site stats
बाह्रखरी :: Baahrakhari
विचार
राजतन्त्र पुनर्स्थापनाको भ्रम र यथार्थ

परिवर्तनशील दुनियाँमा सबै कुराको परिवर्तन सम्भव हुन्छ । नेपालमा राजतन्त्र पुनस्र्थापना हुनै सक्दैन भन्ने होइन, हुन सक्छ । तर राजतन्त्र फर्कन सक्ने परिवेश बनेकै छैन । धेरै देशमा राजतन्त्र पतन हुँदा केही देशमा पुनस्र्थापना भएका उदाहरण छ्न । नभएका होइनन् । पुनःस्थापना हुने÷नहुने त्यो देशको परिवेशले निर्धारण गर्छ ।

नेपालमा यथास्थितिमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना छैन । इतिहासको कालखण्डमा धेरै देशहरूमा राजतन्त्रात्मक शासन ब्यवस्था थियो । घटेर १५ प्रतिशतको हाराहारीमा मात्र राजतन्त्रात्मक ब्यवस्था छ । एक पछि अर्को गर्दै राजतन्त्र ढले ।

राजतन्त्रको अवस्था डाइनोसर झैँ भयो । किन भयो ? यसको उत्तर सजिलो छ । राजतन्त्रले जनभावना बुझेन । परिस्कृत हुन सकेन । जनभावना नबुझ्नेहरू इतिहास भए । राजतन्त्र भएकामध्ये पनि सक्रिय राजतन्त्र थोरै छन् ।

बाँकी देशमा सम्मानका लागि मात्र राजतन्त्र छ । नेपालले सक्रिय राजतन्त्र र संवैधानिक राजतन्त्र दुवैको अभ्यास गर्यो । अन्ततः मुलुक २०६५ मा गणतन्त्रात्मक राज्य बन्यो । क्यारेबियन राष्ट्र बार्बाडोस राजतन्त्र बिदा गर्ने पछिल्लो देश हो ।

नेपालले दुनियाँलाई चकित पार्दै रक्तपातविहीन क्रान्तिबाट राजतन्त्रलाई बिदा गर्यो । जुन  विश्वका लागि  एउटा अनुपम उदाहरण थियो ।

Global Ime bank

राजा ज्ञानेन्द्रले सत्ता गुमाए । राजतन्त्र ढल्यो । राजतन्त्र फर्काउनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गरिरहेको छ । राजतन्त्र पुनर्स्थापना उसको मूल मुद्दा हो । यो मुद्दा बोकेर उसले संसदमा १४ सिट जितेको छ ।

पूर्व राजा ज्ञानेन्द्र पनि अब समय भएको छ भन्ने दुई अर्थी भाषा प्रयोग गरिरहेका छन् । राजतन्त्र फर्काउन प्रयास गरिरहेका छन् । बुढापाकाहरू, पुरातन सोच भएकाहरू र विगतमा राजतन्त्र हुँदा फाइदा लिएकाहरू पनि राजतन्त्र छिट्टै फर्कने भविष्यवाणी गर्छन् । राजतन्त्र पुनर्स्थापना भएका देशको उदाहरण दिएर नेपालमा पनि फर्किने सम्भावना छ भन्छन् ।

एशियाका १३ देश (थाइल्यान्ड, जापान, मलेसिया, कम्बोडिया, भुटान, युएई, साउदी अरब, कतार, ओमान, कुबेत, जोर्डन, ब्रुनाई, बहराइन) मा राजतन्त्र छ । 

बेलायत, स्पेन, मोनाको, नेदरल्यान्ड, नर्वे, लक्जेम्वर्ग, भ्याटिकन सिटी, लेसेथो, डेनमार्क, बेल्जियम, सेन्ट लुसिया, क्यानडा, अष्ट्रेलिया, सोलोमन आइस्ल्यान्ड, टोगो, स्वाजिल्यान्ड, एन्डोरा आदि देशमा राजतन्त्र छ । 

बेलायत, स्पेन र कम्बोडिया एक पटक राजतन्त्र पतन भएर पुनर्स्थापना भएका देशहरू हुन् । ती देशमा राजतन्त्रलाई अत्यन्त सम्मान गरिन्छ । देशको राष्ट्रिय प्रतिकका रूपमा राजतन्त्रलाई लिइन्छ । तर नेपालमा त्यो अवस्था छैन ।

