प्रदेश र प्रतिनिधिसभामा सम्मानजनक उपस्थिति आफूहरूको हुन सक्ने विश्लेषण उनले सुनाए ।
मतदाता मंगलसिंह लिम्बुलाई पनि यो निर्वाचन पहिचानको परीक्षा हो भन्ने लागेको छ । “यो निर्वाचन हामी पहिचान पक्षधरका लागि परीक्षा हो,” लिम्बुले आफ्नो कुरा सुनाए । माइ नगरपालिका ७ का ४९ वर्षीय रामबहादुर लिम्बु पनि यसपटक कता मत हाल्ने भन्ने दोधारमा रहेको सुनाए ।
विगतमा उनी र उनको परिवारको मत वामपन्थी दलमै जाने गरेको उनले बताए । घरमा ५ भोट र सिङ्गो परिवारमा ४०–४५ भोट रहेको बताउने लिम्बु कांग्रेसबाहेक पहिचान वा एमालेलाई मत जाने बताउँछन् ।
“एकै ठाउँमा जाने भोट यसपटक बाँडिने भयो । परिवार एकै ठाउँमा मत हाल्न मान्दैन,” उनले भने ।
यता, ७४ वर्षीय रामप्रसाद भारतीले भने मुढाले भोट काट्ने निश्चित भएपश्चात् कसले चुनाव जित्न सक्छ भन्ने आकलन गर्नै नसकिने परिस्थिति निर्माण भइरहेको उल्लेख गरे ।
प्रयोगमा थेगिम !
४१ वटा पहिचानवादी समूहहरूले थेगिमलाई सहयोग गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील धारका लेखक तथा विश्लेषकहरू उनको पक्षमा उभिएका छन् ।
थेगिमलाई किरात धर्मगुरूको पनि सहयोग रहेको दाबी स्थानीय बासिन्दाको छ । लामो समय वाम राजनीतिमा संलग्न थेगिम शिक्षण पेशासहित किरात धर्मगुरुको सेवक पनि हुन् ।
धर्म गुरुले सहयोग गरेको खण्डमा माइ नपा, माङ्सेवुङ्ग गाउँपालिका र चुलाचुली गाउँपालिकामा पूर्ण प्रभाव पर्ने विश्वास यहाँ छ ।
उनीहरूले पनि यो तीन क्षेत्रमा ‘होल्ड’ राख्न पाए चुनाव जित्नेमात्रै हैन लिम्बुवान आन्दोलनलाई ब्युँताउने आधार स्तम्भ खडा गर्न सकिने योजना बनाएको बुझ्न सकिन्छ । अझ धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ्ले समेत साथ दिएपछि पहिचानको राजनीतिलाई स्थायित्व दिन सकिने बुझाइ देखिन्छ ।
“०८४ को निर्वाचनले हाम्रो पहिचान पक्षको मत र संख्या थप गर्छ । अनि हामी मुद्दा अझ स्थापित गर्दै जान्छौं,” उनले भने, “०८४ को निर्वाचनमा हामीले ५० प्रतिशत वा त्यो भन्दा बढी क्षेत्रमा प्रतिनिधिसभामा हाम्रा सांसद पठाउन सक्ने आकलन गरेर अघि बढेका छौं ।”