site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सिनेमाले म्यासेज दिनैपर्छ कि ‘लिबरल’ हुनुपर्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चैत ३० गते चलचित्र ‘डिग्री माइला’ रिलिज हुँदा त्यही दिन ‘रेड सुटकेस’ पनि प्रदर्शनमा आयो । राम्रो हाइप बनाएर ‘डिग्री माइला’ रिलिज हुँदा ‘रेड सुटकेस’को चहलपहल कमै मात्र थियो । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘रेड सुटकेस’लाई पछि सार्न भनेपछि यो चेनमा रिलिज नै भएन । बाँकी थिएटरमा यो सिनेमाले नगन्य शो पायो । देशभर करिब ५० शोमा ‘रेड सुटकेस’ सीमित भयो ।

आर्ट हाउस सिनेमाका पारखीले तारिफ गरेको ‘रेड सुटकेस’ले समीक्षा पनि राम्रो पायो । उच्च शो पाएको ‘डिग्री माइला’ले राम्रो कलेक्सन गरिरहेका बेला समीक्षा भने खासै राम्रो पाएन । अहिले पनि यी दुवै सिनेमा प्रदर्शनमै छन् ।

क्यूएफएक्सले ‘रेड सुटकेस’लाई शो नदिएको भन्दै केहीले सामाजिक सञ्जालमा आलोचना समेत गरे । यो नौलो भने होइन । आर्ट हाउस मुभीले ठूलो संख्यामा शो पाउँदैनन् । हलले शो नदिनुको कारण पनि छ, यस्ता मुभी त्यति धेरै चल्दैनन्, जति कमर्सियल सिनेमा चल्छन् । बिजनेस कम हुने भएपछि यस्ता चलचित्रले शो खासै पाउँदैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“आर्ट हाउस मुभी चलेनन् भनेर आत्तिनु हुँदैन । यसको अर्थ नराम्रो भएर नचलेका होइनन् । भोलि ‘गाउँ आएको बाटो’ पनि अपेक्षा गरेअनुसार सक्सेस नहोला, तर चलेन भन्दैमा नराम्रो नै हुन्छ भन्ने हुँदैन,” निर्देशक मीन भाम भन्छन्, “यसको अर्थ चल्दै चल्दैनन् भन्ने पनि होइन । ‘ग्याङ्स अफ वासेपुर’, ‘टुवेल्थ फेल’, ‘लञ्चबक्स’ले कथित कमर्सियलभन्दा धेरै व्यापार गरे । यो त सुनमा सुगन्ध नै भयो ।”

यही वैशाख १४ गते चलचित्र ‘बोक्सीको घर’ रिलिज हुँदै छ । यो सिनेमाले हलमा कति स्पेस पाउला ? “हामीले सिनेमा राम्रो बनाएका रहेछौँ भने पक्कै पनि हलले पनि त्यहीअनुसारको स्पेस देलान्,” बोक्सीको घरका लेखक तथा निर्देशक सुलक्षण भारती भन्छन्, “सिनेमा राम्रो बनेको रहेनछ भने दर्शकको साथ पाउने कुरा भएन । यस्तो अवस्थामा धेरै वा थोरै शो भन्ने कुरै भएन ।”

Global Ime bank

चलचित्रले मनोरञ्जन दिन्छ भनेर नै हेर्ने गरिएको भन्दै सुलक्षण नेपाली बजार सानो रहेको र यही कारण सीमित साधनस्रोतबीच काम गर्नुपर्ने भएकाले दर्शकसँग साथ माग्ने गरिएको बताउँछन् । “जति अरू सिनेमा इन्डस्ट्रीको बजार छ, त्यति हाम्रो सिनेमाको बजार ठूलो छैन । त्यसैले मेकरले नेपाली सिनेमालाई हेरेर साथ दिनुहोस् भनेर आग्रह गर्ने गरिएको हो भन्ने लाग्छ,” सुलक्षण भन्छन्, “तर, यसो भनेर मात्रै हुँदैन । सिनेमा मूलतः इन्टरटेन्मेन्टका लागि हेर्ने हो । त्यसैले सुरुमा त राम्रो नै हुनुपर्छ । अडियन्स आएर पनि शो नपाउँदा असन्तुष्टि हुनु स्वाभाविक हो । तर, हलको पनि बिजनेस भएकाले दर्शक आइरहेको सिनेमामा शो नपाउने भन्ने हुँदैन भन्ने मेरो बुझाइ छ ।”