राजतन्त्र खराब हुन्छ वा राजतन्त्र असल हुन्छ भन्ने कुरा देशको अवस्था र उनीहरूले निर्वाह गरेको भूमिकाले निर्धारण गर्छ । नेपाल एकीकरणमा शाह राजाहरूको भूमिका थियो । त्यो सत्य हो । केही मानिसहरू उनका सन्तान फेरि राजा बनून् भन्ने सदिच्छा राख्छन् ।

अर्कोतिर राजतन्त्रलाई सामन्तीको प्रतिक मान्नेहरू छन् । राजा वा राजतन्त्र चाहिँदैन भन्छन् । साँच्चिकै राजतन्त्र पुनर्स्थापना सम्भव छ त ? गतिशील दुनियाँमा सबै कुराको सम्भावना हुन्छ । तर नेपालको वस्तुस्थिति, राजा ज्ञानेन्द्रको पृष्ठभूमि, राजनीतिक पार्टीहरूको धारणा, बहुसंख्यक जनताको चाहना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, प्रजातन्त्रको लहर आदिलाई मूल्यांकन गर्दा नेपालमा राजा वा राजतन्त्रको पुनस्थापना सम्भावना क्षण छ ।

वर्तमान शासन ब्यवस्था भद्दा मानिसको गुनासो छ । भ्रष्टाचार बढेको छ । जनताको जीवनस्तर सुधार भएको छैन । धनी र गरिबबीचको खाडल बढेको छ । अराजकता बढेको छ । राष्ट्रियता कमजोर भएको छ । भीमकाय र खर्चिलो संघीय ब्यवस्था मानिसलाई मन परेको छैन । बरु पहिलेकै ब्यवस्था ठीक थियो भन्ने मानिसहरू बढेका पक्कै हुन् ।

तर उनीहरूले राजा खोजेका होइनन, सुशासन खोजेका हुन् । राजा ल्याएर प्रजातन्त्र उन्नत हुँदैन । प्रजातन्त्रको विकल्प राजतन्त्र होइन । उन्नत प्रजातन्त्र हो । राजा र राजतन्त्रप्रतिको आकर्षण भन्दा पार्टीहरू प्रतीको निराशा बढी हो ।

राजा हुँदा नै नेपाल गरिब भएको हो । राजाको शासनमा स्वर्ग थियो । यतिखेर बिग्रेको होइन । त्यसबेला पनि राम्रो थिएन, यतिखेर पनि राम्रो छैन । अवसर पाउँदा नगर्नेहरूले अब चाहिँ गर्छन् भनी कसरी पत्याउने ? पत्याउन सकिँदैन । पृथ्वीनारायणदेखि ज्ञानेन्द्र शाहसम्म ताला साँचो सबै राजासँगै थियो । 

त्यसबेला केही नगर्ने राजा र राजतन्त्रबाट फेरि अपेक्षा गर्नु अर्को मूर्खता हो । २१ औ शताब्दी उन्नत प्रजातान्त्रिक युग हो; राजतन्त्रको होइन । राजा फर्काउने कुरा सभ्यता विकासलाई पछाडि धकेल्ने कुरा हो ।

नागरिक चेतना र विकास प्रक्रिया ढिलो हुन सक्छ । सुस्त हुनसक्छ । तर अगाडि बढेको ‘सिभिलाइजेसन’ प्रक्रिया  पछाडि फर्किन सक्दैन । फर्किएको कमै उदाहरण छ्न । राणाशासन पतन भएको लामो समयपछि पनि मानिसहरू राणाहरू शासनमा फर्कन्छ भन्ने हल्ला गर्थे ।

पञ्चायती व्यवस्था हटेको एक दशकसम्म पनि पञ्चायत फर्कन्छ भन्थे । राजतन्त्र फर्किन्छ भन्नु त्यस्तै आत्मरति मात्र हो । यो अवस्था नबदिलएसम्म फर्किदैन । केही यस्ता परिवेश छन् जसले राजतन्त्र फर्काउन अवरोध सिर्जना गर्छन् ।

