site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कमरेड केपी ओलीलाई म विश्वास गर्न चाहन्छु : प्रचण्ड 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलेजस्तो हौसिएर आफूहरू कम्युनिस्ट एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा सोमबार नेकपा (एमाले)ले आयोजना गरेको कार्यक्रममा उनले अहिलको सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए । “हामी पहिलेको जस्तो हतारमा हौसिएर कम्युनिस्टको एकता भन्ने पक्षमा छैनौँ । त्यो बेला अलि बढी हौसिएछ कि ! समयभन्दा अगाडि नै दौडिएछ कि भन्ने पनि हेक्का राख्नुपर्ने ठान्छु,” उनले तत्कालीन एकताको स्मरण गर्दै भने, “सहकार्य सुरु गरेका छौँ । राम्रो सहकार्य गरौँ । यसबाट जनता र राष्ट्रलाई राम्रो सेवा दिऔँ । त्यसो हुँदै गयो भने राजनीतिक दलहरूको बीचमा, कम्युनिस्टहरूको बीचमा स्वतः नै एउटा आधारभूमि तयार हुन्छ ।”

Argakhachi Cement Island Ad

प्रचण्डले कम्युनिस्ट एक भएर अघि बढ्दा ठूला काम भएको स्मरण गरे । अहिले संविधान कार्यान्वयन, समाजवादको आधार तयार पार्ने विषयमा इमानदार भएर लाग्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले विश्वास गर्न चाहेको सुनाए । “कमरेड केपी ओलीलाई म विश्वास गर्न चाहन्छु । हामी हिजो विश्वास र अविश्वासको निकै ठूलो चक्रबाट गुज्रेका छौँ । म विश्वास गर्न चाहन्छु । र, नयाँ प्रक्रियातिर अघि बढौँ भन्ने अपिल गर्न चाहन्छु,” प्रचण्डले भने ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्