सिनेमाको हिरो भनेकै कन्टेन हुने र यसमा आफू र आफ्नो टिम सचेत रहेको सुलक्षण बताउँछन् । “हाम्रो सिनेमामा पावरफुल कन्टेन छ र यही नै हाम्रो सिनेमाको मेरुदण्ड हो भन्ने लाग्छ,” उनी भन्छन्, “हुन त यो भोलि सिनेमा हेरेर दर्शक, समीक्षक र पत्रकारले भन्ने कुरा हो । हामीले हाम्रो नेपाली कथा भनेका छौँ । आफ्नै कथाभित्र हाम्रो माटो बोल्छ । त्यसैले पक्कै पनि धेरैले मन पराउनुहुन्छ भन्ने लागेको छ ।” कन्टेन बलियो भएका सिनेमा पनि नेपालमा चल्ने गरेको भन्दै उनी ‘झोला’ स्मरण गर्छन् ।

नेपालमा आर्ट हाउस र कमर्सियल सिनेमाको सन्दर्भलाई लिएर एउटा बुझाइ छ– कमर्सियल चलचित्रले मनोरञ्जन मात्र दिन्छन्, आर्ट हाउस मुभी म्यासेज ओरियन्टेड हुन्छन् । यो बुझाइ नै सही छ वा गलत त्यसमा बहस नगरी सिनेमाले म्यासेज दिनैपर्छ ? भन्ने प्रश्नमा निर्देशक मीन भाम भन्छन्, “सो कल्ड आर्ट हाउस मुभीमा धेरै म्यासेज हुन्छ । तर, यसमा अन द टोन हुन्छ । सिनेमा पढाएर दियो कि सोचमग्न बनाएर दियो भन्ने मात्र फरक हो ।”

कसरी म्यासेज दिइयो भन्ने मात्र फरक रहेको उनको भनाइ छ । कसैले लेक्चरका रूपमा र केहीले दिमाग झकझक्याउने काम सिनेमामा गर्ने गरेको उनी बताउँछन् । “कतै म्यासेज डिरेक्टर भ्वाइसको रूपमा, दिमाग हल्लाउने गरी नयाँ कथ्यशैलीमार्फत आउँछ,” मीन अगाडि थप्छन्, “कतै भएका कुरा संवादमार्फत नै आउँछ । यो लेखक र निर्देशकमा भर पर्छ ।”

चलचित्रको म्यासेजलाई लिएर गलत बुझाइ रहेको उनी बताउँछन् । सिनेमाले सिकाउने होइन, दर्शकको दिमाग टिनिन्न पार्न सक्नुपर्ने भन्दै उनी अगाडि भन्छन्, “ओहो, हो त है ! मैले त यसरी सोचेकै थिइनँ त भनेर सोच्न बाध्य बनाउन सक्नुपर्छ । दार्शनिक रूपमा सोच्न बाध्य बनाउनुपर्छ । त्यो सिनेमाको भाषा हो । दिमागमा झड्का हान्नुपर्छ ।” 

हरेक सिनेमाले म्यासेज दिने तर त्यो कुन तहको हुने र कसरी दिने भन्नेमा मात्र भेद हुने गरेको उनी स्पष्ट पार्छन् ।

संसारभर नै आर्टिस्टिक सिनेमाले व्यापार नगर्ने मीन बताउँछन् । नेपाल मात्र होइन, युरोप र हलिउडमा पनि आर्टिस्टिक सिनेमाले उच्च व्यापार गर्दैनन् भन्ने बुझ्नुपर्नेमा उनी जोड दिन्छन् । “यस्ता सिनेमाले व्यापार नगर्ने भएकाले नै हलिउडका ठूलठूला सिनेमा स्टुडियोले नै आर्ट हाउस मुभीमा खासै लगानी गर्दैनन्,” मीन भन्छन्, “इन्डिपेन्डेन्ट सिनेमा चल्दैनन्, यसमा अचम्म मान्नै पर्दैनन् । यसको विशेषता नै त्यही हो ।”