अवरोध १,

७५ वर्ष पार गरेका ज्ञानेन्द्र फेरि राजा हुन्छन् वा सत्तामा फर्कन्छन् भन्ने कुरा भ्रम हो । उनले केही गर्दैनन । अब उनी वृद्ध भए । केही वर्षमा यो अध्याय समाप्त हुन्छ । राजा वीरेन्द्रको वंश हत्यामा उनको संलग्नता छ भन्नेहरूको जमात कम छैन । भलै, यो अनुसन्धानको विषय हो । पूर्व राजा ज्ञानेन्द्रको पुनर्स्थापनामा जनमत सकारात्मक छैन । यो सबैभन्दा ठूलो अवरोध हो ।

अवरोध २, 

कल्पना गरौ; राजतन्त्र पुनःस्थापन भयो । त्यसपछिको उत्तराधिकारी को ? ज्ञानेन्द्रका एक मात्र छोरा पारसलाई मानिसहरू त्यति मन पराउँदैनन् । राजा हुन लायक छैन भन्छन् । ब्यक्तिगत रूपमा, नैतिक रूपमा, चरित्रगत रूपमा लायक भएको भए एउटा सम्भावना जिवित हुन्थ्यो । त्यो सम्भावना पनि देखिँदैन । 

अवरोध ३,

ज्ञानेन्द्रको नाति हीरेन्द्रबारे मानिसलाई थाहै छैन । उनी कस्ता ब्यक्ति हुन् ? आममानिसले चिन्दैनन् । त्यस्तो पात्र राजा वा राजसंस्थाको उत्तराधिकारी हुन्छन् भन्ने कुरा कल्पना मात्र हो । कल्पना गर्न पाइन्छ । तेस्रो सम्भावना झन् कमजोर छ ।

अवरोध ४,

ठूलो जनमत पुराना पार्टीसँगै छ । पुराना पार्टीहरूको धारणा राजा र राजतन्त्रप्रति सकारात्मक छैन । बाँकी जनमत पनि राजतन्त्रप्रति आशावादी छैन । विश्व परिवेश राजतन्त्रको पक्षमा छैन । राजतन्त्रको पूर्व गतिविधि आममानिसलाई थाहा छ । एकदेखि चारसम्मका अवरोधले राजा फर्कन सक्ने देखिँदैन ।

त्यसैले राजा वा राजतन्त्र फर्कन्छ भन्नु भ्रम  हो । राजतन्त्र फर्किने जनबलमा हो । जनबल पुरानो राजतन्त्रको पक्षमा छैन, बरु विपक्षमा छ । शाह वंशीय राजतन्त्र फर्कदैन । मानिसहरूको निराशा उपचार गरेन भने पुराना पार्टीहरूको विकल्प खोज्न सक्छन् । त्यो निश्चित हो । एकखालको नयाँ राजनीतिक शक्ति उदाउन सक्ने सम्भावना जिवित छ  । तर त्यो राजतन्त्र हुन सक्दैन । ‘वाद’ विनाको शक्ति वा पार्टीको उदय हुन सक्ने सम्भावना हुन सक्छ ! प्रजातन्त्रभित्रैबाट उन्नतः रूप विकास हुन सक्छ ।

नयाँ पुस्ता पुरानो पुस्ता जस्तो होइन । पत्रिकाको शीर्षक पढ्ने र इन्टरनेटमा लिप्त हुने पुस्ता हो । सामाजिक सन्जालमा पोखिएका भावनाले राजाप्रति आकर्षण बढेको देखिँदैन । ब्यवस्था भन्दा अवस्था परिवर्तन खोजेका छन् ।

नयाँ पिँढी खुलापन र स्वतन्त्रता चाहन्छ्न । पुरानो प्रणाली होइन । गन्जागोल र गन्तव्यविहीन राजनीतिबाट मुक्ति चाहन्छन् । मुक्तिका लागि अवसर नदेखेर विदेश पलायन भएका छन् । कुनै दिन अवस्था विस्फोट हुनेछ, जसले नयाँ क्रान्ति ल्याउँछ, तर त्यो राजा वा राजतन्त्र हुने छैन । उन्नत प्रजातन्त्र हुनेछ ।

लेखक बिदुर प्रसाद दाहाल  त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन्  ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu