काठमाडौं । नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको दमन्ता नारी स्रष्टा सम्मानको घोषणा गरेको छ । समाजका अनुसार वि.सं. २०८१ सालको लागि उक्त सम्मान ८६ वर्षीया लता गिरीलाई प्रदान गर्ने निर्णय भएको समाजले जनाएको छ ।
ओझेलमा परेका, संघर्षशील नारीलाई दिइने उक्त सम्मानका साथ नगद राशि १५ हजार प्रदान गरिँदै आइएको छ ।
११ वर्षको उमेरमा विवाह भएर ३५ वर्षदेखि एकल रूपमा रहेकी गिरीले महिला जागरणका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार र साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी छन् । उनका तीन भजनसंग्रह तथा चेतनामूलक गीतहरू रेकर्ड भइसकेका छन् ।
साहित्यकार पुष्पा खनालले आफ्नी आमाको नाममा स्थापना गरेको यस सम्मानबाट सृजना शर्मा, डिक्रा बादी, इन्द्र गहतराज, प्रतिमा पोखरेल, निर्मला मुरारी तथा यमुना अधिकारी पराजुली सम्मानित भइसकेका छन् ।