आर्ट हाउस मुभीको मास अडियन्स नहुने र लगानी पनि कम हुने उनी स्पष्ट पार्छन् । यस्ता सिनेमा हलमा धेरै नचल्ने तर कालान्तरसम्म खोजी हुने उनको भनाइ छ । त्यसैले मेकर आत्तिन नहुने र बिजनेस नहुँदैमा सिनेमा फ्लप भयो भनेर समीक्षक र पत्रकारले पनि भन्न नहुनेमा उनको जोड छ । “आर्ट हाउस सिनेमाको लिमिटेसन हुन्छ । मास हुँदैन । मेकिङ, विषय, पात्र चयनका हिसाबले लिमिटेसन हुन्छ,” मीन भन्छन् ।

अभिनेत्री स्वस्तिमा खड्का आर्ट सबैभन्दा पहिला ‘लिबरल’ हुनुपर्ने धारणा राख्छिन् । कला यस्तै हुनुपर्छ भन्ने नरहेको उनको बुझाइ छ । “मेकर वा कलाकारले आफ्नो भिजन जे छ, त्यही नै पोट्रे गर्ने हो,” स्वस्तिमा भन्छिन्, “कला भन्नेबित्तिकै समाजको रिफ्लेक्सन हो । समाजको प्रतिविम्ब हो । सिनेमा मात्रै होइन, पेन्टिङ, संगीत वा आर्टका अन्य विधामा पनि त्यही नै हो ।”

समाजको विषय आफ्नो आर्टमा देखाइरहँदा जिम्मेवार मेकर वा कलाकारले म्यासेज दिन्छ भने त्यो ‘चेरी अन द टप’ भनेजस्तै हुने उनको धारणा छ । सिनेमामार्फत सन्देश दिनैपर्छ भनेर दिमागमा सर्त नै राखेर भने काम गर्न नहुनेमा उनको जोड छ ।

“कुनै पनि स्टोरी भन्दा त्यसमा केही न केही म्यासेज आउँछ नै । कुनै सिनेमाले यही नै म्यासेज दिने भनेर बनाउनुहुन्छ । कुनै सिनेमामा एउटा स्टोरी मात्रै हुन्छ । त्यो स्टोरी भन्दा म्यासेज आउँछ,” स्वस्तिमा भन्छिन्, “यसमा अप्रत्यक्ष रूपमा म्यासेज दिइरहेको हुन्छ । फरक यत्ति हो, कसैले बुझ्नुहुन्छ, कसैले बुझ्नु हुन्न होला । कसले के बुझ्नुहोला, कसले के बुझ्नुहोला, फरक यति मात्र हो ।”

तर, सन्देश दिन नै सिनेमा बनाउँछु भनेर लागिरहन नहुने स्वस्तिमाको धारणा छ । सबै मेकरले हरेक सिनेमामा म्यासेज नै दिनुपर्छ भनेर भन्न नहुनेमा उनी जोड दिन्छिन् ।

“कुनै सिनेमा इन्टरटेनमेन्टका लागि मात्रै हुन्छन् । कुनै सिनेमा निर्देशकले मासमा नगए पनि मेरो यो भिजनका लागि बनाउँछु, जसरी लिए पनि हुन्छु भनेर बनाइरहेका हुन्छन्,” उनी भन्छिन्, “सिनेमा आफैँमा राम्रो हुनुपर्छ । त्यसले प्रत्यक्ष/परोक्ष रूपमा म्यासेज दिन्छ नै ।”

कुनै सिनेमा हेरेर दर्शकको दिमाग ‘ट्रिगर’ गर्छ भने त्यो झन् राम्रो हुने उनी बताउँछिन् । “थ्री इडियट्स सुरुदेखि अन्तिमसम्म हेर्दा इन्टरटेनमेन्ट नै छ,” उनी भन्छिन्, “तर, दश दिनपछिसम्म पनि त्यसको म्यासेजले ट्रिगर गरिरहन्छ । यो त झन् राम्रो भयो, सिनेमाको सबल पक्ष हो । अहिले पनि हामी कहिलेकाहीँ लो फिल भयो भने यो सिनेमा हेरेर ट्रिगर हुन्छौँ । तर, सबैले म्यासेज दिनैपर्छ भन्ने होइन होला । लिबरल भएर हेर्नुपर्छ भन्ने लाग्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement